रेखा र विपिन ‘भाइटीका’मा दाजुबहिनी बन्दै

काठमाडौं : निर्माता रोहित अधिकारीको नयाँ फिल्म ‘भाइटीका’ मा अभिनेत्री रेखा थापा र अभिनेता विपिन कार्की दाजुबहिनीको भूमिकामा देखिने भएका छन्। दाजुबहिनीबीचको गहिरो सम्बन्ध र भावनात्मक कथा बोकेको यस फिल्ममा रेखा थापा हालै अनुबन्धित भएकी हुन्।
निर्माण टिमसँग लिखित सम्झौता गरेपछि उनले आफू फिल्मको कथा र टिमप्रति आकर्षित भएर काम गर्न तयार भएको बताएकी छन्। उकेरासँगको कुराकानीमा रेखाले भनिन्, ‘मलाई यो फिल्मको कथा सुन्नासाथै मन पर्योन। टिम पनि विश्वासिलो लाग्यो, त्यसैले सहर्ष सहमति जनाएँ।’
‘भाइटीका’मार्फत रेखा थापा र विपिन कार्कीले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन्। यो फिल्मपछि रेखा अझै चारवटा फिल्म साइन गर्ने तयारीमा छिन् भने एउटा फिल्म निर्देशन गर्ने योजनामा पनि छिन्। तर कुन फिल्म निर्देशन गर्ने हो भन्नेबारे उनले खुलाउन चाहिनन्।
यतिबेला उनी आफ्नै होमप्रोडक्सनको फिल्म ‘छत्तिस आँकडा’ को तयारीमा थिइन्, जसको निर्देशन सबिर श्रेष्ठले गर्ने पक्का भइसकेको छ। तर ‘भाइटीका’को कथा मन परेपछि उनले आफ्नो प्रोजेक्ट केही समयका लागि थाति राख्ने निर्णय लिएकी छन्।
उनको होमप्रोडक्सनबाट डेढ वर्षअघि रिलिज भएको फिल्म ‘उपहार’ भने व्यवसायिक रूपमा असफल बनेको थियो।
‘भाइटीका’ फिल्मको निर्देशन दीपक वली गर्ने छन् भने महेश दवाडी ले यसको पटकथा लेखिरहेका छन्। फिल्म यसै वर्ष छायांकनमा जाने र आगामी वर्षको तिहार लक्षित गर्दै रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ।
निर्माता अधिकारीको पछिल्लो फिल्म ‘माइतीघर’ यसै वर्षको दशैंको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा छ। यसअघि उनले ‘गाजलु’, ‘छ माया छपक्कै’ जस्ता हिट फिल्महरू बनाएका थिए। यद्यपि, ‘फर्की फर्की’ जस्तो फिल्म भने कमजोर प्रदर्शनमा सीमित रह्यो।
असार २६, २०८२ बिहीबार २०:५६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।