इरानले १६ दिनमा ५ लाखभन्दा बढी अफगानी नागरिक निकाल्यो

एजेन्सी : इरानले पछिल्लो १६ दिनको अवधिमा ५ लाखभन्दा बढी अफगानी नागरिकलाई आफ्नो देशबाट निष्कासन गरेको छ। यो कारबाही २४ जुनदेखि ९ जुलाई बीचमा भएको हो। यसको अर्थ औसतमा हरेक दिन ३० हजारभन्दा बढी अफगानीहरूलाई देश छोड्न बाध्य पारिएको थियो।
संयुक्त राष्ट्रसंघले यसलाई दशककै सबैभन्दा ठूलो निष्कासन भनेको छ। इजरायलसँगको तनावपूर्ण द्वन्द्वपछि आन्तरिक सुरक्षालाई कारण देखाउँदै इरानले आप्रवासीहरू विरुद्ध कडा कारबाही गरिरहेको छ।
इरानले यसअघि मार्च २०२५ मा नै अवैध अफगानी आप्रवासीहरूलाई जुलाई ६ सम्ममा देश छोड्न अल्टिमेटम दिएको थियो। निर्धारित समयमा नछोडे जबरजस्ती निष्कासन गरिने चेतावनी दिइएको थियो। तर, जुनमा इरान र इजरायलबीच १२ दिन लामो सैन्य द्वन्द्व भएपछि यो निष्कासन अभियानले तीव्रता पाएको हो।
निष्कासित अफगानी नागरिकहरूले इरानी अधिकारीहरूबाट दुर्व्यवहार भएको बताएका छन्। इरानबाट निर्वासित गरिएका बशीर नामका एक अफगानीले मिडियासँग कुरा गर्दै अधिकारीहरूले उनीसँग १७ हजार रुपैयाँ मागेको बताए। उनलाई दुई दिनसम्म हिरासत केन्द्रमा राखिएको र सो अवधिमा खाना वा पानी नदिएको तथा दुर्व्यवहार गरेको उनको भनाइ छ।
अर्का एक युवाले आफ्ना बुबालाई जासुसीको आरोपमा पक्राउ गरी हातहतियारले बाँधिएको र खानापानी नदिइएको बताए। पछि उनलाई हिरासतमा राखेर अफगानिस्तान पठाइएको ती युवाले जानकारी दिए।
द गार्जियनसँग कुरा गर्दै एक अफगानी महिलाले इरानी अधिकारीहरू रातको समयमा आएको र उनीहरूलाई बच्चाहरूको लुगा पनि लिन नदिएको बताइन्। बाटोमा बैंक कार्डबाट पैसा निकालिदिएको र पानीको बोतलको ८० तथा स्यान्डविचको १७० रुपैयाँ लिएको उनको अनुभव छ।
‘उनीहरूले हामीलाई फोहोर जस्तै फ्याँकिदिए’, उनले भनिन्।
इरानबाट निष्कासित गरिएकामध्ये सयौं नाबालिग बालबालिकाहरू छन्, जसमध्ये धेरै टुहुरा र अनाथ छन्। संयुक्त राष्ट्रसंघका अनुसार, हरेक हप्ता सीमा क्षेत्रमा सयौं बालबालिका आफ्ना अभिभावक बिना नै भेटिन्छन्। संयुक्त राष्ट्रसंघका अधिकारी मिह्योङ पार्कले सीएनएनलाई बताउँदै यो संख्या अत्यन्तै चिन्ताजनक र स्तब्ध पार्ने खालको रहेको उल्लेख गरिन्।
यसैबीच, इरानले केही अफगानीहरू इजरायलका लागि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाएको छ। इरानको सरकारी टेलिभिजन च्यानलमा एक अफगानी नागरिकलाई इजरायलका लागि जासुसी गरेको स्वीकार गर्दै देखाइएको थियो।
ती व्यक्तिले जर्मनीमा बस्ने एक अफगानीले आफूलाई केही ठाउँहरूको जानकारी दिन भनेर २ हजार डलर दिएको बताएका थिए। यद्यपि, ती व्यक्ति को हुन्, आरोपको ठोस प्रमाण के छ र पक्राउ तथा सोधपुछको प्रक्रिया के थियो भन्नेबारे विस्तृत जानकारी दिइएको छैन।
अफगानिस्तानका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि रिचर्ड बेनेटले सामाजिक सञ्जाल एक्समा लेख्दै सयौं अफगानीहरूलाई जासूस भन्दै पक्राउ गरिएको र इरानी मिडियामा उनीहरूलाई ‘देशद्रोही’ र ‘कीरा’ को रूपमा चित्रण गरिएको बताएका छन्।
असार २८, २०८२ शनिबार ११:२१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।