स्पेनमा अत्यधिक गर्मी र डढेलोको जोखिम बढ्दो

स्पेनमा अत्यधिक गर्मी र डढेलोको जोखिम बढ्दो

काठमाडौं : स्पेनमा डढेलो, आँधी, बाढी र अत्यधिक गर्मीको जस्तो चरम मौसमको असर तीव्र रूपमा देखिन थालेको छ। यसले जनस्वास्थ्यदेखि वातावरणसम्म गहिरो प्रभाव पारिरहेको भन्दै विज्ञहरूले सतर्क रहन सबैलाई आग्रह गरेका छन्।

बार्सिलोना विश्वविद्यालयका भौतिक भूगोलका प्राध्यापक खाभिए मार्टिन-भिदे भन्छन्, ‘स्पेनी जनताले अहिलेको बिग्रँदो मौसम अवस्थासँग जुध्न मनोबल र तयारी दुवै चाहिन्छ।’

जुन महिनाको अन्त्यदेखि जुलाईको सुरुमा देशभरि तापक्रम ४२ डिग्रीसम्म पुग्यो। यसै साता स्पेनको मौसम विभागले विभिन्न क्षेत्रमा डुबान, आँधी र हावाहुरीको चेतावनी जारी गरेको छ। विशेष गरी कातालोनिया क्षेत्रमा गर्मीका कारण डढेलो फैलिने क्रम तीव्र बन्दै गएको छ।

एक साताअघि मात्रै उत्तरपूर्वी कातालोनियामा ३,३०० हेक्टर जमिन जलेको थियो भने केही दिनअघि सोही क्षेत्रमा ६,००० हेक्टर जमिन-जसमध्ये धेरैजसो खेतीयोग्य थिए-आगोले नष्ट गर्यो। ‘अत्यधिक तापक्रममा डढेलो सजिलै फैलिन्छ,’ प्राध्यापक भन्छन्, ‘गर्मी यस्तै रहेमा यस्ता दृश्य फेरि-फेरि दोहोरिन सक्छन्।’

उनले यस्तो अवस्था अब असामान्य नभएर सामान्यजस्तै हुँदै गएको बताए। ‘डढेलो, डुबान, आँधी र हावाहुरीजस्ता घटना अब प्रत्येक वर्ष झनै नियमितजस्तो देखिन सक्छन्।’

प्राध्यापक भिदेले भविष्यको जलवायु प्रवृत्तिबारे अध्ययनले गम्भीर संकेत दिएको पनि बताए। ‘तापक्रम अझै बढ्नेछ,’ उनले भने, ‘गर्मी छिटो सुरु हुने, बढी दिनसम्म चल्ने र झन् तीव्र हुने सम्भावना छ।’

उनले वृद्ध जनसंख्याका लागि यस्ता गर्मी लहर झनै खतरनाक हुने बताए। स्पेनको स्वास्थ्य मन्त्रालयका तथ्यांकअनुसार, गएको गर्मीमा गर्मीजन्य स्वास्थ्य समस्याका कारण दुई हजार २० जनाको मृत्यु भयो, जसको ९० प्रतिशत ७५ वर्षभन्दा माथिका थिए।

डढेलो, बाढी, आँधी र गर्मीका कारण स्पेनमा जलवायु संकट गहिरिँदै गएको छ। यस्ता चरम मौसम अब अपवाद नभएर नियमित खालका बन्ने संकेत देखिएका छन्। त्यसैले सर्वसाधारणदेखि सरकारसम्म सबैलाई जलवायु जोखिमप्रति सचेत भई समयमै तयारी गर्न विज्ञहरूको सुझाव छ।

असार २७, २०८२ शुक्रबार २१:२७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।