‘ग्लोबल आइएमई समुन्नत योजना–२’ मा मागभन्दा बढी आवेदन, असार २७ अन्तिम म्याद

‘ग्लोबल आइएमई समुन्नत योजना–२’ मा मागभन्दा बढी आवेदन, असार २७ अन्तिम म्याद

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको कोष प्रबर्द्धनमा, ग्लोबल आइएमई क्यापिटल लिमिटेडद्वारा सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ मा सर्वसाधारण लगानीकर्ताबाट अपेक्षा गरेभन्दा बढी उत्साह देखिएको छ।

यो बन्दमुखी योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँ दरमा १२ करोड इकाई निष्कासन गरिएको थियो। न्यूनतम ६ करोड इकाई बिक्री हुनुपर्नेमा र कम्तीमा १५ प्रतिशत इकाई कोष प्रवर्द्धक तथा योजना व्यवस्थापकले राखेपछि बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।

बैंक तथा क्यापिटलले बीजपूँजीस्वरूप कुल १८ लाख (१.५%) ग्लोबल आइएमई क्यापिटल र १ करोड ६२ लाख (१३.५%) ग्लोबल आइएमई बैंकले सुरक्षित गरेका छन्।

सार्वजनिक निष्कासन २०८२ असार २२ गतेदेखि खुला गरिएकोमा हालसम्म मागभन्दा बढी आवेदन परेकाले आगामी २७ असार बैंकिङ समयसम्ममा आवेदन दिन सकिने जानकारी गराइएको छ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जारी गरेको सूचनामा भनिएको छ, “उक्त समयसम्ममा २५ प्रतिशत थप इकाईमा समेत आवेदन प्राप्त हुने विश्वासका साथ योजना आकार एक अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।”

निष्कासन प्रक्रियामा सहयोग गर्ने नियामक निकाय, आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, लगानीकर्ता, सञ्चारकर्मी तथा अन्य सरोकारवालाप्रति कम्पनीले आभार प्रकट गरेको छ।

असार २६, २०८२ बिहीबार २०:०५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।