खादा प्रमाणपत्र होइन, भारतमा ट्रेनिङको लागि आर्थिक सहयोग चाहिएको छ : यु-१६ च्याम्पियन सुशील रावल

खादा प्रमाणपत्र होइन, भारतमा ट्रेनिङको लागि आर्थिक सहयोग चाहिएको छ : यु-१६ च्याम्पियन सुशील रावल

काठमाडौं : मलेसियामा सम्पन्न एसीसी यु-१६ इष्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान दिएका खेलाडी सुशील रावलले भविष्यको क्रिकेट यात्राका लागि आवश्यक आर्थिक सहयोगको खाँचो रहेको सार्वजनिक गरेका छन्।

विभिन्न संघसंस्थाले उपाधि विजेता टोलीलाई बधाई र सम्मान दिइरहेका बेला रावलले सामाजिक सञ्जालमार्फत आफ्नो वास्तविक आवश्यकता व्यक्त गरेका हुन्।

बझाङबाट क्रिकेटमा छनौट भएर पनि हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ गर्जमुनिमा बसोबास गरिरहेका रावलले सम्मानस्वरूप प्राप्त हुने खादा र प्रमाणपत्र आफ्नो तत्कालको आवश्यकता पूरा गर्न पर्याप्त नहुने बताए।

उनले लेखेका छन्, ‘अहिले मलाई सम्मानको रूपमा खादा र प्रमाण पत्र भन्दा पनि आर्थिक सहयोगको एकदमै जरुरी परेको छ।’

आगामी २ देखि ३ महिनाभित्र हुने राष्ट्रिय यू-१९ क्रिकेट टोलीको छनोटका लागि आफूले भारतमा गएर विशेष तालिम लिनुपर्ने अवस्था रहेको र त्यसका लागि करिब १ लाख रुपैयाँ खर्च लाग्ने उनले जानकारी दिएका छन्।

आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले यो खर्च जुटाउन कठिनाइ भइरहेको बताउँदै उनले सम्मानमा गरिने खर्च वा प्रयासलाई आफ्नो तालिमका लागि आर्थिक सहयोगमा रूपान्तरण गरिदिए बेस हुने आशय व्यक्त गरे।

‘आर्थिक अवस्था कमजोर छ भनेर भन्दा मलाई गरो छैन। त्यही भएर मलाई सम्मानको खादा माला र प्रमाण पत्र भन्दा आर्थिक कुरालाई महत्त्व दिई दिनुहोला’, उनले लेखेका छन्।

असार २७, २०८२ शुक्रबार १०:५८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।