ग्रामीण विकास र समाज लघुवित्तबीच मर्जरका लागि बोलाइएको साधारण सभामा लफडा

बुटवल : ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड बीचको मर्जर प्रक्रियाका लागि हुन लागेको साधारण सभामा लफडा भएको छ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा मर्जरका लागि हुन लागेको साधारणसभाको कर्मचारीहरूले विरोध गरेपछि विवाद भएको हो।
संगठनले ०८२ असार १३ गते मर्जरविरुद्ध पेश गरेको ध्यानाकर्षण विरोध पत्रको वेवास्ता गरी साधारण सभा आयोजना गर्न लागेपछि कर्मचारी विरोध गर्न ब्यानर सहित कार्यक्रम स्थल होटल पाममा पुगेका थिए। तर प्रहरीले उनीहरुलाई रोकेपछि विवाद बढेको थियो।
उच्च व्यवस्थापनको निजी स्वार्थमा मर्जर प्रकृयाका लागि गर्न लागिएको साधारण सभा तत्काल स्थगित गर्न माग गर्दै पुगेका कर्मचारीहरूको होहल्ला पछि साधारणसभा स्थलबाट सञ्चालकहरू बाहिरिएका थिए।
आफ्नो वित्तीय संस्था भन्दा सबै सूचकहरू क्रृणात्मक रहेको समाज लघुवित्त वित्तीय संस्था लिमिटेड बीचको मर्जर ग्रामीण विकास लघुवित्तलाई डुबाउने खेल भएको कर्मचारीको आरोप।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले आफ्नो पदावधि बढाउन संस्थालाई जबरजस्ती मर्जरमा लैजान लागेको आरोप लगाए। कटुवालको कार्यकाल सकिन लागेको र मर्जरमा गएमा अर्को थप ४ वर्ष प्रमुख कार्यकारी अधिकृत बन्न पाइने भएकाले जबरजस्ती घाटामा रहेको संस्था सँग मर्जर गर्न कटुवाल लागिपरेको संगठनका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पंगेनीले बताए।
‘असमान खालको मर्जर प्रक्रिया अगाडि बढाइएको छ। यो नितान्त प्रमुख कार्यकारी र सञ्चालकको समय अवधि बढाउनु बाहेक अर्को कुनै फाईदा छैन। यसबाट सेयरधनीलाई पनि फाइदा हुँदैन। यदि मर्जर भएमा संस्था डुब्छ,’ उनले भने।
संस्थाले हाल विभिन्न तहमा ५ सय भन्दा बढि कर्मचारी स्थायी नियुक्त गरेकोमा नयाँ कर्मचारीहरूलाई परिचालन गरी संस्था सवल बनाउनुपर्नेमा संस्थाको तुलनामा अत्यन्त न्यून पूँजी रहेको संस्था सँग मर्जर गरी प्रमुख कार्यकारी अधिकृतले आफ्नो कार्यकाल बढाई थप आर्थिक चलखेल गर्न मर्जर गर्न खोजेको उनको आरोप छ।
‘अधिकृत पूँजी तथा अन्य वित्तीय सूचकहरूमा असमानता रहेको छ। मर्जर पश्चात पनि थप जिल्लामा कार्यक्षेत्र विस्तार हुने अवस्था छैन’ उनले भने। समाज लघुवित्तका वित्तीय सूचकहरू निकै कमजोर छन्। खुद नाफा, ब्याज आम्दानी, तथा इपीएस जस्ता प्रमुख सूचकहरू नकारात्मक देखिएका छन्।
यी दुई संस्थाबीच ०८१ फागुन १७ गते प्रारम्भिक मर्जर सम्झौता भएको थियो। समाज लघुवित्तको प्रधान कार्यालय मलंगवामा रहेको छ भने ग्रामीण विकास लघुवित्तको प्रधान कार्यालय बुटवलमा छ। दुबै संस्थाले ग्रामीण क्षेत्रका ग्राहकलाई वित्तीय सेवा पुर्याउँदै आएका छन्।
संगठनका महासचिव सुनिल कुमार अधिकारीले २ करोड पूँजी भएको समाज लघुवित्तका सबै सूचकहरू क्रृणात्मक रहेको बताए। साथै प्रमुख कार्यकारी कटुवालले साढे ५ सय कर्मचारी नियुक्ती गर्दा करोडौं रुपैयाँ घोटाला गरेको आरोप लगाए। संस्थाका कार्यकारी प्रमुख र कम्पनी सचिव पनि कटुवाल नै हुन।
कम्पनी ऐनको दफा १८५ (२) ले कुनै पनि संस्थाको १ करोड पूँजी भएमा कम्पनी सचिव राख्नुपर्ने व्यवस्था भएपनि कटुवाल नियुक्त भएर आएपछि कम्पनी सचिव नियुक्त नगरी आफै कम्पनी सचिवको समेत भूमिका रहेका छन्।
कम्पनीहरूको चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासको वित्तीय विवरणले दुई संस्थाबीच ठूलो भिन्नता देखाएको छ। ग्रामीण विकास लघुवित्तले नाफा र वित्तीय सूचकहरूमा राम्रो प्रगति गरिरहेको देखिन्छ भने समाज लघुवित्त भने कमजोर अवस्थामा छ।
समाज लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा ९९.७४ प्रतिशतले कमी आएको हो। गत वर्ष यसले ५१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो।
त्यसैगरी, ग्रामीण विकास लघुवित्तले यस अवधिमा १८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको १७ करोड २ लाख रुपैयाँको तुलनामा ८.६० प्रतिशत वृद्धि हो।
समाज लघुवित्तको खुद ब्याज आम्दानी ४७.४७ प्रतिशतले घटेर १ करोड ६ लाख ४५ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यसले २ करोड २ लाख रुपैयाँ आम्दानी गरेको थियो। यता, ग्रामीण विकास लघुवित्तको खुद ब्याज आम्दानी भने २२.४१ प्रतिशतले बढेर ५९ करोड ८९ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष ४८ करोड ९२ लाख रुपैयाँ थियो।
समाज लघुवित्तको सञ्चालन घाटा गत वर्षको २ करोड ३० लाख रुपैयाँबाट घटेर ९५ लाख ३१ हजार रुपैयाँ पुगेको छ, जुन घाटा कम भएको संकेत हो।
समाज लघुवित्तको चुक्ता पूँजी २ करोड २८ लाख रुपैयाँ मात्र रहेको छ भने जगेडा कोष २ करोड ७८ लाख रुपैयाँ छ।ग्रामीण विकास लघुवित्त भने ठूला वित्तीय सूचकहरूमा बलियो देखिन्छ। यसको चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष २ अर्ब १ करोड रुपैयाँ पुगेको छ।
सेयरधनिको साधारणसभा हो, कर्मचारीको होईन : प्रमुख कार्यकारी अधिकृत कटुवाल
संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले सेयरधनीको साधारण सभा भएकाले कर्मचारीलाई प्रवेश गर्न नदिइएको बताए। उनले सेयरधनी रहेका कर्मचारीलाई भने साधारणसभा प्रवेश गर्न दिइएको दाबी गरे।
‘सेयरधनी प्रमाणपत्र नलिई आएकाहरूलाई प्रवेश गर्न नदिइएको हो। सेयर सदस्यहरूलाई रोकेको होइन’ उनले भने।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारीको विरोधका बाबजुद शेयर सदस्यहरूलाई नै सहभागी नगराई शनिबार बुटवलमा साधारण सभा गरेको छ।
कर्मचारीको विरोध पछि प्रहरी तैनाथ गरी निश्चित सेयर सदस्यलाई मात्र सहभागी गराएर साधरणसभा गरिएको हो। संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले ६५ प्रतिशत सेयरधनीको सहभागितामा साधारणसभा गरिएको दाबी गरे।
असार २८, २०८२ शनिबार १९:०६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।