लचिलो मौद्रिक नीति : ब्याजदर घट्दा घरजग्गा र सेयर कर्जाको सीमा बढ्यो, विदेश भ्रमण खर्च तीन हजार डलर पुर्‍याइयो

लचिलो मौद्रिक नीति : ब्याजदर घट्दा घरजग्गा र सेयर कर्जाको सीमा बढ्यो, विदेश भ्रमण खर्च तीन हजार डलर पुर्‍याइयो

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।

सुस्त रहेको अर्थतन्त्रलाई गतिशील बनाउने र राष्ट्रिय परिदृष्यलाई समेत मध्यनजर गर्दै केन्द्रीय बैंकले लचिलो मौद्रिक नीतिको कार्यदिशा अवलम्बन गरेको छ।

गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले आज मौद्रिक नीति सार्वजनिक गर्दै अधिक तरलताले ब्याजदर घटाएको सहज परिस्थितिलाई ध्यानमा राखी लचिलो नीति ल्याइएको बताए।

सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर र ५.५ प्रतिशतभित्र मूल्यवृद्धि कायम गर्ने लक्ष्य राखेको सन्दर्भमा केन्द्रीय बैंकले वित्तीय प्रणालीलाई थप सहज बनाई आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास लिएको छ।

मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले वित्तीय प्रणालीमा ब्याजदर घटाउन सहयोग पुग्ने गरी प्रमुख नीतिगत दरहरूमा कटौती गरेको छ। स्थायी तरलता सुविधा दर अर्थात् बैंक दरलाई ०.५ प्रतिशत बिन्दुले घटाइ ६.५ प्रतिशतबाट ६ प्रतिशतमा झारिएको छ।

त्यसैगरी, नीतिगत दर ५ प्रतिशतबाट घटाइ ४.५ प्रतिशत कायम गरिएको छ। स्थायी निक्षेप संकलन दर पनि ३ प्रतिशतबाट घटाइ २.७५ प्रतिशत बनाइएको छ।

आगामी आर्थिक वर्षका लागि बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको वृद्धि १२ प्रतिशतमा सीमित गरिने प्रक्षेपण गरिएको छ।

घरजग्गा र सेयर कर्जामा सीमा बढ्यो
मौद्रिक नीतिले घरजग्गा र सेयर धितो कर्जासम्बन्धी व्यवस्थामा केही लचकता अपनाएको छ। व्यक्तिले घर किन्नका लागि बैंक तथा वित्तीय संस्थाबाट लिन पाउने अधिकतम कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ।

पहिलो पटक घर खरिद गर्नेलाई दिइने कर्जाको मूल्याङ्कन अनुपात ६० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याइएको छ। यस्तै, घरजग्गा खरिदका लागि दिइने सामान्य कर्जाको मूल्याङ्कन अनुपात पनि ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याइएको छ। अब घरजग्गाको मूल्याङ्कनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर खरिद गर्न सकिनेछ।

सेयर बजारलाई सम्बोधन गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जामा पनि सीमा बढाएको छ। व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने अधिकतम कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ कायम गरिएको छ।

धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, सोही रकमको ७० प्रतिशतसम्म बैंकहरूले सेयर धितोमा कर्जा दिँदै आएका छन्। जेठ मसान्तसम्ममा यस्तो कर्जा १ खर्ब २८ अर्ब रुपैयाँ प्रवाह भएको थियो।

विदेश भ्रमण खर्चको सीमामा वृद्धि
मौद्रिक नीतिले विदेश भ्रमणमा जाने नेपाली नागरिकले साथमा लैजान पाउने अमेरिकी डलरको सीमा पनि बढाएको छ।

यसअघि प्रतिव्यक्ति प्रतिभ्रमण २ हजार ५ सय डलरसम्म लैजान पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ३ हजार अमेरिकी डलर पुर्याइएको छ।

असार २७, २०८२ शुक्रबार १४:१७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।