३ किलो ४०० ग्राम कोकिनसहित एक भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध ‘कोकिन’ सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक अब्दुस समाद जमाल मन्सुरी रहेका छन्।
बुधबार साँझ चार बजे कतार एयरवेजको उडानबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गरेका उनलाई विमानस्थलको गौचरण अराईभल पार्किङ एरियाबाट पक्राउ गरिएको हो। ब्यूरोका अनुसार उनी मुम्बई, महाराष्ट्रका हुन्।
प्रारम्भिक जाँचका क्रममा मन्सुरीले बोकेको झोलाभित्र विशेष तरिकाले लुकाइएको अवस्थामा ३ किलो ४०० ग्राम कोकिन फेला परेको थियो।
पक्राउ परेका मन्सुरीको उमेर ४९ वर्ष रहेको र उनको पासपोर्ट नं. एस ४४७०३३ रहेको ब्यूरोले जनाएको छ। हाल उनलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
असार २८, २०८२ शनिबार १८:४१:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।