एनपीएल अनियमितताबारे छानबिन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाइँदै, अख्तियारमा पठाइने

काठमाडाैं : नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो सिजनमा भएको अनियमितताको विषयमा छानबिन गर्न खेलकुद मन्त्रालयले गठन गरेको कार्यदलले आज प्रतिवेदन बुझाउँदैछ। मन्त्रालयले प्रतिवेदनलाई आवश्यक प्रक्रिया पुरा गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी गरेको छ।
एनपीएलको पहिलो सिजनमा अनियमितता भएको भन्दै २०८१ फागुन १२ गतेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई वटा उजुरी परेका थिए। ती उजुरीकै आधारमा मन्त्रालयले गत जेठ १२ गते रन्जना प्रधानको नेतृत्वमा तीन सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो।
कार्यदलले नेपाल क्रिकेट संघ (क्यान)लाई तीन पटकसम्म स्पष्टीकरण माग गरेको थियो। तर, क्यानले दोस्रो पत्रको मात्रै भावनात्मक र कुतर्कसहितको जवाफ पठाएको थियो। उक्त जवाफ चित्त बुझ्दो नभएपछि कार्यदलले क्यानलाई पुनः तेस्रो पत्र पठाएको थियो।
गत असार २२ गते पठाइएको सो पत्रमा सार्वजनिक खरिद ऐनको उल्लङ्घन, अस्पष्ट बोलपत्र प्रक्रिया, राष्ट्रिय खेलकुद विकास ऐन विपरीत विदेशी परामर्शदाता नियुक्ति र स्वदेशी प्रशारण संस्थालाई प्रतिस्पर्धा गर्न नसक्ने सर्त राखी सिन्डिकेट गरेको लगायतका पाँचवटा प्रश्न सोधिएको थियो।
साथै, सोही पत्रमार्फत कार्यदलले एनपीएलको दोस्रो सिजनसम्बन्धी कुनै पनि काम अघि नबढाउन निर्देशन दिएको थियो। यस विषयमा पछि प्रधानमन्त्रीले समेत बोल्नु परेको थियो।
उता, क्यानबाट तेस्रो पत्रको जवाफ प्राप्त नभएको र छानबिन समितिको समयसीमा सकिएकोले उपलब्ध जानकारीकै आधारमा समितिले प्रतिवेदन बुझाएको हो। खेलकुद मन्त्री तेजुलाल चौधरीले क्यानबाट चित्त बुझ्दो जवाफ नआए पनि दोस्रो पत्रको जवाफ र अन्य उपलब्ध जानकारीका आधारमा छानबिन कार्यदलले प्रतिवेदन बुझाएको जानकारी दिए।
खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले भने, ‘आज एनपीएल सम्बन्धी मन्त्रालयबाट बनेको छानबिन समितिले प्रतिवेदन बुझाउँदैछ। अब यहाँ आएपछि जे जति प्रतिवेदनमा आएका कुराहरु छन्, त्यो अख्तियारमा पठाउने छौँ। हामीले छानबिन समितिलाई दिएको समय आज सकियो। प्रतिवेदन आएपछि अख्तियारमा पठाउने छौँ।’
मन्त्री चौधरीले मन्त्रालयले एनपीएल रोक्ने कुरा नगरेको समेत स्पष्ट पारे।
‘एनपीएल रोक्ने कुरा गरेका थिएनौँ। छानबिन समितिलाई दिएको समयसिमा भित्र एनपीएलको कुनै पनि गतिविधि गर्न रोकेको हो। आजबाट छानबिन समितिको समयसिमा सकिएको छ। यही अवधि सम्मको लागि मात्रै क्यानले एनपीएल सम्बन्धी गरेको नियमित काम रोक्न भनेको आज सम्म मात्रै हो नि त। तर, अख्तियारले गर्ने छानबिनको काम भने रोकिएको छैन,’ उनले भने।
असार २७, २०८२ शुक्रबार १३:५६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।