बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप शनिबार बिहान दुर्घटनामा परेको थियो।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा डिलासैनी गाउँपालिका-१ का चालक २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

जीपमा सवार अन्य छ जना घाइते भएका छन्। घाइते हुनेहरूमा डिलासैनी-१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी रहेका प्रहरी निरीक्षक पाण्डेयले बताए।

उनका अनुसार घाइतेमध्ये राजेन्द्र र कमलालाई थप उपचारका लागि धनगढी पठाइएको छ।

दुर्घटना शनिबार बिहान करिब ५ः३० बजे बैतडीको पाटन-६ स्थित खिपालीमा भएको हो। दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए।

जीप सडकबाट करिब १०० मिटर तल भिरमा अड्किएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असार २८, २०८२ शनिबार ०८:५४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।