बालुवाटारमा नेविसंघको प्रदर्शन, सात विद्यार्थी नेता पक्राउ

काठमाडौं : नेपाल विद्यार्थी संघ काठमाडौं कार्यसमितिले शुक्रबार राजधानीको बालुवाटारमा आयोजना गरेको विरोध प्रदर्शनमा सात जना विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं अध्यक्ष अंशुल केसी, सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ, कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ, चन्द्रागिरी उपाध्यक्ष रोहन देशार, त्रिचन्द्र क्याम्पसका सतिश यादव र काठमाडौं सहसचिव प्रस्ताव केसी छन्।
नेविसंघले विद्यालय तहमा दोहोरो भर्ना बन्द गर्नुपर्ने, छात्रवृत्तिको वितरण पारदर्शी र न्यायसंगत हुनुपर्ने, शिक्षक नियुक्ति प्रतिस्पर्धात्मक बनाउनुपर्ने, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने र विश्वविद्यालयहरूमा योग्यताका आधारमा मात्र नियुक्ति गर्नुपर्ने मागसहित प्रदर्शन गरेको थियो।
प्रदर्शनका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ताहरूको तत्काल रिहाइको माग नेविसंघले गरेको छ। संघका केन्द्रीय सदस्य भूपेन्द्र सिं थेबेले आन्दोलनका कार्यक्रमहरू अझै चाँडै थपिने चेतावनी पनि दिएका छन्।
असार २७, २०८२ शुक्रबार १८:०५:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।