१९ सय मिटरमा उचाइमा क्रिकेट रंगशाला बन्दै

१९ सय मिटरमा उचाइमा क्रिकेट रंगशाला बन्दै

वालिङ : क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा १९ सय मिटरको उचाइमा क्रिकेट रङ्गशाला निर्माण सुरू भएको छ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-५ थाप्लेमा गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण सुरू भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए। लामिछाने यही गाउँपालिकामा जन्मिएका हुन्।

डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी चालु आर्थिक वर्ष २०८१/८२ देखि काम सुरू गरिएको उनले बताए।

उनले भने, ‘चालु आवदेखि गाउँपालिकाको लागत तथा स्थानीयहरूको जनश्रमदानमा रङ्गशाला बनाउन सुरू गरेका हौँ। अहिले मैदान बनाउने ठाउँलाई सम्याउने काम भएको छ, वर्षा लागेकाले तत्काललाई काम रोकेका छौँ, वर्षा सकिएपश्चात् कामलाई तीव्र गतिमा अगाडि बढाएर सम्पन्न गर्छौं।’

समुद्री सतहदेखि १९०७ मिटरको उचाइमा रहेको यो ठाउँमा निर्माणाधीन मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिइएको छ। मैदान बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ र राष्ट्रियस्तरको मैदानका लागि आवश्यक पर्ने मापदण्डलाई पूरा हुने गरी निर्माण भइरहेको अध्यक्ष तिवारीले बताए।

मैदानमा पीच बनाउनका लागि क्रिकेटसँग सरोकार राख्ने जिल्ला, प्रदेश तथा केन्द्रीय नेतृत्वकर्ता, अनुभवीहरूको परामर्शमा काम भइरहेको छ।

‘क्रिकेट मैदान निर्माणाधीनस्थलबाट झण्डै आधा घण्टाको दूरीमा दक्षिण एसियाकै पहिलो सामुदायिक घरबास (होमस्टे)को रूपमा पहिचान बनाएको सिरुबारी गाउँ रहेको छ,’ गाउँपालिकाका अध्यक्ष तिवारीले भने, ‘यस क्षेत्रमा क्रिकेट र पर्यटनलाई सँगसँगै जोडेर अगाडि लैजान सकिने देखिएको छ।’

क्रिकेट मैदान निर्माण सम्पन्न भएसँगै यस ठाउँमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने तयारी छ। पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गइरहेको क्रिकेट खेलमार्फत नयाँ नयाँ प्रतिभाको खोजी गर्दै प्रतिभा बाहिर ल्याउन सहयोग पुग्ने धारणा गाउँपालिकाको छ। अध्यक्ष तिवारीका अनुसार अभ्यासका लागि छुट्टै ठाउँ समेत बनाइने छ।

असार २८, २०८२ शनिबार १०:०३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।