प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा गएका १० जना नेपाल नफर्केको खुलासा (नामसहित)

प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा गएका १० जना नेपाल नफर्केको खुलासा (नामसहित)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा गएका १० जना नेपाली स्वदेश नफर्केको खुलासा भएको छ। प्रधानमन्त्री ओली सेभियामा भएको ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स्’ मा सहभागिता जनाउनका लागि असार १४ गते स्पेनको भ्रमणमा गएका थिए।

सोही कार्यक्रममा सहभागी हुन गएका १० जनाको पासपोर्ट उकेराले फेला पारेको छ। उनीहरूमध्ये अधिकांश स्पेनमै र केही अन्य युरोपेली देश पुगिसकेको स्रोत बताउँछ। स्पेनमै रहनेहरूमा तेह्रथुमका फुर्वा र जीवन, काभ्रेका राजेश, झापाका एटराज र प्रणियता, ताप्लेजुङका डण्डु, चितवनका अर्जुन, म्याग्दीका रबिन र पर्वतका हरिप्रसाद रहेका छन्।

ताप्लेजुङकी शिक्षाको फेसबुक गतिविधि हेर्दा युएनको कार्यक्रममा सहभागी भएकी उनी त्यसपछि जर्मनी पुगिसकेको देखिन्छ। उनले फेसबुकमा जर्मनीको ह्यामबर्ग पुगेको अपडेट गरेकी छन्।

ताप्लेजुङकी शिक्षा युएनको कार्यक्रमपछि स्पेनबाट जर्मनी पुगेकी छन्।

विकासका लागि वित्तसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरू, विश्व तथा क्षेत्रीय संघसंस्थाहरू, वित्तीय एवं व्यापारिक निकायका प्रमुखहरू, व्यवसायी, नागरिक समाजका प्रतिनिधि र संयुक्त राष्ट्र संघ प्रणालीका सम्बन्धित पदाधिकारीहरू सहभागी थिए।

कार्यक्रम सम्पन्न भई प्रधानमन्त्रीसहितको टोली नेपाल फर्किएपछि यससँग जोडिएको विषयले संसदमा प्रवेश पाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा गएकामध्ये केही मानिसहरू नफर्किएको भन्दै असार २४ गते प्रतिनिधि सभामा यसबारे प्रश्न उठाएकी थिइन्।

सांसद गौतमको भनाइपछि संसदमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप-प्रत्यारोप चलेको थियो। एमालेका सांसद महेश बर्तौलाले सबै फर्किएको दाबी गर्दै प्रतिवाद गरेका थिए। यसै क्रममा, परराष्ट्र मन्त्रालयले पनि एक सूचना जारी गर्दै प्रधानमन्त्रीको टोलीसँग स्पेन गएका सबै व्यक्तिहरू स्वदेश फर्किएको दाबी समेत गरेको थियो।

तर, यसै कार्यक्रमको आवरणमा केही व्यक्तिलाई मानव तस्करीको उद्देश्यले नक्कली कागजात बनाएर स्पेन पठाउन एउटा संगठित गिरोह सक्रिय रहेको तथ्य खुलासा भएको छ। नेपालमा स्पेनको राजदुतावास नरहेको र नयाँ दिल्लीस्थित स्पेनको दुतावासले नेपालको काम हेर्ने गरेको छ।

प्रधानमन्त्रीसँग एउटै प्लेनमा गएका तेह्रथुमका जीवनसहित स्पेनमै बसेका अन्य चार जना।

दिल्लीस्थित दुतावासका अनुसार, स्पेन जान चाहने केही नेपाली नागरिकले आफूहरू स्पेनको सेभिया शहरमा युएन सम्मेलनमा सहभागी हुन लागेको दाबी गर्दै भिसा आवेदन दिएका थिए।

दुतावासले गरेको प्रारम्भिक जाँचपछिको निष्कर्षअनुसार, तीमध्ये कोही पनि आफ्नो काम वा सम्मेलनबारे प्रष्ट रूपमा केही भन्न सकेका थिएनन्। भिसा आवेदकहरूसँग गैरसरकारी संस्थाको नक्कली सिफारिसपत्र र युएन सम्मेलनको भनिएको तर आधिकारिक रूपमा पुष्टि नभएको कागज मात्र भेटिएको दुतावासको सूचनामा उल्लेख छ।

यसरी नक्कली कागजात प्रयोग गरी स्पेन जान खोज्ने नेपालीहरूको कागजात शंकास्पद देखिएपछि दुतावासले एयरलाइन्सहरूलाई यात्रुहरूलाई बोर्डिङ अनुमति दिनुअघि सम्बन्धित अफिसरसँग समन्वय गर्न विशेष निर्देशन दिएको थियो।

असार १४ गतेकै रात, युरोप जाने तयारीमा रहेका ५५ जना नेपाली यात्रुको कागजात नक्कली रहेको पाइएपछि विभिन्न विमान कम्पनीहरूले बोर्डिङ पास दिनुअघि नै रोकेका थिए।दुतावासले अन्तिम समयमा उनीहरूको भिसा रद्द गरेको थियो। यसअघि उकेराले रोकिएका यी ५५ जनाको विवरण सार्वजनिक गरेको थियो।

यति मात्र होइन, उही दिन बिहान दिल्ली विमानस्थलबाटै अर्को ९ जनाको समूह पनि कतार एयरवेजको विमान चढ्न खोज्दा रोकिएको थियो। उनीहरूको कागजात र यात्राको उद्देश्य पनि शंकास्पद पाइएको थियो।

अहिले स्पेनमा रहेकाहरू भने दुतावासको निर्देशन र निगरानीलाई समेत छल्दै स्पेन पुगेको देखिन्छ। यस प्रकरणमा गैरसरकारी संस्थाहरूको संलग्नता पनि देखिएको छ।

असार २७, २०८२ शुक्रबार १०:१३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।