
आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती

काठमाडौं : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदैछ।
उनले संस्कृतमा लेखिएको रामको जीवनीलाई नेपालीमा भावानुवाद गरी ‘रामायण’ प्रस्तुत गरेका थिए। यो कृति अहिले पनि नेपालीका घर-घरमा सस्वर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरेको नेपाललाई भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरणको योगदान दिए।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त घाँसीको प्रेरणाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको मानिन्छ। उनका अन्य कृतिहरूमा ‘वधुशिक्षा’ प्रसिद्ध छ भने ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ लगायतका कृति पनि छन्।
कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका बेला उनले सरकारी काममा हुने ढिलासुस्तीको विरोधमा ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ भन्ने प्रसिद्ध कविता लेखेका थिए।
नेपाली एकता, पहिचान र संस्कृति बलियो बनाउन भानुभक्तको ऐतिहासिक योगदान छ। समालोचकहरू उनले सम्मान गर्दै विचारमाथि छलफल र समीक्षा गर्नु आजको आवश्यकता ठान्छन्। त्रिभुवन विश्वविद्यालयमा उनीबारे थुप्रै शोध भएका छन्।
जन्मजयन्तीका अवसरमा आज काठमाडौंको रानीपोखरी अगाडि रहेको उनको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गरिँदैछ। घर-घरमा रामायण पाठ गरेर तथा विभिन्न संस्थाले विविध कार्यक्रम गरी भानु जयन्ती मनाइँदैछ।
भानुभक्तभन्दा अघि पनि कवि रहेकाले उनलाई ‘आदिकवि’ भन्न नमिल्ने तर्क पनि उठ्ने गरेको छ। तर, रामायणमार्फत भाषिक एकतामा उनको योगदान तथा यसले भाषिक क्षेत्रमा ल्याएको युगान्तकारी परिवर्तनका कारण उनलाई आदिकवि भनिनु न्यायोचित मानिन्छ।
उनको निधन विसं १९२५ असोजमा भयो। भानु जयन्ती भारत, भुटान, बर्मा लगायत नेपाली भाषी रहेका अन्य स्थानमा पनि मनाइन्छ।
असार २९, २०८२ आइतबार ०७:२५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।