‘क्याप्टेन साब’ बन्दै खगेन्द्र

‘क्याप्टेन साब’ बन्दै खगेन्द्र

काठमाडौं : निर्देशक दीपेन्द्र के. खनालले पाइलट रामेश्वर थापाको जीवनीमा आधारित फिल्म निर्माण गर्न लागेका छन्। खनालले यसअघि सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको बायोपिक ‘मेयर’ बनाएका थिए, जसमा खगेन्द्र लामिछानेले मुख्य भूमिका निभाएका थिए।

नयाँ फिल्म ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको जीवनकथामा आधारित हुनेछ। गौरीघाटमा बिहीबार आयोजित मुहूर्त कार्यक्रममार्फत फिल्मको औपचारिक घोषणा गरियो।

खगेन्द्र लामिछाने पुनः खनालको फिल्ममा मुख्य भूमिकामा देखिने छन् र यसपटक उनी क्याप्टेनको अवतारमा प्रस्तुत हुनेछन्। उनले भने, ‘म हेलिकप्टर उडाउन जान्दिन, तर यो भूमिका निभाउन पाउनु ठूलो अवसर हो। सिक्दै छु, डर लागिरहेको छ, तर अझ बढी उत्साहित छु।’

निर्देशक खनालले फिल्म ‘बारुद माथी उड्दा’ पुस्तकबाट प्रेरित भएर निर्माण गर्न लागिएको जानकारी दिए। ‘देशको एक संकटपूर्ण समयमा क्याप्टेन थापाले पुर्याएको योगदानलाई जीवन्त ढंगले पर्दामा उतार्ने प्रयास हो यो,’ खनालले भने।
फिल्मको लगानी निर्देशक दीपेन्द्र खनालसँगै वितरक करण श्रेष्ठ ‘क्रेजी’ र सिर्जना नापितले गर्ने छन्। पाइलट थापाले हेलिकप्टर उडाउनसम्बन्धी प्राविधिक सहयोग गर्ने जानकारी पनि निर्देशकले दिएका छन्।

मुहूर्त कार्यक्रममा क्याप्टेन थापाको निर्देशनमा उद्योगपति डा. उपेन्द्र महतोले क्ल्याप हानेका थिए। पटकथा प्रडक्सनको दोस्रो प्रस्तुति रहेको यस फिल्ममा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा रहने छन्।

दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए। भदौको पहिलो साताबाट छायांकनमा जाने तयारी निर्माण पक्षको छ।

यो फिल्ममा निर्माता निर्देशक दीपेन्द्र,करणका अलवा श्रृष्टिमा खनाल रहेका छन्। निर्देशक खनालकै लेखन रहेको फिल्ममा छायांकन कृष्णबहादुर थापाको रहने छ भने मुख्य सहायक निर्देशकमा सौगात बस्नेत रहेका छन्। आगामी भदौको पहिलो सातादेखि छायाँकार कृष्णबहादुर थापाले काठमाडौँ, चितवन र काभ्रेका विभिन्न स्थानमा उक्त चलचित्रको छायाङ्कन गर्नेछन्।

द्वन्द्वकालमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरका प्रथम ‘इन्स्ट्रक्टर’ क्याप्टेन थापाको युद्धस्थलका उद्धार, भोगाइ एवं अनुभूतिमा अङ्ग्रेजी पुस्तक ‘इन्टु द फायर’ प्रकाशित छ ।

असार २६, २०८२ बिहीबार २०:३५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।