सिद्धबाबा सुरुङ बाहिर पहिरो नियन्त्रणका लागि ‘स्लोप स्टेबलाइजेशन’ र ‘रक ब्यारिएर’ प्रविधि प्रयोग, ५७ प्रतिशत प्रगति

सिद्धबाबा सुरुङ बाहिर पहिरो नियन्त्रणका लागि ‘स्लोप स्टेबलाइजेशन’ र ‘रक ब्यारिएर’ प्रविधि प्रयोग, ५७ प्रतिशत प्रगति

बुटवल : बुटवल-तानसेन सडक खण्डको अत्यन्त जोखिमपूर्ण मानिने सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङ मार्गसँगै पहिरो तथा ढुंगा खस्ने क्रमलाई रोक्नका लागि अन्य सुरक्षात्मक कार्यहरू पनि तीव्र गतिमा भइरहेका छन्।

पाल्पाको सिद्धबाबा मन्दिरदेखि हेडबक्ससम्म सुरुङ मार्ग निर्माण भइरहेको भएपनि त्यसभन्दा बाहिरका जोखिमयुक्त स्थानमा स्लोप स्टेबलाइजेशन (भिरालो भागलाई स्थिर गर्ने) र रक ब्यारिएर (ढुंगा रोक्ने बार) निर्माणको काम धमाधम भइरहेको हो।

सुरुङको बाहिरी खण्डमा रकसेड (ढुंगा खस्नबाट जोगाउने छत), रक फल ब्यारियर (ढुंगा रोक्ने संरचना) र स्लोप प्रोटेक्सन (भिरालो भागको सुरक्षा) जस्ता कामहरू भइरहेको आयोजनाले जनाएको छ।

सुरुङको उत्तरी मुख नजिकै एक हजार १ सय वर्गमिटर र दक्षिणी मुखतर्फ २ हजार ३ सय वर्गमिटर क्षेत्रमा स्लोप निर्माण हुनेछ। यस्तै, तिनाउ नदीतर्फ पनि ८६० वर्गमिटरमा स्लोप निर्माणको काम भइरहेको छ।

सुरुङ मार्ग निर्माणको प्याकेजमै समावेश गरिएको स्लोप स्टेबलाइजेशन र रक ब्यारिएर अहिले हेडबक्सभन्दा माथिको क्षेत्रमा काम भइरहेको छ। यो विधि प्रयोग गरेर जोखिम क्षेत्रमा रहेका खुकुला ढुंगाहरू हटाई र बलियो तारजाली प्रयोग गरेर सम्भावित पहिरो तथा ढुंगा खस्ने क्रमलाई नियन्त्रण गरिने आयोजनाले जनाएको छ।

स्लोप स्टेबलाइजेशन र रक ब्यारिएर विश्वका यस्ता जोखिमयुक्त सडकमा सफल प्रयोग भएको विधि हो। यो विधिबाट सडकको माथि भिरालो भागमा झुण्डिएर वा खस्न सक्ने अवस्थामा रहेका ढुंगाहरूलाई सुरूमा हटाइनेछ। त्यसपछि बाँकी ढुंगाहरूमा नटबोल्टले कसेर बलियो तारजाली बिछ्याइने छ। त्यो तारजालीले तीव्र गतिमा खस्न सक्ने जोखिमका ढुंगालाई त्यहीँ रोक्ने छ भने, रोक्न नसके पनि तिनीहरूको गति कम गर्नेछ।

सिद्धबाबा सुरुङ मार्ग आयोजनाका कार्यालय प्रमुख ईन्जिनियर कृष्णराज अधिकारीले यसरी लगाइने तारजालीले पाँच हजार किलोग्रामसम्मका ढुंगालाई थाम्न सक्ने बताए।

‘यो प्रविधि धेरै देशमा प्रयोगमा आएको छ। हामीले पनि प्रयोग गर्दै छौँ। यो निकै सफल छ,’ उनले भने।

हेडबक्स माथि काम जारी भएपनि तल्लो सिद्धबाबादेखि माथिल्लो सिद्धबाबा मन्दिरसम्मको क्षेत्रमा भने वर्षा सकिएलगत्तै काम सुरु गरिने उनको भनाइ छ।

‘माथिल्लो सिद्धबाबा मन्दिर संग सटेको स्थानमा तयार भइसकेको छ। अरु काम वर्षा सकिएपछि सुरु हुन्छ,’ उनले भने।

वि.सं. २०८३ सालभित्रै सम्पन्न गर्ने गरी यो काम थालिएको उनले बताए।

‘१३ सय मिटरको सुरुङले मात्र यो खण्डको सम्पूर्ण जोखिम कम नगर्ने भएकाले सुरुङको दुवैतर्फका अन्य जोखिमयुक्त खण्डमा समेत सडकलाई सुरक्षित बनाउन यो विधि अपनाइने छ,’ उनले भने।

सुरुङमार्गको दुवैतर्फको मोहोडामा पर्ने करिब ३ किलोमिटर सडकलाई यो प्रविधि अपनाई सुरक्षित गरिने सम्झौतामा उल्लेख भए अनुसार नै अहिले काम धमाधम भइरहेको उनले बताए।

सुरुङ मार्ग निर्माणमा तीव्रता
सिद्धबाबा सुरुङ मार्गको मुख्य निर्माण कार्य पनि अहिले तीव्र गतिमा अघि बढेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन एक हजार १२६ मिटर लामो सुरुङमार्गको समग्र कार्य प्रगति ५७ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५१ प्रतिशत रहेको छ।

अहिले मुख्य टनेलको भुइँ भागको ढलान (इन्भर्ट) को काम सकिएको छ भने मुख्य टनेलकै भित्री पर्खालमा गरिने संरचनात्मक लेपन (लाइनिङ) को काम धमाधम भइरहेको छ। आयोजना प्रमुख अधिकारीका अनुसार लाइनिङको काम ८ सय ५० मिटर सकिएको छ। अझै २७६ मिटर लाइनिङको काम बाँकी छ।

उनले अहिले बाइपास १ मा ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको छ भने बाइपास ३ मा ‘इन्भर्ट’ को काम सुरू भएको छ। सुरुङमार्गमा सबैभन्दा तलको भाग जहाँ पानी बग्ने वा ढल बग्ने व्यवस्था गरिएको हुन्छ, त्यसलाई इन्भर्ट भनिन्छ।

सुरुङ मार्गमा ३ वटा बाइपास छन्। तीमध्ये बाइपास २ को इन्भर्ट र लाइनिङ दुवैको काम अझै सुरु भएको छैन। बाइपास १ मा १४५ मिटरमा इन्भर्ट र लाइनिङको काम सकिएको छ। बाइपास ३ मा इन्भर्टको १२५ मिटर र लाइनिङको ३५ मिटर काम भइसकेको छ। बाइपास एक १५५, बाइपास दुई १४५ र बाइपास तीन १३१ मिटरका छन्।

यी तीनवटै बाइपासको ब्रेकथ्रु यसअघि नै भइसकेको छ। सुरुङमार्गभित्र कुनै समस्या भए ती बाइपासबाट बाहिर निस्कन सकिनेछ।

आयोजना प्रमुख अधिकारीले काम द्रुत गतिमा भएपनि सुरुङ मार्गबाट सवारी साधन सञ्चालनका लागि अझै छ देखि सात महिना लाग्न सक्ने बताए। उनले इन्भर्ट र लाइनिङको काम सम्पन्न भएपछि विद्युतीकरण, सुरक्षा व्यवस्था, आगलागी नियन्त्रण यन्त्र जडान लगायतका अन्तिम चरणका कामहरू गरिने जानकारी दिए।

सुरुङ मार्ग निर्माणका लागि २०७८ फागुनमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सम्झौता अनुसार सुरुङको उत्तरी र दक्षिणी प्रवेशद्वारमा प्राविधिक भवन र आकस्मिक हेलिप्याड पनि निर्माण हुनेछ। निर्माण सम्पन्न भएपछिका पाँच वर्षसम्म मर्मत सम्भारको जिम्मेवारी ठेकेदार कम्पनीकै रहनेछ। सुरुङमार्गको दक्षिणतर्फ चिडिया खोलासम्म ९१० मिटर र उत्तरतर्फ दोभानसम्म ५६० मिटर सडकलाई दुई लेनको बनाउने काम पनि सम्झौतामा उल्लेख छ।

सिद्धबाबा सुरुङले सहज हुनेछ यात्रा
सिद्धार्थ राजमार्ग रुपन्देहीको बेलहिया नाकादेखि कास्कीको पोखरासम्म १८१ किलोमिटर लामो छ। तराइलाई पहाडसँग जोड्ने यो महत्वपूर्ण राजमार्ग ५३ वर्षअघि सञ्चालनमा आएको हो। यस मार्ग हुँदै पाल्पा, गुल्मी, बाग्लुङ, स्याङजा, पर्वत लगायतका विभिन्न जिल्लाहरूमा पुग्न सकिन्छ। दैनिक हजारौँ सवारी साधन यो बाटो भएर आवतजावत गर्ने गर्छन्।

यही राजमार्गको बुटवलस्थित तल्लो सिद्धबाबादेखि पाल्पाको माथिल्लो सिद्धबाबा हुँदै दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्र पहिरोको अति जोखिमयुक्त क्षेत्र हो। जहाँ पहिरोसँगै वर्षामा ठाउँ-ठाउँमा सडक भासिइरहन्छ।

तीमध्ये माथिल्लो सिद्धबाबादेखि हेडबक्ससम्मको खण्डमा सुरुङ मार्ग निर्माणाधीन अवस्थामा छ। सुरुङ मार्ग र यससँगै भइरहेका सुरक्षात्मक कार्यहरू सम्पन्न भएपछि यस जोखिमपूर्ण खण्डमा यात्रा निकै सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

असार २८, २०८२ शनिबार ०९:५०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।