‘आपराधिक उपद्रो’को कसुरमा पक्राउ पुर्जी जारी भएका सांसदको मुद्दा फिर्ता गर्न माग गर्दै जसपाले गर्यो मलंगवा बजार बन्द

रौतहट : जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि झुटा मुद्दा लगाइएको भन्दै जसपा कार्यकर्ताले सर्लाहीको मलंगवा बजार बन्द गराएका छन्। शनिबार बिहानैदेखि बजार सुनसान छ, सवारी साधन पनि ठप्प छन्।
जसपाले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाहीको माग गर्दै दुई दिने बन्दको आह्वान गरेको हो। सर्लाही जसपाका अध्यक्ष शम्भुप्रसाद यादवले ‘मुद्दा फिर्ता नभएसम्म आन्दोलन जारी रहन्छ’ भन्दै कडा सन्देश दिएका छन्।
मलंगवाको मुख्य बजारदेखि सहायक राजमार्गसम्म यातायात अवरुद्ध छ। स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन्। जसपाका नेता तथा कार्यकर्ताले बजार क्षेत्रका कलकारखाना पनि बन्द गराएका छन्।
प्रदर्शन चर्किएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले बजारका विभिन्न स्थानमा सुरक्षा कडा बनाएको छ। प्रहरीले यादवविरुद्ध पक्राउ पूर्जी जारी भएको एक साता बितिसक्दा पनि उनलाई समात्न सकेको छैन।
सर्लाही जिल्ला अदालतले असार २० गते यादवविरुद्ध ‘आपराधिक उपद्रो’को कसुरमा पक्राउ अनुमति दिएको हो। यसको आधार भने असार १९ गते राति भएको टेलिफोन संवाद हो, जहाँ पूर्व प्रदेशसभा सदस्यसमेत रहेका यादव र एसपी खड्काबीच गालीगलौज र भनाभन भएको बताइएको छ।
यता, प्रहरीको खोजी जारी रहेको भनिए पनि यादव सामाजिक सञ्जालमा सक्रिय छन्। उनले मिडियालाई अन्तर्वार्ता समेत दिइरहेका छन्।
असार २८, २०८२ शनिबार १७:४५:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।