रुपन्देही-३ उपनिर्वाचन : दलहरू अलमलमा, स्वतन्त्रहरू एजेन्डा सहित मैदानमा

बुटवल : रुपन्देहीमा उपनिर्वाचनको माहोल तातिँदै गएको छ। दलहरूले उपयुक्त उम्मेदवारको खोजी गरिरहँदा स्वतन्त्र युवाहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्। बिहीबार मात्रै भैरहवामा पत्रकार सम्मेलन गरी अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरे।
गुप्ताले उम्मेदवारी घोषणा गर्दै आफू यस क्षेत्रको माटो बुझेको रैथाने भएकाले चुनावमा होमिएको दाबी गरे। उनले क्षेत्र नम्बर ३ ले स्थानीय नेता नपाउँदा जनता र क्षेत्रको समस्या जहाँकोतही रहेको बताए। विगतमा यहाँबाट निर्वाचित भएकाहरू क्षेत्रमा नआउने र जनताका समस्या नसुन्ने काम हुँदै आएकाले यसपटक आफूलाई योग्य ठानेर उम्मेदवार बनेको बताए।
आफूले अहिले उम्मेदवारी घोषणा गरेको तर भोलिका दिनमा अन्य दल तथा समूहसँग सहकार्य हुन सक्ने गुप्ताले बताए। गुप्ताले गत बैशाखमा मात्रै राप्रापा रुपन्देहीको उपाध्यक्ष पदबाट राजीनामा दिएर स्वतन्त्ररुपमा आफ्नो राजनीतिक गतिविधि बढाउँदै आएका थिए।
गुप्ताले आफू राजनीतिक चेत भएको व्यक्ति भएकाले सबैसँगको सहकार्य, सहमति र सहअस्तित्वलाई स्वीकार्दै अघि बढ्ने जनाए। उम्मेदवारीसँगै गुप्ताले आफ्नो एजेण्डा पनि सार्वजनिक गरेका छन्। ‘अबको नेतृत्व रैथाने’ भन्दै गुप्ताले ६ वटा बुँदामा आफूले अघि सार्ने एजेण्डा तय गरी सार्वजनिक गरेका हुन्।
जसअनुसार पर्यटन क्षेत्रको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक कार्यक्रमहरू गर्न पहल गर्ने उनले बताए। यस्तै, कृषितर्फ कृषकको आर्थिक सुधारका लागि मल, बीउ एवं सिंचाइका लागि सुविधा र उत्पादित सामग्रीहरूको बजारीकरण गर्ने उनले योजना अघि सारेका छन्।
यसैगरी उद्योगतर्फ उद्योगी-व्यवसायीहरूले हाल भोगिरहेको समस्याहरू समाधानका लागि उच्च प्राथमिकता दिने उनको भनाइ छ। गुप्ताले गुणस्तरीय शिक्षाका लागि पालिकास्तरदेखि नै समाधानको पहल गर्ने, जिल्लामा उत्पादित सम्पूर्ण सामग्रीहरूलाई विश्वबजारसम्म जोड्नका लागि सुरुवात गरी रोजगारीमा बढोत्तरी गर्ने जनाए।
यस्तै, अन्तर्राष्ट्रिय रूपमा परिचित सिद्धार्थनगर नगरपालिकाको क्षेत्रविस्तार गरी उपमहानगर बनाउन पहल गर्ने र समानुपातिक रूपमा क्षेत्रको विकास गर्ने बताए। सिद्धार्थनगर-३ निवासी ४३ वर्षीय गुप्ता बौद्धिक युवाका रूपमा गनिन्छन्। उनले विद्यार्थी कालदेखि नै विभिन्न पार्टीका कमिटीहरूमा रहेर काम गरेका छन् भने सफल युवा उद्योगी समेत हुन्।
निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेपछि यस क्षेत्रमा यसअघि बुटवलका लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
असार २६, २०८२ बिहीबार १९:४९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।