१० दिनभित्र किसानको अनुहारमा मुस्कान ल्याउने कृषिमन्त्री अधिकारीको दाबी

१० दिनभित्र किसानको अनुहारमा मुस्कान ल्याउने कृषिमन्त्री अधिकारीको दाबी

काठमाडौं : कृषिमन्त्री रामनाथ अधिकारीले बाँकी रहेको कृषक भुक्तानी १० दिनभित्रमा समाधान हुने दाबी गरेका छन्।

बुधबार बसेको संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले करिब ९० करोड रुपैयाँ दुग्ध विकास संस्थाले किसानलाई तिर्न बाँकी रहेको बताए।

‘दूधको समस्या गम्भीर छ’, उनले भने, ‘तर अबको १० दिनपछि केही खुशीका खबर ल्याउन सक्छौं होला। दुग्ध विकास संस्थाले मात्र करिब ९० करोड बाँकी छ। समग्रमा हेर्दा साढे तीन अर्बभन्दा धेरै किसानको भुक्तानी बाँकी छ- त्यो सरकारी होस्, निजी, साझेदारी वा व्यक्तिगत फर्महरूकै किन नहोस्।’

उनले स्पष्ट रूपमा ‘सत्य कुरा बोल्नुपर्छ’ भन्दै किसानको भुक्तानीप्रति सरकार गम्भीर रहेको सन्देश दिए।

त्यस्तै, उखु किसानसम्बन्धी प्रसङ्ग उठाउँदै मन्त्री अधिकारीले गत वर्षको बजेट अनुसार प्रतिक्विन्टल ३५ रुपैयाँका दरले किसानको खातामा रकम पठाउने प्रक्रिया अघि बढिसकेको बताए। ‘अर्थ मन्त्रालयमार्फत निकासा भइसकेको छ’, उनले भने, ‘अब केही दिनमै रकम किसानको खातामा पुग्नेछ।’

बैठकमा मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले रासायनिक मल खरिदसम्बन्धी प्रावधानमा गरिएको १४औं संशोधनले प्रक्रिया सहज भएको जानकारी दिए।

‘सार्वजनिक खरिद नियमावलीको संशोधनले रसायनिक मलका लागि छुट्टै दफा बनेको छ’, सचिव शर्माले भने, ‘अब ढिलाइ हुँदैन।’

असार २६, २०८२ बिहीबार २१:१२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।