२० किलो तौल घटाएर अभिनय गर्दा सुटिङमै ढलेँ : महेश त्रिपाठी (अन्तर्वार्ता)

२० किलो तौल घटाएर अभिनय गर्दा सुटिङमै ढलेँ : महेश त्रिपाठी (अन्तर्वार्ता)

काठमाडौं : पछिल्लो समय चर्चामा रहेका अभिनेता हुन् महेश त्रिपाठी। फिल्म ‘नोभेम्बर रेन’मार्फत अभिनय यात्रा सुरु गरे पनि उनी मुख्य रूपमा दर्शकमाझ ‘चपली हाइट ३’ बाट चिनिए। त्यसपछि उनले ‘हल्कारा’, ‘हुँदै लाजशरणम्’, ‘फेरि रेशम फिलिली’जस्ता दर्जनौं फिल्ममा अभिनय गरिसकेका छन्। इन्जिनियरिङ अध्ययन गर्दै गरे पनि उनको वास्तविक मोह भने अभिनयमा छ। जुनसुकै भूमिका भए पनि अभिनय गर्न तयार हुन्छन् उनी।

गत वर्ष प्रदर्शनमा आएको ‘लाजशरणम्’ मा उनले कर्णाली प्रदेशको गाउँले युवकको भूमिका निर्वाह गरेका थिए। त्यो भूमिकाका लागि उनले आफ्नो तौल २० किलो घटाएर ५५ किलोमा झारेका थिए। सुटिङकै दौरानमा उनी बेहोस पनि भएका थिए। त्यही क्षण उनलाई लाग्यो- 'अब अन्तिम होला!' तर पर्दामा त्यो पात्रलाई देख्दा उनी आफैँ दंग परे।

त्यही अभिनयले उनलाई अझै चर्चामा ल्यायो। अहिले उनीसँग २७ वटा स्क्रिप्टको चाङ छ। तीमध्ये उपयुक्त स्क्रिप्ट खोज्दै धमाधम पढिरहेछन्। तर आफूलाई "चित्त बुझ्दो" कहानी अझै नपाएको उनी बताउँछन्।

उनको अभिनय यात्रा, तयारी र भावी योजना बारे उकेरा संवाददाता भोला अधिकारीले गरेको भिडियो अन्तर्वार्ताको सम्पादित अंश पढ्नुहोस :

अचेल कति व्यस्त हुनुहुन्छ?

अहिले त्यतिधेरै व्यस्त नै भन्ने छैन। अलिअलि काम चलि नै रहेको छ। अहिले ठ्याक्कै कस्तो हुँदो रहेछ भने,पछिल्लो समय रिलिज भएका फिल्महरू हेर्दा, ल महेशलाई त फिल्म भयङ्कर छ भन्ने हुँदो रहेछ। तर त्यस्तो छैन। फिल्महरूको लागि प्रस्तावहरू चाहिँ आएको छ,तर राम्रो फिल्मको प्रतिक्षामा छु। 

‘लाज शणनम्’ पछि तपाईंलाई फिल्मको अफर बढी आएको हो ? 

यो फिल्म भन्दा पहिला पनि अफर त आइरहेको हुन्थ्यो, नआएको होइन। वर्षको तीन वटा जति गर्थे। म दुई-तीन वटा गर्छु भन्थेँ। तीन-चार वटा पनि पुग्थ्यो। तर अहिले १५ देखि २५ वटा फिल्मको अफर आइरहेको छ। कतिपयले स्टोरी आइडिया सुनाइरहनु भएको छ। तर गरिहालौं भन्ने जस्तो छैन। अब नगरौँ त हाम्रो अरु काम छैन, त्यहीँ नै हो। राम्रो काम आइदिए हुन्थ्यो भन्ने छ। स्क्रिप्ट पढ्ने काम यो दुई-तीन महिनादेखि चलिरहेको छ। 

अहिले तपाईंको सिरानीमा कति वटा स्क्रिप्ट राख्नु भएको छ ?

२६ वटा जति छन्। हिजोसम्म सुनेकोपनि गन्ने हो भने २७ वटा छन्। 

२७ वटा स्क्रिष्टमा छान्दा के आधारमा छान्नुहुन्छ ? 

छान्ने भन्दा पनि, ठ्याक्क यो ‘लाजशरणम्’को र ‘फेरि रेशम फिलिली’को चरित्रले धेरै अडियन्ससम्म पुर्यायो। तिनै क्यारेक्टरसँग रिलेटेड चिजहरू धेरै आइरहेका छन्। मलाई चाहिँ च्यालेन्जिङ होस्, पृथक काम गर्न पाइयोस् भन्ने लागिरहेको हुन्छ। 

भनेपछि च्यालेन्जिङ वाला भूमिका आइरहेका छैनन् ?

छैनन्। मलाई चरित्रले मज्जा आउनुपर्यो नी भन्ने लाग्छ। 


तपाईंको अभिनय यात्रा ‘चपली हाइट ३’ बाट भएको हो वा त्यो भन्दा अगाडि कुनै थियो ?

मैले यसअघि काम गरेको फिल्म भनेको ‘नोभेम्बर रेन’हो। सन् २०१३ मा। तर लिड क्यारेक्टरको हिसाबले भन्ने हो भने मेरो ‘चपली हाइट ३’ नै हो। सुटिङको हिसाबले हेर्ने हो भने ‘हल्कारा’हो। तर रिलिजका हिसाबले ‘चपली हाइट ३’ बन्यो। 

पहिलो फिल्ममा काम गर्दाको अनुभव कस्तो रह्यो?

मैले ‘नोभेम्बर रेन’ गर्दा मलाई त्यस्तो फिल्ममा काम गरिहालौँ जस्तो लागेन, एक्साइटमेन्ट पनि थिइन्। फिल्म नै गरिहाल्नुपर्ने के छ र भन्ने खालको भयो। त्यसपछि मैले फिल्ममा काम गरिन्। ६-७ वर्ष नै ग्याप भयो। यसपछि मलाई ‘हल्कारा’ को अफर आयो। यो फिल्मको कथा अलिक गहिराइमा पुगेको फिल भयो मलाई। यो चाहिँ गर्नुपर्छ भन्ने भइसकेपछि अभिनय गरेको हुँ। अब ‘हल्कारा’मा काम गरिसकेपछि मलाई के लाग्यो भने, हैन, म कलाकार नै बन्न आएको हो। मैले कलाकारितालाई नै अगाडि बढाउनुपर्छ भन्ने लाग्यो। यो लागिसकेपछि मैले गर्नुपर्छ, मैले खोजे जस्तै पनि नहोलान् भन्ने अवस्थामा पुगेको थिए। त्यो समयमा मलाई ‘चपली हाइट ३’को अफर आयो। यसको क्यारेक्टर वाइज पनि इन्ट्रेस्टिङ नै लाग्यो। यो फिल्म गरेपछि रिलिजपनि अगाडि ‘चपली हाइट ३’ नै भयो। चपली हाइट कस्तो अवस्थामा रिलिज भयो भने कोभिडको महामारीको बेलामा। यसको प्रतिक्रिया राम्रो भयो। मैले यसमा इन्सपेक्टरको भूमिका निर्वाह गरेको थिए। जतिले हेर्नेुभयो, एकदमै मन पराउनु भयो। समिक्षकहरूबाट पनि राम्रो समिक्षा आयो। मेरो अभिनयलाई लिएर धेरै लेख लेखिए, त्यतिबेला। तर मासमा पुग्न सकेन, त्यो सिनेमा। त्यसपछि मलाई निरन्तर काम चाहिँ आउन थालेको थियो। 

तपाईंको चर्चा चपली हाइट ३ भन्दा बढि ‘हल्कारा’बाट भएको जस्तो लाग्दैन्  ? 

त्यो त हो। किनभने हल्काराले मलाई अन्तराष्ट्रिय प्लेटफर्ममा लग्यो। अमेरिकामा भएको एउटा अवार्डमा मैले बेष्ट अवार्ड नै जिते। त्यसले गर्दा हल्कारामा चर्चा बढि भयो। नेपालको तर्फबाट अस्करमा गएको सिनेमा भन्ने भयो। त्यसले गर्दा चर्चा हल्काराबाट भयो भन्दा फरक नपर्ला। 


‘प्रसाद २’ मा अभिनय गर्दाको क्षणलाई कसरी सम्झिनुहुन्छ ?

हैन,अब फिल्म गर्नुपर्छ, मेरो आफ्नो टेस्ट, मेरो आफ्नो इन्ट्रेस्ट, मलाई मन परेको क्यारेक्टर, मलाई मन नपरेको क्यारेक्टर भन्दा पनि मेरो पेशाको हिसाबले गर्नुपर्छ भन्ने थियो। त्यसपछि मैले बिस्तारै सिनेमाहरू गर्न थालेको हो। यसमा अर्पण दाई, विपिन दाइहरूसँग मेरो चिनजान पनि थियो। उहाँहरूसँग काम गर्दा ठिक छ, एउटा छोटो समय, निर्देशक दाइले प्रस्ताव गर्दा, अरु फिल्मको सुटिङ समय होइन, गरौँ न त भन्ने भयो। लौ ठिक नि त भनेर काम गरेको थिए। म कहिलेकाँही एकदमै टेक्निकल्ली हेर्छु, कहिलेकाँही यतिकै केही पनि नहेरि काम गर्दिन्छु। त्यतिबेला त्यहीँ हिसाबले गरौं भनेर गरियो। 

‘प्रसाद २’ मा चलेका कलाकार देखेरै काम गर्न तयार हुनुभयो की स्टोरी पनि हेर्नु भयो ?

मैले केही पनि हेरिन त्यस्तो। अब सिनियर दाइहरूसँग सँगै काम गरौँ, ल त ठिक छ भन्ने भयो। अरु काम पनि ठ्याक्कै थिएन त्यो खेर। बाँच्नु त पर्यो, पेट पाल्नु पर्यो। त्यहीँ भएर गरियो। 

फेरी ‘हल्कारा’ कै कुरा जोडौं, यसमा चरित्र निर्वाह गर्दा कतिको अर्थपूर्ण लाग्यो ?

कलाकारको रुपमा त मलाई एकदमै अर्थ पूर्ण नै लागेको चरित्र हो। आफ्नो व्यक्तिगत रुपमा चाहिँ। किनभने त्यो, फिल्म एक्टिङको हिसाबले,धेरै थिएटरको एक्टिङको चर्चा चल्छ नि मार्केटमा। तर म आफू एक्टिङको विद्यार्थी भइरहँदा, त्यो खालको एक्टिङको एप्रोज असाध्यै मनपर्छ। छोटो समयमा साइकोलोजी रिफ्लेक्ट हुने चरित्रहरू गर्न पायो भने मलाई असाध्यै मनपर्छ। त्यसको प्रिपेसनको फेजदेखि लिएर शारिरिक,मानसिक रुपको तयारी देखि लिएर, त्यो चिजहरूमा म धेरै नै इन्जोए गरेको थिए र त्यसको रिजल्ट पनि राम्रै आयो। मैले एकदमै इन्जोए गर्ने काम हो, त्यो चाहिँ। 

‘लाजशरणम्’को क्यारेक्टर पनि निकै चर्चित बन्यो। त्यो भूमिका कसरी निर्माण गर्नुभयो ?

मलाई जहिले पनि कठिन काम दियोस् भन्ने हुन्छ। कठिन काम गर्न मज्जा आउँछ। दिनभरि यतिकै घरमा काम गरेर सेटमा गयो, अनि एक्टिङ गरेर आयो त्यसरी मलाई कहिल्यै पनि सन्तुष्टि दिँदैन। त्यो चरित्र के थियो भने पृथक, भिन्न पृष्ठ भुमिको, भिन्न सामाजिक परिवेशको,चरित्र थियो नि त। भाषागत हिसाबले पनि भौगोलिक हिसाबले पनि, कतिपय सांस्कृतिक हिसाबले पनि,साइकोलोजिकल हिसाबले पनि, धेरै कुराहरूले म भन्दा भिन्न चरित्रको थियो। लाजशरणम्को सन्देश। अनि त्यो चरित्रको अप्रोज मलाई आइसकेपछि त्यसले उत्साहित बनाएको थियो। त्यो पात्रको बारेमा केही पनि थाहा छैन। जिरो छ। त्यो पात्रको बारेमा नयाँ कुरा खोज्न पाइन्छ नि त। त्यो क्यारेक्टरलाई कन्भिन्सिङ बनाउनेदेखि लिएर,त्यो क्यारेक्टरलाई स्क्रिनमा देखि रहँदा, त्यहीँको मान्छेको हो भनेर फिल गराउनलाई त च्यालेन्जिङ कुरा हो नि त। अनि मलाई त्यो एकदमै उत्साहित लाग्यो। अनि ओहो, यो काम गर्नुपर्छ भन्ने लाग्यो। सुरु सुरुमा स्क्रिप्ट पढ्दै जाँदाखेरि, छलफल हुँदै जाँदा यो क्यारेक्टर त,एउटा पौष्टिक खानेकुराहरूको अभाव भएको ठाउँको,जहाँ धेरै नै सम्भावना हुँदाहुँदै पनि नभएको मान्छेको पात्र बन्नुपर्ने थियो,एउटा युवकको। अनि त्यहाँको मान्छे त हट्टाकट्टा त हुँदैन। म त्यति मोटोघाटो मान्छे त होइन तर,यो चाहीँ मान्छे दुब्लै हुनुपर्छ भन्ने एउटा फिजिकालिटीमा एप्रोज आयो। 

त्यस्तो प्रस्ताव टिमबाटै आएको हो वा तपाईं आफैलाई लाग्यो ?

मैले सुन्ने बितिक्कै,ओहो तौल घटाएर नै काम गर्न पाए त दामी हुन्थ्यो भन्ने फिल हुन थाल्यो। अनि हामी बीच छलफल हुन थाल्यो र ल यसरी गरौँ भनेर काम गरियो। 

त्यो समयमा कति केजी तौल घटाउनु भएको थियो ? 

मैले २० केजी घटाएको थिए। म ७५ केजीको थिए,घटेर ५५ केजी भएको थिए। 

सुटिङमै बेहोस भएको हल्ला थियो नी, सत्य हो ? 

हो, त्यो फिल्मको सुटिङ निकै उचाइमा थियो। यो समयमा पनि मेरो डाइटिङ नै चलिरहेको थियो। त्यो दिन मैले २५ घण्टादेखि केही खाएको रैनछु। सुटिङ चलिरहेको थियो। त्यो ठाउँमा ट्वाइलेट बस्नुपर्यो भने अलिक टाढा जानुपर्ने। हेर्दा नजिकै लाग्ने जाँदा आधा घण्टा लाग्ने। त्यो पाटनमा उकाली ओरालीका डाँडाहरू हुन्थेँ। अलिक उता पट्टि खोल्सामा थियो,त्यहाँबाट तल फेरि खोला छङ्गै थियो, अर्को तिर हिमाल। त्यहाँ म ट्वाइलेट गर्न भनेर गएको थिए। त्यहाँ गइसकेर, ट्वाइलेट गरिसकेर उठिसकेपछि मैले सबै ब्लर देखे। त्यसपछि फोक्सो पनि स्वाँ स्वाँ हुने,सास तान्नै नसक्ने अवस्थामा पुगे। बोलाउ भने कसैले सुन्ने अवस्था थिइन। अनकन्टार ठाउँ। त्यसपछि म भित्तातिर ढल्किए। अगाडितर्फ ढल्किएको भए म भिरबाट तल खोलामै जान्थेँ। यता भित्तामा अडेस लागेर बचे। अनि पिक आवरमा आइसकेपछि एकजना त्यहीँको स्थानीय दाईलाई देखे। उहाँ फोन टिप्छ कि भनेर त्यो डाँडामा आउनु भएको रहेछ। भाग्यले उहाँलाई धमिलो देखेपछि बोलाए। तर म बोलेको सुन्दै नसुनिदो रहेछ। मैले त बोलेको नै रैनछु नि, पछि थाहा भयो। अनि उहाँले पछि मलाई देख्नुभयो। उहाँले नै गाह्रो भयो गाह्रो भयो,उहाँ बाबु ढल्नुभयो भनेर यताउता भनेर मान्छे बोलाउनुभयो। सबै हाम्रो टिमको मान्छे आएपछि मलाई लिएर जानुभयो। त्यहाँ स्थानीयले आगोको रापले सेक्दै। मेरो शरीर एकदमै चिसो भइसकेको थियो। अनि त्यहाँकै भाइहरूले बोकेर तल लैजानुभयो। मैले त्यो बेला के सोचे भने उहाँबाट आएर यहाँ आएर जाने नै लेख्या रैछ भन्ने अवस्थामा पुगेको हो। 

त्यस्तो अवस्थामा के सम्झनु भयो? 

पछि मैले सम्झिँदै गए। ओहो,मेरो शरीरलाई,मेरो सपनालाई, प्रोफेसनको हिसाबले काममा मेरो शरीरलाई अलिक बढि ज्यादती गरेकी भन्ने चाहिँ रियलाइज गरे। ममीले जहिल्यै पनि फोन गर्दा खाना खायौं भनेर सोध्नुहुन्थ्यो। त्यो दिन त्यतैतिर सम्झन थाले। म भित्रको इनर्जीले मात्रै बाँचेको छु। नत्र मेरो शरीरले कामै गरेको छैन। आँखाबाट आँसु बरर झरिरहेको छ,सास फेर्न सकिरहेको छैन। उकुसमुकुस भएको छ। अनि त्यस पछि भाइहरूले आधा घण्टा जति तल लगे। तल आइसकेपछि बल्ल म पुरानै अवस्थामा फर्कन लागे। अब चाहिँ बाँच्छु कि भन्ने फिल भयो। 

चरित्रमा बाँच्न पनि गाह्रो हुने रैछ है? 

गाह्रो हुन्छ।  

बाँकी कुराकानी भिडियोमा हेर्न यहाँ क्लिक गर्नुहोस

 

असार २८, २०८२ शनिबार १७:२४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।