आलमका छोरा भन्छन्- एमालेले बुवाविरुद्ध झुटा मुद्दा चलायो, गौरीशंकरलाई बनावटी पात्र बनाइयो

आलमका छोरा भन्छन्- एमालेले बुवाविरुद्ध झुटा मुद्दा चलायो, गौरीशंकरलाई बनावटी पात्र बनाइयो

काठमाडौं : पूर्वमन्त्री अफताब आलमका छोरा, नेपाली कांग्रेसका नेता तथा राजपुर नगरपालिका मेयर डा. मोहम्मद राजिक आलमले आफ्ना बाबुविरुद्ध झुठा मुद्दा चलाइएको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यो सबै षड्यन्त्र तत्कालीन एमाले उम्मेदवार शैलेन्द्र साहको योजनाअनुसार भएको आरोप लगाए।

डा. आलमले २०६४ सालको निर्वाचनमा शैलेन्द्र साहसँग चुनावी प्रतिस्पर्धा हुँदा साहले हारको रिसमा झुठा अभियोग लगाएको बताए। उनले भने, ‘बम विस्फोट नै भएको थिएन, घटना नै घटेको थिएन। वैशाख ३० गते भनिएको घटनाको एक महिना अगाडि नै शैलेन्द्र साहले निर्वाचन अधिकृतलाई निवेदन दिएर मेरो बाबुमाथि आरोप लगाउन थाल्नुभएको थियो। चुनावमा धाँधली गर्छन्, बुथ कब्जा गर्छन् भनेर निवेदन दिएका उहाँ नै पछि सीडिओ अफिस पुगेर ‘बम पड्किएको’ भनी मुद्दा सुरू गराउनुभयो।’

डा. आलमले मुद्दामा प्रयोग गरिएको गौरीशंकर राम चमार नामक व्यक्तिलाई बनावटी पात्र बनाई जबरजस्ती थुनिएको आरोप पनि लगाए। उनका अनुसार प्रहरी र केही दलका कार्यकर्ताले गौरीशंकरलाई एक वर्षसम्म थुनामा राखेर जबरजस्ती बयान दिलाइएको थियो।

अधिवक्ता सञ्जिवकुमार मल्लिकले पनि गौरीशंकरको २०६८ सालको बयान उद्धृत गर्दै भने, ‘गौरीशंकरले अदालतमै आफैंले बयान दिएका छन् कि मेरो अनुहारको खत स्टोभ पड्केर भएको हो। मलाई जबरजस्ती ल्याएर कागजमा साइन गराइएको हो।’

असार २७, २०८२ शुक्रबार १८:१९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।