स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली : टीकापुर नगरप्रमुख रामलाल डगौंराको कार्यकक्षमा पाइला टेक्नेबित्तिकै देखिन्छन् चिटिक्क मिलाइएका वेतबाँसका सोफा, आकर्षक टेबलहरू र टेबलमाथि सजिएका माटोका करुवा। कार्यालयको सजावट मात्र होइन, यी सामग्रीहरू टीकापुर नगरपालिकाको स्थानीय उत्पादन र संस्कृतिप्रतिको सम्मानको प्रत्यक्ष उदाहरण हुन्।
“यी सबै हाम्रो क्षेत्रमै उत्पादन भएका सामग्री हुन्,” नगरप्रमुख डगौंरा भन्छन्, “हाम्रा सीप र उत्पादनलाई संरक्षण र प्रवर्द्धन गर्ने जिम्मा हाम्रो पनि हो।”
वेतबाँसबाट बनेका सामग्री वातावरणमैत्री र स्थानीयस्तरमा नै उपलब्ध हुने भएकाले प्रयोगमा ल्याउन नगरपालिकाले प्राथमिकता दिएको नगरप्रमुख डगौंराले बताए।
नगरपालिकाले केवल वेतबाँसका फर्निचर मात्र होइन, थारू समुदायको सांस्कृतिक पहिचान बोकेका ढकिया र माटोका करुवालाई पनि कार्यकक्षमा स्थान दिएको छ। “हाम्रो परम्परा, कला र सीपलाई बचाइराख्न यस्ता साना तर प्रभावकारी प्रयासहरू जरुरी छन्,” उनले थपे।
माटोका करुवाहरू पूजापाठ र पिउने पानीका लागि प्रयोग हुने थारू समुदायको परम्परागत वस्तु हुन्। कार्यकक्षमा सजिएका यी करुवाहरूले स्थानीय संस्कृति र परम्परालाई सम्मान गर्ने सन्देश फैलाइरहेका छन्।
नगरप्रमुख डगौंराको भनाइमा नगरपालिका स्थानीय उत्पादन, उद्यम र सीप विकासमा संलग्न छ। “स्थानीय उत्पादनको प्रयोगले रोजगारी पनि सृजना गर्छ, सीपको सम्मान पनि हुन्छ,” उनले बताए।
वेतबाँस फर्निचर बनाउने स्थानीय उद्योग ‘तिलगङ्गा वेतबाँस फर्निचर’ का सञ्चालक भरतलाल विक भन्छन्, “नगरपालिकाको सक्रियताले हामीजस्ता साना उद्यमीलाई ठूलो हौसला मिलेको छ।”
उनले काठमाडौँ, पोखरा लगायतका सहरहरूमा पनि उनीहरूले फर्निचर पठाउँदै आएका छन्। आठ वर्ष मलेसियामा बसेर, त्यसपछि भारतको कलकत्ताबाट वेत फर्निचर निर्माणको सीप सिकेर फर्किएका विक अहिले टीकापुरमै ४० जनाभन्दा बढी स्थानीयलाई रोजगारी दिइरहेका छन्।
“कामदारको सीपअनुसार मासिक २५–३० हजारसम्म पारिश्रमिक पाउँछन्,” विक भन्छन्।
फर्निचर बनाउने कच्चा पदार्थ वेत टीकापुरकै सत्ती कर्णाली सामुदायिक वनबाट प्राप्त हुन्छ। २५८ हेक्टरमा फैलिएको यो वन नेपालकै प्रमुख वेत उत्पादन केन्द्र हो।
सामुदायिक वनका अध्यक्ष जितराम चौधरीका अनुसार, “विसं २०५१ देखि संरक्षण थालिएको यो वनबाट अहिले वार्षिक एक करोडभन्दा बढी आम्दानी हुँदै आएको छ।”
फागुन १५ पछि दुई महिनासम्म हुने वेत कटानीमा स्थानीय उपभोक्ताले प्रतिकिलो १० रुपैयाँ पाउँछन्। “त्यो अवधिमा एक जनाले दैनिक एक–दुई हजारसम्म कमाउँछन्,” अध्यक्ष चौधरी भन्छन्।
वेत चार–पाँच वर्षमा उत्पादन हुन्छ। बजारमा यसको माग उच्च भएकाले सामुदायिक वनले सुरुदेखि नै संरक्षणमा जोड दिएको छ। “नगरपालिकाको सहकार्यले हामीलाई थप हौसला मिलेको छ,” अध्यक्ष चौधरीको भनाइ छ।
टीकापुर नगरपालिका वडा नं ७ मा पनि वेतबाँसका सामग्रीलाई प्राथमिकता दिइएको छ। नगरप्रमुख डगौंराले भविष्यमा पनि स्थानीय सीप, संस्कृति र उत्पादनलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे।
असार २८, २०८२ शनिबार २२:३५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।