८४ वर्षमा पनि क्यानभासमा रंग खेलाउने चित्रकार जसले पच्पन्न झ्यालको नक्सा कोरे, मनकामना गेटलाई रंग्याए

८४ वर्षमा पनि क्यानभासमा रंग खेलाउने चित्रकार जसले पच्पन्न झ्यालको नक्सा कोरे, मनकामना गेटलाई रंग्याए
तस्विर : दिपेश श्रेष्ठ

काठमाडौं : टन्टलापुर घाममा आफ्नै घर अगाडिको नागपोखरीमा चित्र बनाउँदै बसिरहेका हुन्छन्, कृष्णराम चित्रकार। ८४ वर्षको उमेरमा पनि उनका चाउरी परेका हातहरू एकनासले क्यानभासमा डुलिरहेका हुन्छन्। 

उनको कोठा रंग, ब्रस, र चित्रहरूले भरिएको छ। भित्ताभरि आमा, बा र जहानका तस्बिरहरू छन्- सबै आफैले कोरेका। कतै देवीदेवताको तस्बिर त कतै मन्दिरका नक्सा। भुइँभरि छरिएका रङसँगै उनले सिङ्गो जीवन बिताइसकेका छन्।

तस्विर : दिपेश श्रेष्ठ

आखा धमिलो देखेपनि उनी अझै चाडपर्वमा चित्र बनाउने काम उत्तिकै मिहिनेतका साथ गर्छन्। दशैंमा देवीको आकृति, नागपञ्चमीमा नागको चित्र, जनै खटिराको जनै। यी सबै काम उनी अहिलेसम्म पनि गरिरहेका छन्।

‘जात नै चित्र लेख्ने। बुवाले पनि लेख्नु हुन्थ्यो। मैले पनि लेखे। म एक्लो छोरो भएँ। नत्र अरूले पनि लेख्थे होला,’ उनी फिस्स हाँस्दै सुनाउँछन्। उनका छोराछोरीले पनि चित्र बनाउने काममा चासो राख्छन्, तर त्यो काममै सिमित छैनन्। कोही पाहुना आउँदा उनी गर्वका साथ आफ्ना चित्र देखाउने गर्छन्।

केही समय अघिसम्म राम्रोसँग देख्ने उनी अहिले धमिलो देखिन थालेका छन्। तर उमेरकै कारण आँखामा समस्या आयो भन्ने कुरा भने उनी मान्दैनन्।

‘०२७ साल तिर रगत जँचाउन भक्तपुरमा एउटा टोलीनै आएको थियो। पच्पन्ने झ्यालमा आएको डाक्टरसँग मैले मानिसको रगत मानिसमा नै किन चढाउने गर्छ भनेर इजहार गरे,’ भन्दै उनले थपे, ‘मैले मान्छेको मुख त एकआपसमा मिल्दैन, रगत मिल्छ त भनेर सोधे। पशुपन्छी खाएर आएको मान्छेको रगत पनि एकआपसमा मिल्छ त पनि भने। तर त्यसबेला डाक्टरले केही पनि जवाफ दिएनन्। मैले त त्यसबेला देखिनै मासुमाछा पनि छोडे।’

तस्विर : दिपेश श्रेष्ठ

त्यसपछिबाट उनी पूर्ण रूपमा साकाहारी बने। भन्छन्- पशुको मासु खाँदा पशुकै बुद्धि हुन्छ भन्ने ज्ञान आफूमा आइसकेपछि उनले माछा मासु छोडिदिए। उनी आशंका गर्छन्, त्यही समयको रगत जँचाउँदा लापरबाही भयो कि, जसले अहिले आँखा धमिलो बनायो।  

अहिलेसम्म स्वस्थ नै रहेका चित्रकारले  केही दिनयता भने छाती थर्किएको महसुस गरिरहेका छन्। ‘धेरै हिड्यो भने छाती थरथर हुन थालेको छ। जाड रक्सि, मासु माछा, तमाखु हुँदा हुँदा दूध र दही सम्म खान्न अहिले। अब त बुढो भएकी भन्ने लाग्छ,’ उनले गहिरो सास फेर्दै भने।  

कृष्णरामको जीवन चित्रले सजिएको छ। बुढेसकालसँगै थोरै असजिला पनि थपिए, तर रंग र रेखाबाट उनको मोह झनै गहिरिँदै गएको छ।

तस्विर : दिपेश श्रेष्ठ

अरूले बनाएको चित्र हेरेर हुबहु कोर्थे

अरूले बनाएको चित्र हेरेर हुबहु कोर्ने कला चित्रकारमा बाल्यकालदेखि नै थियो। नयाँ कुरा सिक्न र गर्न उनी सधैं उत्साहित हुन्थे। उनले बनाएका चित्रहरू हेर्दा विश्वास गर्न गाह्रो पर्छ। ती सबै उनले कसैबाट नसिकेर आफैंले सिकेका हुन्।

उनका बा भने सीमित प्रकारका चित्र मात्रै बनाउँथे। तर कृष्णरामको मनमा भने विविध रंग र आकृतिहरू कोर्ने चाहना थियो। जहाँ चित्र देख्थे, त्यहाँ टोलाएर हेर्थे। त्यसपछि घर फर्केर सर्लक्कै त्यही चित्र बनाउँथे।

‘मेरो बा’ पनि हजुरबाको एक्लो छोरा। मैले १२/१३ वर्षको उमेर हुँदा देखिनै यही चित्र बनाएको हो। बा’ले त्यति धेरै थरीको चित्र बनाउने त होइन तर मलाई काठमाडौँमा लामाहरूले बनाएको थांका एकदम मन पर्यो। अनि बनाउन थाले,’ उनले एकै सासमा भने।

थांका चित्र बनाउने सीप सिक्न उनी बौद्धदेखि स्वयम्भूसम्म जान्थे। ध्यानपूर्वक हेर्थे। कसरी ब्रस चलाइएको छ, कुन रङ किन प्रयोग गरिएको छ। कुनै क्यामेरा थिएन, न फोन नै। तर एकपटक देखेका चित्रलाई उनले दिमागमा टिप्थे अनि घर पुगेर हुबहु उतार्ने गर्थे।

कपडामा कसरी लेख्ने ? कुन रङ प्रयोग गर्ने ? किन गर्ने ? यस्ता थुप्रै जिज्ञासा उनको मनमा घुमिरहन्थे। तर ती सबैको उत्तर उनले आफैं खोज्ने गर्थे। अभ्यास, अवलोकन र प्रयोगबाट।

तस्विर : दिपेश श्रेष्ठ

चित्र बनाउने बाहेक उनी पहिले खेतीपाती पनि गर्थे। तर अहिले खेतीपाती छैन। घरमा अहिले उनी आफ्नो चित्रहरूसँगै रमाउँछन्।

कोठाभरि सजिएको आफ्नो चित्र हेरिरहँदा उनको अनुहारमा सन्तोष झल्किन्छ। अनि अझै केही नयाँ शैली, नयाँ स्वरूपको चित्र बनाउने उद्देश्यले उनी क्यानभासमा रंग खेलाइरहेका हुन्छन्।

‘ससुराले नै अर्को बिहे गर्न पर्छ भने’

आफ्ना बा’को पेशालाई निरन्तरता दिँदै आएका चित्रकारको विवाह १७ वर्षको उमेरमा भएको रहेछ। विवाहको निर्णय उनको फुपू बजैले अघि सारेकी थिइन्। ‘बिहे भनेको मलाई थाहै थिएन। तीन वर्षसम्म त जहानसँग बोलचाल पनि भएन,’ उनी हँसिलो अनुहारले ती दिन सम्झन्छन्।

त्यही श्रीमतीबाट उनले चार सन्तान पाएका थिए। तर विवाहपछि धेरै वर्ष नबित्दै उनले जीवनसाथी गुमाए। श्रीमतीको मृत्यु भएको पनि ५२ वर्ष भइसकेको छ। श्रीमती गुमाएको पीडाले उनी विक्षिप्त थिए। यति नै बेला घरपरिवारमा उनको दोस्रो विवाहको कुरा चल्न थाल्यो, जसलाई उनले सुरुमा अस्वीकार गरे।

‘पछि ससुराले नै पनि अर्को ल्याउनु पर्छ भन्नुभयो। त्यसबेला पनि म मानेको थिइन। तर दुई वर्षपछि ससुराले नै घरमा ल्याइदिनुभयो,’ कृष्णरामले पुरानो पारिवारिक चित्र देखाउँदै सुनाए।

तर त्यसपछि उनको जीवनमा दुःखका दिनले पछ्याइरहेका थिए। ०६१ सालमा आमा बितिन्, ०६२ मा दोस्रो श्रीमतीले पनि छोडेर गइन्, अनि ०६३ मा उनले बुवा पनि गुमाए। ‘तीन सालमा घरका तीन जना सदस्य बिते। मलाई त औडाहा नै भएको थियो। अर्को जहान म भन्दा १३ वर्ष कान्छी थिइन्। क्यान्सर भयो उनलाई,’ मलिन अनुहारमा उनले बने।

श्रीमतीको स्वास्थ्य बिग्रिएपछि उनले भक्तपुरको क्यान्सर अस्पतालमै उपचार गराएका थिए। तर त्यहाँ क्यान्सर भएको पुष्टि हुन सकेन। पछि काठमाडौँ ल्याएर उपचार गर्दा क्यान्सर अन्तिम चरणमा पुगिसकेको थाहा भयो।

‘मैले त भक्तपुरको क्यान्सर अस्पतालमा गएर, ‘तपाईंहरूले होइन रहेछ भनेको होइन है, ल हेर्नुहोस्,’ भनेको थिएँ। अगाडि नै काठमाडौँ ल्याएको भए सायद बच्थिन् जस्तो लाग्छ,’ उनले दुःख सुनाए।

अहिले भने उनको साथमा छोरा, बुहारी र नातिनातिनीहरू छन्। परिवारका बीचमा, अतीतका ती पीडादायी क्षणहरूलाई सम्झँदै उनी आफ्नो चित्रकला र सरल जीवनमा रमाइरहेका छन्।


‘तीनपटक सम्म पनि एसएलसी पास गर्न सकिँन’ 

राणा शासनको अन्त्यसँगै देशमा नयाँ व्यवस्था सुरु भइसकेको भए पनि भक्तपुरमा त्यतिबेला शिक्षा र विद्यालयप्रतिको चासो खासै बढेको थिएन। केही आधारभूत विद्यालयहरू खुल्न थालेका थिए, तर माध्यमिक तहको अध्ययनका लागि विकल्प सीमित थिए।

एक्लो छोरा भएका कारण ढिलो भए पनि कृष्णराम चित्रकारले पढ्ने मौका त पाए तर रात्रिकक्षामा। छ कक्षा सम्म उनी रात्रिकक्षामै पढ्थे। ०२६ सालमा एसएलसी परीक्षा दिने तयारीसहित परीक्षामा सहभागी त भए, तर अंग्रेजी विषयको डरले परीक्षा नै अधुरो छाडेर फर्किए। ‘अंग्रेजी कै बेला केहि लेख्नै सकिनँ। डरले परीक्षा छाडेर फर्किएँ,’ उनी सम्झन्छन्।

गाउँमा उनी फेल भएको हल्ला फैलियो। आफन्त र गाउँलेको दबाबमा ०२७ सालमा फेरि परीक्षा दिए तर यसपटक पनि सफल हुन सकेनन्। त्यसपछि पढाइप्रति उनको रुचि हराउँदै गयो। ‘म त नपढ्ने भनेर बसेको हो। तर पछि कामको सिलसिलामा भेटिएका जर्मन साथीहरूले भने, पढ्नुपर्छ भनेर ट्युसन नै पठाइदिए,’ उनी हाँस्दै भन्छन्। त्यसैगरी ०३५ सालमा फेरि एकपटक एसएलसी दिए, तर सफल हुन सकेनन्।

चित्रकार अंग्रेजीमा कमजोर भए पनि नेपाली भाषामा भने राम्रो पकड बनाइसकेका थिए। यही कारणले उनलाई भक्तपुरको चित्र संग्रहालयमा जागिर मिल्यो। सुरुमा महिनाको तलब ४५ रुपैयाँ थियो।

त्यसबेला उनले काठका मूर्तिहरूमा भएका देवी–देवताको पहिचान गरेर नाम लेख्ने काम गर्थे। पछि उनी 'बैदार' पदमा पुग्न सफल भए। त्यतिबेला बैदारलाई पुरातत्वका प्राचीन वस्तु र संरचनाको अध्ययन र व्याख्या गर्ने जिम्मेवारी दिइन्थ्यो। 

करिब १५ वर्ष काम गरेपछि उनलाई दोहोरो बढुवा हुने अवसर आयो। त्यही बेला एक मूर्तिविज्ञले एउटा मूर्ति लिएर आए जसको तल ‘तारा’ लेखिएको थियो। तर मूर्ति हेर्दा उनी छक्क परे। ‘त्यो त लक्ष्मीको मूर्ति थियो। मैले भनिहालेँ- सर, यो तारा होइन, लक्ष्मी हो,’ उनी सुनाउँछन्।

तर त्यसपछि उनले भनेजस्तो प्रतिक्रिया आएन। बरु, केही समयपछि उनको बढुवासम्बन्धी कागजात नै हरायो। उनलाई लाग्यो त्यो कागज हराएको होइन लुकाइयो। ‘म त रिसले आँखा नै देखिँन। अनि सोझै राजीनामा दिएँ,’ उनी ति दिन सम्झिए। 

उनले यदि पाँच वर्ष मात्रै अझै काम गरेका भए, अहिलेको बुढेसकालमा अवकाश भत्ता पाइरहेका हुन्थे। तर उनले त्योबेलाको निर्णयप्रति पछुतो नरहेको बताउँछन्।

 

तस्विर : दिपेश श्रेष्ठ


‘पच्पन्न झ्यालको नक्सा कोरे, भनेजति पैसा दिएन’


त्यो समय थियो, जब जर्मन प्रोजेक्टले नेपालमा पुरातात्विक संरचनाको संरक्षण र अध्ययनका लागि काम गरिरहेको थियो। त्यही समयमा चित्रकार पनि जर्मन टोलीसँग सहकार्य गर्दै थिए।

पुरातत्व र वास्तुकलाको उनको गहिरो ज्ञानका कारण, उनलाई इन्जिनियरभन्दा एक रुपैयाँ बढी तलब दिने गरिएको उनी सुनाउँछन्।

‘त्यसबेला जर्मनहरूको प्रोजेक्ट पनि आएको रहेछ। मलाई इन्जिनियरभन्दा एक रुपैयाँ बढी तलब दिन्थे,’ उनले पच्पन्न झ्यालको नक्सा देखाउँदै सुनाए।

भक्तपुरको प्रसिद्ध पच्पन्न झ्यालको नक्सा बनाउन उनलाई एक वर्षभन्दा बढी समय लागेको रहेछ। ती नक्सा कोर्नु भनेको केवल रेखाचित्र तान्नु मात्र थिएन, त्यो संरचनाको गहिरो अध्ययन र प्रामाणिक अभिलेखन थियो। तर जुन मेहनत गरे, त्यसअनुसार पारिश्रमिक पाउन भने सकेनन्।

‘उनीहरूले लेख्न नजाने र पो मलाई चित्र लेख्न दिए। तर भनेको जति नदिएर थोरै पैसा दिए नि,’ उनले गुनासो गर्दै भने।

त्यसपछि उनले कीर्तिपुर, काठमाडौँको हनुमानढोका, गोरखाको मनकामना लगायतका ऐतिहासिक स्थानहरूमा समेत नक्सा निर्माण र चित्र कोर्ने काम गरे। हनुमानढोकामा त काठमाडौँ, ललितपुर, भक्तपुर र कीर्तिपुरका चार दरबार मिलेर बनेको संरचना बुझ्न र त्यसको सामान जम्मा गर्न निकै समय लागेको उनी सम्झन्छन्। ‘हनुमानढोकाको दरबार बनाउन सामान जम्मा गर्न हम्मे पर्यो। लामो समय लाग्यो, तर सके,’ उनले सुनाए।

गोरखाको मनकामनामा अहिले पनि उनलाई रंग लगाउने कामको लागि बोलाइन्छ। ‘त्यहाँको गेटमा गरुड र बुद्ध छन्। म रंग लगाउँछु। बरु, त्यहाँ त मलाई अरु ठाउँभन्दा बढी पारिश्रमिक दिन्छ,’ उनी भन्छन्।

सरकारी जागिरबाट राजीनामा दिएपछि उनले कुनै संस्थामा आबद्ध नभई स्वतन्त्र कलाकारको रूपमा काम गरे। यही स्वतन्त्रताले उनलाई आफूले चाहेजस्तो ढंगले सिर्जना गर्ने छुट दिएको उनी बताउँछन्।

‘जहाँ पनि बस्नुपर्दैन, जोसँग मन मिल्यो, जसले बुझ्यो, त्यहाँ काम गर्न पाइन्छ। यो नै रमाइलो हो,’ उनी सुनिन्छन्।

उनले चार युगको चित्र, काठमाडौं उपत्यकाको ताल युगको अवस्थाबाट लिएर हजारौं चित्र बनाइसकेका छन्। विभिन्न चित्रकला प्रदर्शनीमा पनि उनी समय-समयमा सहभागी भइरहन्छन्। 

चित्र भनेको केवल दृश्य होइन, उनले भोगेका अनुभव, इतिहास र समयको अभिलेख हो भन्ने कुरालाई उनले जीवनभरको कर्मले देखाएका छन्।

तस्विर : दिपेश श्रेष्ठ

असार २८, २०८२ शनिबार २१:१७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।