लुम्बिनी प्रादेशिक अस्पतालमा आकस्मिक कक्षको क्षमता दोब्बर बनाइँदै

लुम्बिनी प्रादेशिक अस्पतालमा आकस्मिक कक्षको क्षमता दोब्बर बनाइँदै

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आकस्मिक कक्षको सेवा विस्तार हुँदैछ। मेडिसिन वेडको संख्या बढाएर आकस्मिक सेवाको क्षमता दोब्बरले वृद्धि गर्ने तयारी भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए।

आकस्मिक सेवाका लागि आउने सेवाग्राहीको संख्या अत्यधिक भएकाले त्यसको चाप व्यवस्थापन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए। आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी थप ४५ वटा मेडिसिन बेडका लागि ट्रस्ट निर्माण, पाटेसन, शौचालय, रङ्गरोगनलगायत संरचनागत सुधार तीव्र गतिमा भइरहेको डा. ढकालले जानकारी दिए। आकस्मिक कक्ष रहेको भवनमा अहिले इन्टेरियरको काम भइरहेको छ।

हाल अस्पतालमा ६० वटा आकस्मिक बेड र ४५ वटा मेडिसिन बेड छन्। आकस्मिक विभाग प्रमुख डा. सुनिलकुमार सुनारका अनुसार दैनिक १५० देखि २ सय जना बिरामी आकस्मिक सेवाका लागि अस्पतालमा आउने गर्दछन्। तीमध्ये ७० प्रतिशतभन्दा बढी बिरामीलाई मेडिसिन वार्डमा राखेर उपचार गर्नु पर्ने खालका हुने गरेको उनले बताए।

मेडिसिन वार्डमा बेडको संख्या थोरै भएकाले आकस्मिक कक्षमै एउटा बेडमा दुईदेखि तीनजनासम्म राखेर सेवा दिनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे। ‘आकस्मिक कक्षमा तुरुन्त उपचार दिएपछि मेडिसिन वार्डमा सार्नु पर्ने हुन्छ तर बेडको अभावमा हप्तौंसम्म त्यही राख्नुपर्छ,’ डा. सुनिलले भने, ‘अब बेड संख्या बढेपछि त्यो समस्या ५० प्रतिशतभन्दा बढी घट्ने अपेक्षा गरेका छौं।’ मेडिसिन बेड थपिएपछि बिरामीले भूँईमा बसेर उपचार लिनुपर्ने अवस्था अन्त्य हुने आशा गरिएको छ।

अस्पतालमा आकस्मिक सेवा तीन रंगमा वर्गीकृत गरिएको छ। तत्काल उपचार आवश्यक पर्ने बिरामीलाई ‘रेड जोन’ मा, मध्यम खालका बिरामीलाई ‘ग्रीन जोन’ मा र सामान्य अवस्था भएका बिरामीलाई ‘एल्लो जोन’ मा राखिने गरिएको छ। केही दिनको उपचार आवश्यक पर्ने बिरामीलाई भने मेडिसिन वार्डमा सारिने गरिन्छ।

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले आकस्मिक सेवामा आउने सेवाग्राहीका गुनासो र चापलाई मध्यनजर गर्दै सेवा विस्तार गरिएको बताए। ‘पर्याप्त पूर्वाधार, जनशक्ति, उपकरण र प्रविधिको अभावबीच पनि गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रयासरत छौं,’ उनले भने, ‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मेडिसिन बेडको ५ प्रतिशत आकस्मिक कक्षमा हुनुपर्ने हो, तर हाम्रोमा उल्टो छ। अब यसलाई सुधार गर्ने प्रयासमा छौं।’

श्रेष्ठका अनुसार हाल रहेको ६० आकस्मिक बेडको अनुपातमा हेर्दा १,२०० मेडिसिन बेड हुनुपर्ने अवस्था हो। अस्पतालको अन्य सेवा पनि क्रमशः सुधार गर्दै लैजाने योजना विकास समितिको रहेको उनले बताए।

अस्पतालले अघिल्लो वर्ष सार्वजनिक गरेको तथ्यांक अनुसार, एक वर्षमा ७२,२४४ जना सेवाग्राहीले आकस्मिक कक्षबाट सेवा लिएका छन्। यसलाई आधार मान्दा दैनिक करिब दुई सय बिरामीले आकस्मिक स्वास्थ्य सेवा लिइरहेका छन्।

मे.सु. डा. ढकालले लुम्बिनी प्रदेशमा मातृशिशु मृत्युदर उच्च रहेको उल्लेख गर्दै सो दर घटाउने गरी अस्पताल अघि बढ्ने बताए। प्रसूति सेवा विस्तार गर्दै असुरक्षित प्रजनन घटाउनेतर्फ समेत अस्पतालले ध्यान दिने योजना रहेको उनले बताए।

असार २६, २०८२ बिहीबार १८:५९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।