साफ यू-२० महिला च्याम्पियनसिप : पूर्णिमा राईको ह्याट्रिकमा भुटानमाथि नेपालको सानदार जित

काठमाडौं : पूर्णिमा राईको चार गोलसहितको ह्याट्रिकमा नेपालले साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा सानदार सुरुवात गरेको गरेको छ। ढाकास्थित बसुन्धरा किङ्स एरेनामा आज भएको खेलमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले हराउँदै तीन अंक जोडेको हो।
नेपालको जितमा पूर्णिमाले चार गोल गर्दा सेनु परियारले दुई गोल गरिन्। भुटानका लागि केल्देन वाङ्गमोले एक सान्त्वना गोल फर्काइन्।
खेलको नवौँ मिनेटमै सेनुले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। त्यसपछि १८औँ मिनेटमा पूर्णिमाले अर्को गोल गर्दै अग्रता दोब्बर बनाइन्। पहिलो हाफको अन्त्यतिर ४५औँ मिनेटमा सेनुले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाइन्।
दोस्रो हाफमा केही क्षणका लागि भुटान खेलमा फर्कने संकेत देखायो। खेलको ५४औँ मिनेटमा केल्देनले गोल गर्दै ३–१ को अवस्था बनाइन्। तर त्यसपछि पूर्णिमाले आफ्नो प्रभावशाली खेल प्रदर्शनलाई जारी राखिन्। ६३औँ मिनेटमा उनले गोल गर्दै ४-१ को अग्रता दिलाइन्। ८४ औँ मिनेटमा ह्याट्रिक पूरा गरेकी पूर्णिमाले ८८ औँ मिनेटमा चौथो गोल गर्दै नेपालको जित सुनिश्चित गरिन्।
प्रतियोगिताको अर्को खेलमा आयोजक बङ्गलादेशले श्रीलङ्कालाई ९–० ले हराउँदै जित हात पारेको छ।
असार २७, २०८२ शुक्रबार २२:३९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।