धर्म परिवर्तन गराउन यूपीका छांगुर बाबाले नेपालबाट तीन अर्ब भारत लगिएको दाबी

धर्म परिवर्तन गराउन यूपीका छांगुर बाबाले नेपालबाट तीन अर्ब भारत लगिएको दाबी

एजेन्सी :  धर्मगुरु जलालुद्दीन उर्फ छांगुर बाबाले मुस्लिम देशहरूबाट तीन वर्षमा लगभग पाँच अर्ब रुपैयाँ आर्थिक सहायता प्राप्त गरेको र त्यसमध्ये तीन अर्ब रकम नेपाल भित्र्याएर भारत लगेको दाबी सार्वजनिक भएको छ।

भारतको आतङ्कवाद निरोधक दल (एटिएस) को हवाला दिँदै विभिन्न भारतीय मिडियामा प्रकाशित समाचार अनुसार यसमध्ये दुई अर्ब रुपैयाँ आधिकारिक रूपमा पुष्टि भएको छ। तीन अर्ब रुपैयाँ नेपालको विभिन्न बैंकमा रहेको खातामा भित्र्याएर हुन्डी मार्फत भारत लगेको इन्डिया टुडेमा प्रकाशित समाचारमा दाबी गरिएको छ।

विभिन्न मुस्लिम देशहरूबाट सहयोग रकम नेपाल भित्र्याउन काठमाडौं, नवलपरासी, रुपन्देही र बाँकेमा रहेका विभिन्न बैंकमा एक सय बढी खाता खोलेको र नेपालबाट हुन्डी गरेर भारत भित्र्याएको समाचारमा दाबी गरिएको छ।

यो रकम भारतमा धर्म परिवर्तनका लागि प्रयोग हुने दाबी गरिएको छ।
रकमको स्रोत सञ्चालन:
नेपालमा रहेका खाताहरूमा पाकिस्तान, दुबई, साउदी अरेबिया र टर्कीलगायत मुस्लिम बाहुल्य राष्ट्रहरूबाट रकम आएको दाबी गरिएको छ।

'नेपालका एजेन्टहरूले ४-५% कमिसन लिएर यो पैसा छांगुरलाई हस्तान्तरण गर्न सहयोग गरेका थिए' इन्डिया टुडेले लेखेको छ'धेरै अवस्थामा क्यास डिपोजिट मेसिनहरू प्रयोग गरेर पैसा जम्मा गरिएको थियो।'

यो रकम भारतको बलरामपुर, श्रावस्ती, बहराइच र लखीमपुरजस्ता भारतीय जिल्लाहरूमा ल्याइएको र स्थानीय मुद्रा साटासाट गर्ने व्यक्तिहरूले नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा रूपान्तरण गरेको दाबी गरिएको छ।

सो रकम मधुबनी, सीतामढी, पूर्णिया, किशनगञ्ज, चम्पारण र सुपौलजस्ता बिहारका जिल्लाका एजेन्टहरू नेपालबाट रकम तस्करीमा संलग्न रहेको र अयोध्या जिल्लामा सबैभन्दा बढी रकम गएको दाबी गरिएको छ।

यो रकम प्रयोग गरेर हिन्दु केटीहरूलाई अन्य धर्ममा परिवर्तन गरिएको आरोप लगाइएको छ।

भारतीय सुरक्षा अधिकारीहरूले छांगुर र उनका सहयोगीहरूसँग सम्बन्धित ४० वटा बैंक खाताहरू जाँच गर्न थालेका छन्।

आतङ्कवाद निरोधक दलले १० वर्षको आयकर रेकर्ड पनि माग गरेको छ। नवीन रोहराका नाममा ६ खातामा ३४.२२ करोड रुपैयाँ र नसरीन नामकी एक महिलाको खातामा १३.९० करोड रुपैयाँ फेला पारेका छन्।

विदेशी खाता र सम्पत्ति
उनीहरूले अझै पनि शारजाह, दुबई वा युएईमा छांगुरका सन्दिग्ध विदेशी बैंक खाताहरू खोजिरहेका छन्।

बलरामपुरमा छांगुरले बनाएको ५ करोड रुपैयाँको हवेली पूर्ण रूपमा भत्काइएको छ। यो सरकारी जमिनमा अवैध रूपमा निर्माण गरिएको थियो।

संगमरमरको सुरक्षा गेट भएको ४० कोठाको यो बंगला १० वटा बुलडोजर प्रयोग गरेर तीन दिनमा भत्काइएको थियो।

असार २८, २०८२ शनिबार २२:५५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।