अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मेक्सिको र युरोपेली संघका सामानमा ३० प्रतिशत कर घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मेक्सिको र युरोपेली संघका सामानमा ३० प्रतिशत कर घोषणा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली संघबाट अमेरिका आयात हुने सामानमा ३० प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

उनले यो कर आगामी अगस्ट १ देखि लागू हुने 'ट्रुथ सोशल' प्लेटफर्ममार्फत जानकारी दिएका हुन्। ट्रम्पले यदि यी देशहरूले बदला स्वरूप कर बढाएमा अमेरिकाले लगाउने शुल्कको दर अझ बढाउने चेतावनी पनि दिएका छन्।

उनले स्पष्ट रूपमा लेखेका छन्, ‘यदि तपाईंले बदला लिनुभयो र शुल्क बढाउनुभयो भने, प्रतिशत जतिसुकै भए पनि, म त्यसलाई हाम्रो ३० प्रतिशतमा थप्नेछु।’

यो घोषणा अमेरिका, युरोपेली संघ र मेक्सिकोबीच विगत ६ महिनादेखि चलिरहेको कर सम्बन्धी वार्ता कुनै सहमतिमा नपुगेपछि आएको हो।

युरोपेली संघ विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो जसमा युरोपका २७ देश सामेल छन्। अमेरिका र युरोपेली संघबीच दैनिक करिब ३.५ अर्ब डलरको व्यापार हुन्छ। मेक्सिको अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो।

ट्रम्पले युरोपेली संघसँगको व्यापार घाटा धेरै ठूलो रहेको र त्यसलाई सच्याउन ३० प्रतिशतको यो भन्सार आवश्यक कदम भएको तर्क गरेका छन्।

उनले कुनै युरोपेली कम्पनीले आफ्ना उत्पादन अन्य देश हुँदै अमेरिका पठाएमा पनि सोही कर लाग्ने स्पष्ट पारेका छन्।

असार २९, २०८२ आइतबार ०७:५६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।