अपडेट: रसुवा बाढीमा मृतकको संख्या ११ पुग्यो, ८ सय ६२ जनाको सकुशल उद्धार

अपडेट: रसुवा बाढीमा मृतकको संख्या ११ पुग्यो, ८ सय ६२ जनाको सकुशल उद्धार

काठमाडौं : रसुवामा मङ्गलबार आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार, त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा थप दुई शव फेला परेपछि मृतक संख्या ११ पुगेको हो।

यसअघि ९ जनाको मृत्यु पुष्टि भएको थियो। हालसम्म ८६२ जनालाई बाढीबाट सुरक्षितरूपमा उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये कोही बाढीमा अलपत्र परेका थिए भने कोही बाटो अवरुद्ध हुँदा रोकिएका थिए। उनीहरूलाई सुरक्षित गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

डीआईजी घिमिरेका अनुसार अहिलेसम्म एक जनाको मात्र सनाखत भएको छ। जसमा प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ रहेका छन्। उनको अन्त्येष्टि गरिएको छ। अन्य शवहरूको सनाखत अझै हुन सकेको छैन। केही शवहरू चिन्न नसकिने अवस्थामा फेला परेका छन् भने कतिपय अवस्थामा मानव अङ्ग मात्र भेटिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार अझै १९ जना बेपत्ता छन्। खोजी तथा उद्धार कार्यमा एक हजार ३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालित छन्। बेपत्ताहरूको खोजी कार्य जारी नै छ।

मंगलबारको बाढीले नेपाल-चीन सीमा जोड्ने मितेरी पुल समेत बगाएको छ। साथै २४ वटा कन्टेनर, छ वटा ट्रक र ४२ वटा विद्युतीय सवारीसाधन (ईभी) बगाएको प्रारम्भिक विवरण आएको छ। धुन्चे-टिमुरे सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने रसुवागढी जलविद्युत आयोजनाको ड्याम तथा भन्सार कार्यालयको यार्डमा पनि ठूलो क्षति पुगेको छ।

जल तथा मौसम विज्ञान विभागले बाढीको कारण माथिल्लो जलाधार क्षेत्रमा रहेको हिमताल विस्फोट भएको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। थप अध्ययन भइरहेको विभागले जनाएको छ।

असार २७, २०८२ शुक्रबार २०:५०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।