इन्जिनियर लेखनाथको हिजोको कुरा : थारू परिवारकी नयाँ बुहारी जिम्मलको घरमा भित्र्याएको दुई घण्टापछि मात्र फिर्ता दिन्थे

इन्जिनियर लेखनाथको हिजोको कुरा : थारू परिवारकी नयाँ बुहारी जिम्मलको घरमा भित्र्याएको दुई घण्टापछि मात्र फिर्ता दिन्थे

नेपालको पूर्वाधार विकासमा करिब चार दशकसम्म योगदान पुर्याएका एक अनुभवी इन्जिनियर हुन् पूर्व सेकेण्ड क्लास डिभिजन इन्जिनियर लेखनाथ पोखरेल। ७८ वर्षको उमेरमा पनि जोसजाँगर र ऊर्जामा कुनै कमी नदेखिएका उनी यतिबेला आफ्नो लामो र विविधपूर्ण जीवन भोगाइलाई पुस्तकका पानामा कैद गर्दैछन्।

२००४ सालमा खोटाङको खार्पा भन्ने ठाउँमा जन्मिएका पोखरेलले २०२५ सालमा इन्जिनियर बनेर सडक विभागमा काम शुरू गरे। सरकारी सेवामा ३८ वर्ष बिताएपछि अवकाश लिएर पनि उनी १० वर्ष निजी क्षेत्रमा सक्रिय रहे। अहिले विगत १० वर्षदेखि पूर्ण अवकाशमा रहेका उनी साहित्यिक सिर्जनामा तल्लीन छन्।

आफ्नै गाउँको सम्पन्नता र अनौठो सामाजिक परम्परादेखि बर्दियाको चिसापानीमा सडक निर्माणमा खटिँदा भोगेको जमिन्दारको शोषण र चितवनको चेपाङ बस्तीको बिजोगसम्मका मार्मिक अनुभव उनले उकेराको ‘हिजोको कुरा’ स्तम्भमा यसरी सुनाए:

खार्पा गाउँको सम्पन्नता र अनौठो सामाजिक संरचना
मेरो जन्म २००४ सालमा खोटाङको खार्पा भन्ने गाउँमा भयो। त्यतिबेला हाम्रो ठाउँलाई पूर्व ३ नम्बर भन्थे, १८ सालपछि भने खोटाङ जिल्ला भन्न थालेका हुन्। खार्पामा अधिकांश पोखरेलको घर थियो।

खार्पा गाउँमा पोखरेलहरू बाहेक पुरोहित भट्टराई, लुगा सिउने, जुत्ता सिउने, फलामको काम गर्ने बाहेक अरूलाई बसाइँ सरेर आउन दिइँदैनथ्यो। त्यो ठाउँमा अरूले जग्गा जमिन किन्न पाउँदैनथे, किनभने पोखरेलहरूले अरूलाई जमिन बेच्दैनथे। आजभन्दा २५ वर्षअघिसम्म पनि त्यस्तो थियो।

हामी आफ्ना कुरा बाहिर अरू कसैलाई थाहा नहोस् भन्ने चाहन्थ्यौँ। हाम्रा पुर्खाहरू ज्वाइँ भान्जी आएर मावलको छेउमा जमिन किनेर बस्छु भन्दा पनि पाउँदैनथे। बरू जग्गा किनेर अरू गाउँमा राखिदिन्थे।

राजदरबारसँगको सम्बन्ध/नजिकताका कारण हाम्रा पुर्खाहरूले छोराहरू पढाउनुपर्छ भन्ने सोच राखेर गाउँमै स्कुल खोलेका थिए, यद्यपि छोरीहरूतर्फ भने उनीहरूको सोच कम थियो। १८ सालसम्ममा हाम्रो गाउँमा शिक्षित भनेको कमै थिए। तर लेखपढ गर्न जान्ने धेरै थिए।

शिक्षा प्राप्तिको संघर्ष र एसएलसीसम्मको यात्रा
त्यतिबेला गाउँमा प्राथमिक पाठशाला मात्रै थियो। पछि २००९ सालमा मिडिल स्कुल (निम्न माध्यमिक विद्यालय, ७ कक्षासम्म) को स्थापना भयो, जुन पहिले संस्कृत पाठशाला थियो। मैले त्यहीँ स्कुलमा पढेँ। यो मिडिल स्कुल पास गरेपछि पढ्नका लागि कि ओखलढुङ्गा कि भोजपुर झर्नुपर्थ्यो। त्यता पनि नभए  जनकपुरतिर जानुपर्थ्यो। अन्त खासै मिडिल स्कुल खुलेका थिएनन्।

मेरो दाजु चाहिँ जनकपुर पढ्न जानुभयो। म त्यो गर्मी ठाउँमा जान्न भनेर ओखलढुङ्गा आएँ। पछि दाजुभाइ नै एकै ठाउँमा पढ्ने भन्ने भयो र ओखलढुङ्गामा नै पढ्ने निधो गर्यौँ। त्यो समयमा राम्रो नम्बर ल्याउनुपर्छ भनेर कक्षा ८ बाट नै एसएलसीको पढाइ सुरू हुन्थ्यो। अनि मेरो दाजु ९ कक्षामा पुगेपछि ‘म यहाँ बस्दिनँ, एसएलसी पास गरेकाहरूले पढाएकोमा’ भन्न थाल्नुभयो।

त्यो समयमा एसएलसी पास भएपछि त्यति नै कक्षालाई पढाउन पाइन्थ्यो। तर, मेरो दाजुले आफू सरह पढेको शिक्षकसँग पढ्दिन भनेपछि उहाँ जनकपुर जानुभयो। मलाई बुबाले एसएलसी पढाउनका लागि भनेर काठमाडौं ल्याउनुभयो, यो १८ सालको कुरा हो।

काठमाडौं आउँदा घरबाट ७ दिन हिँडेर मात्रै आइपुगिन्थ्यो, त्यो रोशी खोलाको बाटो, जहाँ नाउ (डुङ्गा) चढेर पार गरिन्थ्यो। मैले थाहा पाउँदा ताप्लेजुङदेखिका मान्छेहरू त्यहीँ गोरेटो बाटो हुँदै आउँथे।

सात दिन हिँडेर काठमाडौं त आइयो, तर म १३ वर्षको बच्चालाई कसले जिम्मा लिन्थ्यो र! बुबालाई पनि एक्लै छोड्न मन थिएन। १५ दिन जति काठमाडौंमा बसेपछि फकाइफुल्याई गरेर दाजुसँगै बस्ने बनाएर मलाई जनकपुर लैजानुभयो।

त्यो बेला अहिलेको जस्तो बाटो थिएन, बाइरोडबाट रक्सौल हुँदै जनकपुर गएँ। त्यहाँ बुबाले मलाई दाजुसँग छोडेर घरतिर लाग्नुभयो। मलाई तीन महिना जति बसेपछि जनकपुरको त्यो गर्मी, लामखुट्टेमा बस्न सकिनँ। ‘म त बस्न सकिनँ’ भनेपछि बुबाले भरिया पठाउनुभयो, मान्छे बोक्ने भरियासँग लागेर घरै गएँ।

त्यसपछि घरमा सल्लाह हुँदा विराटनगरमा खेतीपाती छँदैछ, धरानमा पढ्न सहज पनि हुन्छ भनेर आमाले म र दाजुलाई धरानमा पढ्न पठाउनुभयो। अर्को वर्ष धरानमा नै बसेर पढियो, पब्लिक हाई स्कुलबाट सेकेण्ड डिभिजनमा एसएलसी पास गरियो। सेकेण्ड डिभिजनमा पास गर्नेहरूमा ४५ जना थियौँ, त्यसमा दाजुभाइ दुई जना पर्यौँ।

तीन जनाले फस्ट डिभिजन गरेका थिए, चौथो र पाँचौंमा म र दाजु परेका थियौँ। यो २०२० सालको कुरा हो। त्यतिबेला त्यो स्कुलको हेडमास्टर हरिहर शर्मा भन्ने हुनुहुन्थ्यो। नेपालमा त्यो साल एसएलसी दिने विद्यार्थीहरूको संख्या ६६ सय जना थिए, जसमा ११ जना फस्ट डिभिजन, २४५ जना सेकेण्ड डिभिजन, करिब ८० प्रतिशत थर्ड डिभिजनमा पास भएका थिए। बाँकी फेल भए।

त्यतिबेला कलकत्ता बोर्डबाट एसएलसी पास गरेर आउनेहरूले नै पढाउँथे, हेडमास्टर हुनका लागि स्नातक पास गरेको हुनुपर्थ्यो। अर्को कुरा, त्यो समयमा छोरीचेलीहरूलाई पढाउने चलन निकै कम थियो। सबैमा पढाउनुपर्छ भन्ने सोच आमाहरूले राखेका थिए। तर पढाउँदैनथे। स्कुलमा हुँदा अलि-अलि पढेको देखेको थिएँ।

हाम्रो खार्पाको स्कुलमा २-४ जनाले पढेका थिए। अब गाउँमा ७ कक्षासम्म पढेपछि नजिकै माथिल्लो कक्षाको स्कुल हुँदैनथ्यो। अनि अन्त गएर पढाउन दिँदैनथे। ​​​​​

दलित समुदायको शिक्षा र छुवाछुतको यथार्थ
दलितहरूले खासै पढ्न पाएको मैले देखिनँ। उनीहरूलाई पढ्नमा रोकतोक त थिएन तर उनीहरूलाई पढाइदिने मान्छे हुँदैनथे। पहिलाको संस्कृति त भयानक नै थियो।

त्यो समयमा जातपात नभएसम्म टिक्न सकिँदैन भन्ने थियो। क्षेत्री, बाहुन, राई लिम्बू सबैसँग मितेरी साइनो लगाउने चलन थियो, एकअर्कामा घनिष्ट सम्बन्ध थियो भन्दा फरक पर्दैन। सबै जातिहरूसँग मिल्नुपर्छ भन्ने सोच सबैमा थियो। तर, छुवाछुतको प्रथा भने गहिरो थियो।

हाम्रो गाउँको मिडिल स्कुलमा पढ्ने एक जना दमाईको छोरा थियो। उसलाई पनि मेरी आमाले मास्टरलाई भनेर स्कुल पठाउनुभएको थियो। साने दमाई मेरो बाल्यकालमा खेल्ने साथी थियो।

साने दमाईले मेरी आमालाई, ‘कान्छी मुखिनी मलाई पनि स्कुल पठाइदिनुहोस्’ भनेछ। त्यसो भनेपछि मेरी आमाले स्कुलका मास्टर पुरुषोत्तम भट्टराईलाई भनिदिनुभयो अनि सानेले पढ्न पायो। त्यतिबेला दमाईलाई छुइन्छ भनेर मास्टरले पढाउन नमान्ने पनि हुन्थे।

राजा महेन्द्रले २० सालमा छुवाछुत मुक्तिको कानुन त बनाए। तर त्यो कागजमै सीमित भयो, कानुनी रुपमा छुवाछुत मुक्त भएता पनि गाउँघरमा त्यसको प्रभाव परेन, मैले प्रभाव परेको देखिनँ। त्यसपछि म पढाइका सिलसिलामा बाहिरै हिँडेँ, गाउँको त्यसपछि के भयो थाहा भएन।

१७ सालको पञ्चायत व्यवस्था र पारिवारिक इतिहास
१७ सालमा पञ्चायत व्यवस्था लागू हुँदा मणिराम पोखरेल दाइ कांग्रेसका सांसद हुनुहुन्थ्यो, उहाँ हाम्रै गाउँको हुनुहुन्थ्यो। उनी प्रजातान्त्रिक सोचका थिए।

राणाहरूले राणाको विरोध गरेको निहुँमा हाम्रै जिजु हजुरबुबालाई चारपाटा मोडेर देश निकाला गरेका रहेछन्। पछि भाइ बन्धुहरूको प्रयासपछि उनलाई माफी दिलाए र उनी गाउँ फर्किए। राजाको नजिक भएका कारण उनलाई माफी दिइयो।

हाम्रा पोखरेलहरू राणा र राजदरबारमा चाहिँ धेरै जना पसेका थिए। दरबारमा पसेकै कारण हाम्रा पुर्खाले छोराहरू पढाउनुपर्छ भन्ने सोच राखेर गाउँमै स्कुल खोलेका थिए, यद्यपि उनीहरूको सोच छोरातर्फ बढी थियो। १८ सालसम्ममा हाम्रो गाउँमा शिक्षित भनेको कमै थिए, तर लेखपढ गर्न जान्ने धेरै नै थिए।

भक्तपुरमा पहिलो पटक गाडी चढेँ
मैले १८ सालमा काठमाडौं आउँदा नै हो गाडी देखेको। हामी ७ दिन हिँडेर उपत्यका भित्रँदै गर्दा साँगा भञ्ज्याङबाट बुबाले भक्तपुर देखाउनुभयो। भक्तपुर हेर्दा ‘ओहो, शहर आइपुगिएछ’ भनेर म दङ्ग परेँ।

हामी दिउँसो २-३ बजेतिर सूर्यविनायक भन्दा अलिक माथि जगातेतिर आइपुग्दा लरी भन्ने ट्रक चल्दो रहेछ, त्यो देखियो। तर के गर्नु, हेर्दा हेर्दै परैबाट हिँड्यो। अब पर्खेर भए पनि गाडी चढ्ने भनेर म नहिँड्ने भएँ। बुबाले पाइँदैन गाडी, भोलि मात्र आउँछ भन्न थाल्नुभयो। म भने जसरी भए पनि गाडी चढेरै जाने भन्दै ढिपी कसेँ।

बुबाले ‘अब किन बास बस्ने, हिँडेपछि पुगिहालिन्छ’ भन्दै हिँडाउनुभयो। अलिक अगाडि आइसकेपछि थोत्रो लरी ट्रक भेटियो। त्यो लरी चढेर काकाहरू भएको ठाउँ डिल्लीबजार गयौँ। त्यो बेला लरी चढेर भक्तपुरबाट डिल्लीबजार आइपुग्न डेढ घण्टा लाग्यो।

‘आराथुन’ भन्ने बस पनि चल्थ्यो त्यतिबेला काठमाडौंमा। म डिल्लीबजारबाट चढेर पुतली सडकमा ओर्लिन्थेँ, १० पैसा तिरेर। त्यो गाडी आउन समय लगाउँथ्यो, त्यो आउञ्जेल नै पर्खेर भए पनि चढेर जान्थेँ। त्यो बेला नै हो मैले गाडी देखेको।

एसएलसी दिएपछि घरैमा जागिर पाइन्थ्यो भन्ने थिएन। मैले थाहा पाउँदा लोकसेवा खुलिसकेको थियो।

मैले २०२५ सालमा भारतमा सिभिल इन्जिनियरिङ सकेर आएको हो। उताबाट पढेर आइसकेपछि लोकसेवा आयोगको फारम भर्नुपर्थ्यो, फारम भरिसकेपछि एउटा अन्तर्वार्ता हुन्थ्यो, अनि नियुक्ति गरेर काममा पठाइन्थ्यो। किनभने त्यतिबेला मागेको जति योग्य व्यक्ति नै पुग्दैनथे, जति आए उतिलाई नै काममा खटाइन्थ्यो। घरैमा जागिर भन्ने त हुँदैन थियो।

मैले शुरूमा भवन विभागमा काम गरेँ, त्यसपछि स्थायी भएर सडक विभागमा परेँ। सडक विभागमा काम गरेपछि ताप्लेजुङ पुगेँ। त्यतिबेला उत्तरी प्रशासन लागू थियो। खम्पाहरूले विध्वंस मच्चाइरहेका थिए, त्यसलाई शान्त पार्नका लागि जिल्लाका केही पञ्चायतहरू छुट्याएर उत्तरी प्रशासन लागू गरिएको थियो।

उत्तरी प्रशासन र जिल्ला पनि हेर्ने गरी मलाई ताप्लेजुङको कार्यालयमा पठाइएको थियो। यो विभागमा मैले ३८ वर्ष जागिर खाएँ। मैले जागिरबाट अवकाश पाएको नै २१ वर्ष भइसक्यो। त्यहाँबाट अवकाश भएपछि निजी कम्पनीमा १० वर्ष काम गरेँ।

अहिले जागिर छाडेर बसेको नै १० वर्ष भइसक्यो, किनभने मलाई कति खानु भनेर जागिर खान मन लागेन। अहिले साहित्यतर्फ कलम चलाउन थालेको हो।

चिसापानीमा जिम्मलको भयानक शोषण
म सम्पन्न परिवारमा जन्मिएको मान्छे, मलाई दुःख भनेको खासै थाहा थिएन। जब आफ्नो कमाइ खान थालेँ, दुःख के हो भन्ने कुरा बुझेँ। म सानैबाट अति नै संवेदनशील थिएँ। मेरी आमा पनि उस्तै संवेदनशील हुनुहुन्थ्यो।

जति बेला दलितका छोराछोरी, घर्तीका छोराछोरी, अरूका छोराछोरीसँग बसेर खानु हुँदैन भन्ने चलन थियो, त्यसको विरोधमा मेरी आमा हुनुहुन्थ्यो, त्यसको प्रभाव ममा पनि परेको थियो। मेरी आमाले गरिब दुःखीलाई खान देउ, यो भुँडे पुरेतलाई जति दिँदा पनि हुँदैन, जति सक्दो थोरै देउ भन्ने गर्नुहुन्थ्यो।

मैले सडक विभागमा काम गर्दा कस्तो देखेँ भने, निम्न वर्गका मान्छेहरूलाई शोषण गरेको भेटेँ। २०३० सालको कुरा हो, म बर्दियाको चिसापानीमा बेस क्याम्पमा हुँदा त्यो जिम्मलले गरेको शोषण भयानक थियो। मलाई त सारै चित्त दुख्यो। चिसापानीमा थारूहरूको सात घर थियो। त्यस गाउँमा निकै अगाडि तीन जोडी जंगल फाँडेर बस्न थालेका रहेछन्। त्यो कस्तो बाक्लो जंगल थियो, ३० सालमा म जाँदा।

मानखोलको छेउमा बसेका थिए थारूहरू। थारू समुदाय शुरूमा सम्पन्न रहेछन् त्यतिबेला। उनीहरू बसेको ठाउँमा जाजरकोटबाट आएको एउटा ठकुरी सामान्य लेखपढ गर्न जान्ने बसाइँ सरेको रहेछ, कमाउन भनेर बसेको। त्यतिबेला जाजरकोट, हुम्ला-जुम्लामा चरेस खुला थियो। जाजरकोटबाट त्यो चरेसलाई ठकुरीले ‘अम्ली’ बनाएर थारूहरूलाई खुवाउन थाल्यो। थारूहरू लठ्ठै।

जग्गा जमिन प्रशस्त भए पनि थारुहरूसँग पैसा थिएन। उनीहरूलाई पैसा चाहिँदा ५ रुपैयाँ दिँदा ५० रुपैयाँ लेख्ने, १० रुपैयाँ दिँदा सय बनाउने। अब उनीहरूले त्यो पैसा तिर्न नसक्ने अनि घरखेत भएभरका सबै खाइदिने। सबै आफ्नो कब्जामा  राखेपछि ती ठकुरी जिम्मल भएका रहेछन्। त्यसपछि ठकुरीले हरेक कामका लागि थारूहरूलाई प्रयोग गर्न थाल्यो।

कतिसम्म भने कुनै थारु परिवारमा बिहे गरेर ल्याएको नयाँ बुहारी पहिला ठकुरी जिम्मलको घरमा भित्र्याएको दुई घण्टापछि मात्रै फिर्ता दिनेसम्मको अवस्था थियो। त्यो देखेपछि मलाई सारै नरमाइलो लाग्यो, कतिसम्म गर्दो रहेछ भनेर। हाम्रो मेकानिकल टिम ठूलै थियो, प्याट्टपुट्ट भकुरियो पनि। पुलिसलाई खबर गर्दा वास्ता गर्दैनथ्यो।

त्यसपछि मैले थारूका छोराछोरीलाई अक्षर चिन्ने गरेर पढाउँछु भन्ने सोचेर पढाउन थाले। कम्तीमा तमसुक त पढ्न सक्छन्। म त्यहाँ तीन वर्ष बसुन्जेल १२ जना जति थारूका छोराछोरीलाई पढाएँ। म सरुवा भएर त्यहाँबाट हिँड्दासम्म उनीहरू तमसुक लेख्न र पढ्न सक्ने भएका थिए। त्यही घटनालाई मैले ‘फकलीको गाउँ’ भन्ने पुस्तकमा पनि लेखेको छु, जुन सबै यथार्थ घटनाहरू हुन्।

चेपाङ बस्तीको कारुणिक अवस्था र उद्धारको प्रयास
चिसापानीबाट त्यसपछि मेरो सरुवा २०३४ सालतिर मुग्लिन-नारायणघाट सडक बनाउन भयो। यहाँ आउँदा म अचम्ममा परेँ। थारूहरू त कम्तीमा घर बनाएर बसेका थिए, तर यहाँका चेपाङहरू कालीखोला, रिद्धी खोला भन्ने ठाउँको ओडारमा बस्दा रहेछन् र मान्छे देख्दा पनि भाग्थे।

त्यहाँ भर्खर जन्मिएका बच्चालाई बारुलाहरूले खाएर अस्थिपञ्जर मात्रै बनाइदिएको देखेँ। ठूला मान्छे खानेकुराको खोजीमा निस्किँदा, त्यो बेलामा कतिलाई स्यालले खाने, कतिलाई बनढाँडेले खाने, यस्तै यस्तै बिजोग देखेँ। सिङ्गै दुधे बच्चालाई बारुलाहरूले खाएको देख्दा मनै अमिलो भयो।

यो देखेर यिनीहरूलाई पढाउनुपर्छ भन्ने लाग्यो। थारूका छोराछोरीलाई मिठाई बाँडेर जम्मा गरेको थिएँ। चेपाङका छोराछोरीलाई नसकिने रहेछ। उनीहरू त छेवैमा परेनन्। ६ महिनामा पनि मैले ४-५ जनालाई भेला बनाउन सकिनँ। अलिकति हुर्किएकालाई चाइनिजलाई भनेर काममा लगाइदिन्छु भन्ने सोचेँ।

अनि मैले चाइनिजसँग कुरा गरेर काम दिलाइदिएँ। अर्को तीन महिना खोजेपछि बल्ल ५ जना जति १५-१६ वर्षका केटाहरू काम गर्न ल्याइयो। सडकमा लोडर, डोजर चल्दै थियो, उनीहरूले त्यो देखेर ‘भूत’ भनेर भागेका कता हराए हराए। ‘भूत’ भनेर भागेका केटाहरूलाई खोज्न अर्को ७ दिन लाग्यो।

बल्ल-बल्ल उनीहरूलाई ल्याएर चिनियाँकोमा बिहान-बेलुका दुई छाक खाना दिने र त्यतिबेलाको मजदुरको ज्याला ५ रुपैयाँ दिनकै उनीहरूको हातमा दिइयो। त्यसपछि उनीहरू भागेनन्। बल्ल ५ जना टिके। सेकेण्ड मेकानिकमा राखिएको थियो। अहिले उनीहरूमध्ये कोही सिनियर मेकानिक छन्, कोही के भए। अहिले उनीहरूलाई राम्रो छ। त्यस्तो ओडारबाट बाहिर आएकाहरूलाई बाहिर ल्याउन सफल भइयो।

साहित्यिक यात्राको थालनी र पुस्तक प्रकाशनको लहर
त्यो बेलामा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटाका बाहेक नेपाली किताब निकै कम पाइन्थ्यो। हिन्दी र अंग्रेजीका साहित्यिक किताबहरू बढी पाइन्थे। साहित्य लेखनमा मेरो रुचि त्यस्तो होइन। मेरो साथीको भाइ खेमनाथ दाहाल अमेरिकामा बस्नुहुन्थ्यो। मैले फेसबुकमा लेखेका कुराहरूलाई उहाँले निकै नियालेका रहेछन्।

उहाँले एक दिन फोन गरेर भन्नुभयो, ‘दाजु मलाई तपाईंका लेखहरू चित्त बुझ्यो, व्याकरणका गल्ती भए पनि। दाजुको शैली मीठो लाग्यो, भाषा पनि राम्रो लाग्यो मलाई। म २-४ महिनापछि नेपाल आउँछु, मलाई लेखहरू दिनुहोला।’

अमेरिकाबाट आइसकेपछि घरमा नै आएर ‘खै, लेखहरू दिनुहोस्’ भन्नुभयो। मैले दिएँ। अर्को हप्ता मिलाप पत्रिकामार्फत मेरो लेख छापिएर आयो। अब म खुसी भएँ। ‘आफूले लेखेको कुरा पनि पत्रिकामा छापिँदो रहेछ’ भन्ने लाग्यो।

त्यसपछि कोरोनाकालमा पुरुषोत्तम दाहालले फोन गर्नुभयो। उहाँको आग्रहमा हिमालय टाइम्समा पनि छापियो। त्यो भइसकेपछि ममा रहर जाग्यो। अहिले धमाधम लेख्दा मेरा ६ वटा किताब पुगिसकेका छन्। जोसजाँगर बढिरहेको छ। अझै छापिने क्रम जारी छ।

मिलापमा छापिएको हास्यव्यङ्ग्य थियो, १२-१५ वटा लेख छापियो। पछि त्यसैलाई मैले ‘चिबे नकटो’ भन्ने किताब बनाएँ। ‘बनिता’ (उपन्यास) हुँदै कथा संग्रह ‘एक रातको बास’ प्रकाशनको तयारीमा छ। ५-६ वटा जति पुस्तक प्रकाशन गरिसकेको छु। मेरो जीवनका यिनै विविध भोगाइहरूलाई पुस्तकका रुपमा ल्याएर भावी पुस्तालाई पढाउने मेरो अठोट अझै पनि कायमै छ।

असार २७, २०८२ शुक्रबार १३:४२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।