डा. बुद्धिनाथको उपचार अनुभव : सुत्केरी व्यथाले छटपटाएकी युवतीलाई परिवारले पूजापाठ गर्न लान्छौँ भनेपछि...

डा. बुद्धिनाथको उपचार अनुभव : सुत्केरी व्यथाले छटपटाएकी युवतीलाई परिवारले पूजापाठ गर्न लान्छौँ भनेपछि...

जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजीपीइएम) विशेषज्ञ डा. बुद्धिनाथ साह विभिन्न किसिमका रोग तथा स्वास्थ्य समस्याहरूको उपचार गर्ने विधाका डाक्टर हुन्।

दुर्गममा बिरामीको दुःख तथा पीडा नजिकबाट नियालेका उनी हाल दुर्गम जिल्लामा नै कार्यरत छन्। उनै डा. बुद्धिनाथले चिकित्सकीय पेशाको सिलसिलामा भोगेका आरोह अवरोह उकेरासँग साटेका छन्।

सुत्केरी व्यथाले छटपटाएकी युवतीलाई पूजापाठ गर्न लान्छौँ भनेपछि...
एक जना गर्भवती युवती र गर्भको बच्चालाई बचाएको प्रसङ्ग डा. बुद्धिनाथ कहिल्यै भुल्दैनन्। प्रसङ्ग केही महिना अघिको मात्रै हो।

सुत्केरी व्यथाले छटपटाएकी करिब २१ वर्षकी युवतीलाई अस्पताल पुर्याइयो तर भोलिपल्ट पनि बच्चा जन्मन सकेन। त्यसैले प्रसव व्यथाले छटपटाएकी ती युवतीका बुवा लगायत परिवारका सदस्यले एक पटक घर लगेर ‘पूजापाठ’ गर्ने भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई डिस्चार्ज गरिदिन अनुरोध गरे।

‘घरमा पूजापाठ गरेपछि ती गर्भवती युवती सुत्केरी हुन्छिन्’ भन्ने परिवारको विश्वास रहेछ। त्यसपछि चिकित्सकको टिमले घर लाँदा हुने जोखिमका बारेमा जानकारी दिएर ती युवतीका परिवारलाई बुझायो। परिवारका सदस्यले भने घर लगेर एक पटक पूजापाठ गरेपछि सुत्केरी हुने भन्दै जिद्दी गरे।

तर, ती युवतीलाई घर लगेर पूजापाठ गर्नेतर्फ लाग्दा उपचार नपाएर आमा र गर्भको बच्चाको ज्यान उच्च जोखिममा पर्छ भन्ने विषय डा. बुद्धिनाथलाई राम्रोसँग थाहा थियो। त्यसैले ती युवती सुत्केरी नभई घर पठाउनु हुँदैन भन्ने विषयमा उनी दृढ थिए।

त्यो बेला डा. बुद्धिनाथको टिमलाई सञ्चार कौशल आवश्यक पर्यो। उनले बडो कुशलतापूर्वक सञ्चार कौशल प्रयोग गरे। घरमा लगेर पूजापाठ गरेपछि बच्चा जन्मने विश्वास गरेका ती युवतीका परिवारलाई धेरै मेहनत गरेर सम्झाएपछि मात्रै उनीहरू बल्ल अस्पतालमै राख्न सहमत भए।

सामान्य औषधि उपचारले ती युवतीको बच्चा जन्मिएन। त्यसैले चिकित्सकको टिमले ती युवतीको बच्चा जन्माउनका लागि शल्यक्रिया (सिजेरियन सेक्शन) गर्ने योजना बनायो।

अनि सबै तयारीपछि शल्यक्रिया सुरू गरियो। केही बेरको मेहनतपछि शल्यक्रिया गरी ती युवतीको गर्भको बच्चा बाहिर निकालियो। शल्यक्रिया सफल भयो। यसरी चिकित्सकको टिमले आमा र बच्चा दुवैको ज्यान बचाउन सफल भयो। सफल शल्यक्रियापछि ती युवती र नवजात शिशुलाई वार्डमा सारियो। आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो भयो।

केही दिनको अस्पताल बसाइपछि अस्पतालबाट डिस्चार्ज गरियो। पहिलो सन्तानका रूपमा जन्मिएको सन्तानलाई न्यानो काखमा च्यापेर ती युवती मुस्कुराउँदै अस्पतालबाट डिस्चार्ज भइन्। यसरी परिवारले पूजापाठपछि सुत्केरी हुने विश्वास गरेका ती युवती र उनको बच्चाको ज्यान बचाउन सकेको क्षण सम्झँदा डा. बुद्धिनाथ अझै आनन्दित हुन्छन्।

मृत्युको मुखमा पुगेकी महिलाको त्यो शल्यक्रिया
केही महिनाअघिको अर्को प्रसङ्ग पनि डा. बुद्धिनाथ कहिल्यै बिर्सँदैनन्। करिब ३२ वर्षकी गर्भवती महिलालाई अस्पताल पुर्याइयो। ती महिला दोस्रो सन्तान जन्माउने तयारीमा थिइन्।

तर, चिकित्सकले प्रसूति हुने अनुमानित मितिभन्दा २० दिन अगाडि नै ती महिलाको पेट दुख्यो। पेट दुखेर असह्य भएपछि अस्पताल पुर्याइएको थियो। उनलाई रक्तश्राव पनि भइरहेको थियो।

अस्पतालमा डा. बुद्धिनाथले महिलाको स्वास्थ्य अवस्था हेरे। भिडियो एक्स-रे गरे। भिडियो एक्स-रे गरेर हेर्दा ती महिलाको गर्भको बच्चाको मृत्यु भइसकेको थाहा भयो। उनलाई रक्तश्राव भइरहेको थियो। तुरुन्तै रगत व्यवस्थापन गरी रगत दिइयो।

अनि शल्यक्रिया कक्षमा लगेर शल्यक्रिया (सिजेरियन सेक्शन) गरियो। गर्भको मृत शिशु निकालियो र ती महिला मृत्युको मुखबाट बाँचिन्। केही दिनको अस्पताल बसाइपछि ती महिलालाई अस्पतालबाट डिस्चार्ज गरियो। बच्चा नबचे पनि आमाको ज्यान बचाउन सफल भएको त्यो घटना सम्झँदा डा. बुद्धिनाथलाई सन्तोष लाग्छ।

सबै रोगको उपचार गर्ने डाक्टर
धनुषाको जनकपुरमा जन्मिएका डा. बुद्धिनाथले स्थानीय विद्यालयमा सात कक्षासम्म पढे। उनका बुवा सरकारी विद्यालयका शिक्षक हुन्। त्यसैले पढाइलेखाइका लागि उनको घरको वातावरण राम्रो थियो नै।

गाउँमा सात कक्षासम्म पढेपछि उनी थप अध्ययनका लागि काठमाडौं आए। ललितपुरको मानभवनस्थित आदर्श विद्या मन्दिर हाइयर सेकेन्डरी स्कुलबाट २०६२ मा एसएलसी गरे। उनले त्यहीँबाट प्लसटु गरे।

सुरूमा त उनलाई कुन विषय पढ्ने भन्ने अलमल थियो। तर, बिरामीलाई उपचार गरेर बचाउन सकिने विषय भएकाले उनलाई डाक्टरी विषय नै अध्ययन गर्न मन लाग्यो। त्यसैले डा. बुद्धिनाथले यही विषयको अध्ययनका लागि तयारी गरे। डाक्टरी विषयकै अध्ययनका लागि छनोट परीक्षा दिए। परीक्षामा छनोट पनि भए।

छनोट परीक्षामा सफल भएर काठमाडौं विश्वविद्यालयको ‘स्कुल अफ मेडिकल साइन्सेस’मा भर्ना भई सन् २०११ मा एमबीबीएस अध्ययन सुरू गरे। उनले इन्टर्नशिपसहित सन् २०१७ सम्ममा एमबीबीएस अध्ययन पुरा गरे। त्यसपछि उनले धुलिखेल अस्पतालको नाक, कान घाँटी विभागमा करार मेडिकल अधिकृतका रूपमा करिब डेढ वर्ष काम गरे।

केही वर्ष यसरी अस्पतालमा काम गरेर अनुभव लिएपछि उनले थप अध्ययन गर्ने निर्णय गरे। डा. बुद्धिनाथले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्रको स्नातकोत्तर तह अध्ययनका लागि सन् २०२१ मा भर्ना भए। उनको छनोटको विषय चाहिँ विशेषगरी दुर्गमका गाउँमा गएर उपचार गर्ने किसिमको रह्यो।

डा. बुद्धिनाथले चिकित्साशास्त्रको स्नातकोत्तर तहमा ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजीपीईएम)’ विषय छनोट गरी अध्ययन गरे। यही विषय अध्ययन गरे। ‘फ्यामिली मेडिसिन’का नामले पनि चिनिने यो विधाले सामान्यदेखि आकस्मिक अवस्थासम्मका बिरामीको प्राथमिक उपचार र व्यवस्थापनजस्ता विषयलाई नै प्राथमिकता दिन्छ।

डा. बुद्धिनाथले सरकारी छात्रवृत्ति कोटामा एमडीजीपीईएम अध्ययन गरे। त्यसैले छात्रवृत्ति कोटामा अध्ययन गरेबापत दुई वर्ष दुर्गमका गाउँमा गएर काम गर्नुपर्ने हुन्छ। एमडीजीपीईएम अध्ययनपछि छात्रवृत्ति करार अन्तर्गत काम गर्नका लागि पछिल्ला सात महिनायता उनी कर्णाली प्रदेशको सल्यान जिल्ला अस्पतालमा छन्।

सल्यान पुगेयता, उनी लगायतको टिमले सुत्केरी व्यथाले छटपटाएका करिब ५० जना महिलाको सिजेरियन सेक्शन गरी आमा र बच्चा दुवैको ज्यान बचाउन सफल भएको अनुभव डा. बुद्धिनाथ सुनाउँछन्।

जिल्लामा भिडियो एक्स-रे गर्ने, बिरामीको शल्यक्रिया गर्ने लगायतका काम भइरहेको उनले बताए। रक्तसञ्चार केन्द्र (ब्लड बैंक) लगायतका सुविधा नहुँदा शल्यक्रिया लगायत उपचारका लागि ठूलो चुनौती हुने गरेको अनुभव उनले सुनाए।

विभिन्न किसिमका रोगको उपचारमा सक्षम एमडीजीपीईएम चिकित्सकहरूलाई दुर्गमका गाउँगाउँमा पुर्याउन सके नेपालका दुर्गम क्षेत्रका धेरै बिरामीले उपचार सुविधा प्राप्त गर्ने डा. बुद्धिनाथको तर्क छ।

असार २८, २०८२ शनिबार १२:१५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।