संसद् भवनमा ड्रोन खसालेपछि टेकस्पायर कलेजका प्राध्यापकसहित चार विद्यार्थी पक्राउ

काठमाडौं : संघीय संसद् भवनमाथि ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार नियन्त्रणमा लिइएकामा नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजका एक प्राध्यापक र चार जना विद्यार्थी छन्।
प्रवक्ता बोहराका अनुसार पक्राउ पर्नेमा टेकस्पायर कलेजका कोर्स कोर्डिनेटर विजयबाबु रेग्मी र सोही कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेका छन्।
‘संघीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा बुझाइएको छ,’ प्रहरी प्रवक्ता बोहराले बताए।
यही असार २४ गते बिहान ९:३० बजे संसद् भवनको दक्षिणतर्फको छतमा ड्रोन फेला परेको थियो। प्रहरीका अनुसार उक्त ड्रोन टेकस्पायर कलेजकै लोकेशनबाट उडाइएको पुष्टि भएको छ।
प्राथमिक अनुसन्धानमा खुलेको अनुसार टेकस्पायर कलेजका प्रधानाध्यापक लक्ष्मण पोख्रेलले प्राध्यापक र विद्यार्थीहरूलाई ड्रोन निर्माण र परीक्षण गर्न सेमेस्टर परियोजनाको रूपमा जिम्मेवारी दिएका थिए। असार १३ गते लिखित रूपमा यो कार्य दिइएको थियो।
असार २६, २०८२ बिहीबार २१:४६:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।