सिमलताल बस दुर्घटनाको एक वर्ष, अझै फेला परेनन् ३९ यात्रु

सिमलताल बस दुर्घटनाको एक वर्ष, अझै फेला परेनन् ३९ यात्रु

चितवन : गत वर्ष असार २८ गते राति नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोसँगै दुईवटा बस त्रिशूली नदीमा खसेको एक वर्ष पुग्दा पनि दुर्घटनामा बेपत्ता भएका ३९ जना यात्रुको अवस्था अझै अज्ञात छ।

दुईवटै बसमा गरी कुल ६२ जना यात्रु सवार रहेका थिए। तीमध्ये तीन जनालाई जीवितै उद्धार गरिएको थियो भने २० जनाको शव फेला परेको थियो।

हराइरहेका ३९ जना यात्रुमध्ये एञ्जल्स डिलक्स बसका १६ जना (५ भारतीयसहित) र गणपति डिलक्स बसका २३ जना (१ भारतीयसहित) रहेका छन्। दुर्घटनाग्रस्त दुवै बस पनि अहिलेसम्म फेला परेका छैनन्।

बेपत्ताको खोजीका लागि नेपाली तथा विदेशी गोताखोर परिचालन गरिए पनि यात्रु तथा बसको पत्तो लाग्न सकेन। फेला परेका शवमध्ये कतिपय त्रिशूली र नारायणी नदी किनार तथा दुईवटा भारतमा भेटिएका थिए।

गृह मन्त्रालयले गठन गरेको कार्यदलले भेलबाढी र कमजोर इन्जिनियरिङसहितको सडक निर्माणलाई दुर्घटनाको मुख्य कारण किटान गरेको थियो।

कार्यदलले बेपत्ताको खोजी जारी राख्न, पीडितलाई उचित क्षतिपूर्ति दिन र भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी व्यवस्थापन गर्न सुझाव दिएको थियो।

दुर्घटना भएको एक वर्ष बित्दा पनि बेपत्ता यात्रु तथा बसको अवस्था पत्ता लाग्न नसक्दा पीडित परिवार अझै अन्योलमा छन्।

असार २८, २०८२ शनिबार १३:१८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।