नवलपरासी कांग्रेसमा गुटको लफडा : विक्रमलाई कारबाही गरिएको बदलामा कँडेललाई पार्टीबाट निष्कासन

नवलपरासी कांग्रेसमा गुटको लफडा : विक्रमलाई कारबाही गरिएको बदलामा कँडेललाई पार्टीबाट निष्कासन

बुटवल : नेपाली कांग्रेसका २३ जना नेतामाथि कारबाही भएपछि अहिले कांग्रेस संस्थापन इतर पक्षको केन्द्रदेखि जिल्लासम्म खैलाबैला मच्चिएको छ। 

अनुशासन समितिले गरेको कारबाहीप्रति नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बिहीबार बसेको बैठकले पार्टी संस्थापनले गरेको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण रहेको निष्कर्षसहित प्रतिवाद गर्ने निर्णय गरेको छ। कारबाही गरिएका मध्ये कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालमाथि भएको कारबाहीको विषयले त केन्द्रीय समितिको बैठकमा नेताहरू बीच आरोप प्रत्यारोपसमेत चलेको छ।

उजुरी परेको ६ महिनाभित्र कारबाहीको निर्णय गरिसक्नु पर्नेमा चुनाव सकिएको साढे दुई वर्षपछि गरिएको कारबाही पार्टी विधानले गरेको भावना र नियमावली विपरीत रहेको भन्दै शेखर कोइराला पक्षले अनुशासन समितिको निर्णयविरुद्ध प्रतिवाद गर्ने निर्णय गरेको हो। यही निर्णयलाई पछ्याउँदै नवलपरासी नेपाली कांग्रेसले पनि त्यसकाविरुद्ध प्रतिवाद गर्ने जनाएको छ।

जिल्लामा संविधान सभा सदस्य समेत रहनु भएका विक्रम खनाल र पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको गुट छ। पछिल्लो समय लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालमाथि कारबाही भएपछि दुई गुटको विवाद उत्सर्गमा पुगेको छ। 
खनाललाई एक वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि कांग्रेस नवलपरासीले यसको अगुवाइ गरेका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ।

विक्रम खनालमाथि भएको कारबाही नसच्चिए प्रतिवाद गर्ने नवलपरासी कांग्रेस जिल्ला समिति, संस्थापन इतर पक्षका जिल्लाका भातृ संगठनका पदाधिकारी, जनप्रतिनिधि र कार्यकर्ताहरूले खबरदारी गरेका छन्। जिल्ला कार्यसमितिका कार्यवाहक सभापति विक्रम यादवले केन्द्रीय सदस्य कँडेललाई ५ वर्षको लागि निष्कासन गरिएको जानकारी दिए। 
जिल्ला अनुशासन समितिले वैशाख २९ गते कँडेललाई कारबाही गरेको भए पनि बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त कारबाहीलाई अनुमोदन गरेको उनको भनाइ छ।

महामन्त्री खनालमाथि नवलपरासी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीलाई हराउन अभिव्यक्ति र भूमिका खेलेको भन्दै २०७९ सालमा परेको उजुरीका आधारमा अहिले साढे दुई वर्षपछि कारबाही गरिएको हो।

कँडेलमाथि स्थानीय चुनावमा सरावल गाउँपालिकामा पार्टीका उमेदवारलाई हटाउन विज्ञप्ति निकालेको, अन्य पालिकाका प्रमुखलाई हराउन समेत भूमिका खेलेको र जिल्ला समन्वय समितिमा बहुमत हुँदा हुँदै अर्कै दलका उमेदवारलाई जिताउन भूमिका खेलेको आरोपमा छ। सोही आरोपको उजुरीका आधारमा कंँडेललाई विधानको धारा ३४ को उपधारा ४ ख मा भएको व्यवस्था उल्लेख गर्दै ५ वर्षका लागि कारबाही गरेको नेपाली कांग्रेस नवलपरासीका प्रवक्ता राधेश्याम पाठकले जानाकारी दिए।

पार्टी संगठनमा अझ सशक्त भएर लाग्छु : खनाल

पार्टीको कारबाही बाट निष्कासित भएका विक्रम खनालले पार्टी संगठनमा अझ सशक्त भएर लाग्ने बताए। आफूमाथि भएको कारबाहीप्रति चिन्ता व्यक्त गर्दै खनालले पैसा र डनवाद शैलीमा दबाब दिएर गरेको कारबाहीले आफ्नो १३ वर्ष उमेर देखि लागेको राजनीतिलाई कुनै असर नपर्ने बताए। 

नवलपरासीका दुई वटै निर्वाचन क्षेत्र नेपाली कांग्रेसको पकड क्षेत्र मानिन्छ। तर हरेक चुनावमा गुटका कारण एक अर्कालाई असहयोग गर्दा नवलपरासी कांग्रेसले अपेक्षाकृत नतिजा हासिल गर्न सकेको छैन। पछिल्लो समय फेरि चर्केको यो गुटको लडाइँले आगामी निर्वाचनलाई समेत प्रत्यक्ष असर पार्ने भन्दै कांग्रेसका कार्यकर्ताहरू चिन्तित बन्न थालेका छन्।

असार २७, २०८२ शुक्रबार २०:१९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।