‘४० कटेपछि महिलाको प्रजनन् क्षमता घट्छ, अनि रमाएर हुन्छ त ?’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजनन् क्षमताको सवालमा सचेत हुनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित ‘विश्व जनसंख्या दिवस’ तथा ‘राष्ट्रिय जनसंख्या नीति २०८२’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले देशमा आवश्यक जनसंख्या भए पनि त्यसको व्यवस्थापन राम्रोसँग हुन नसकेको बताए।
उनले पछिल्लो समय युवामा फैलिएको ‘४० कटेपछि रमाउँला’ भन्ने सोचप्रति टिप्पणी गर्दै भने, ‘४० कटेपछि महिलाको प्रजनन् क्षमता घट्छ, अनि रमाएर हुन्छ त ?’
प्रधानमन्त्री ओलीले युवाहरूलाई समयमै विवाह गरी सन्तान जन्माउन प्रेरित गर्नुपर्ने बताए। ‘२० पछि बिहे गरेर बच्चा जन्माउने भन्ने सन्देश दिनुपर्छ। मान्छे हाँसोमा उडाउँछन् तर यो गम्भीर कुरा हो,’ उनले भने, ‘प्रजनन् क्षमताको उच्च समयमा सन्तान जन्माएर हुर्काउनु उपयुक्त हुन्छ, त्यसपछि करिअरमा फोकस गर्न सहज हुन्छ।’
संयुक्त परिवारप्रति जोड दिँदै उनले परिवार भनेको केवल आमा-बुबा र छोरा मात्र होइन, त्यो भावना र उत्तरदायित्वको सम्बन्ध भएको बताए।
प्रधानमन्त्री ओलीले पछिल्लो समय सामाजिक मूल्य-मान्यता हराउँदै गएकोमा चिन्ता व्यक्त गरे। ‘हामी सभ्य पुर्खाका सन्तान हौं, तर अहिलेको अवस्था अर्काको चरित्र हत्या गर्ने र गाली गर्ने प्रवृत्तिले भरिएको देखिन्छ,’ उनले भने, ‘जीवनभर राम्रो काम गर्दा राम्रो कहलिन्छ, तर एक दिनको गल्तीले खराब मानिन्छ। त्यसैले नेपालीले गलत बाटोबाट जोगिएर हिँड्नुपर्छ।’
असार २७, २०८२ शुक्रबार १४:५६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।