स्वास्थ्य बिमा कार्यक्रम : ८ जटिल रोगका बिरामीले साउन १ देखि दुई लाखसम्म उपचार सहायता पाउने

स्वास्थ्य बिमा कार्यक्रम : ८ जटिल रोगका बिरामीले साउन १ देखि दुई लाखसम्म उपचार सहायता पाउने

काठमाडौं : स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध व्यक्तिहरूले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने भएका छन्। अब आठ जटिल रोगका बिरामीहरूले हाल पाइरहेको एक लाख उपचार सुविधामा थप एक लाख गरी कुल दुई लाख रुपैयाँसम्मको उपचार सहायता पाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले समाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। 

‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ  साउन १ गतेबाट  ८ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं,’ मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्। 

उक्त आठ जटिल रोगमा क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर समावेश छन्।

स्वास्थ्य मन्त्रालयले यसअगाडि स्वास्थ्य बिमा बोर्डलाई पत्राचार गरी रकम वृद्धिको प्रस्ताव गरेको थियो भने मंगलबार राति बसेको बोर्ड बैठकले दुई लाखसम्म उपचार खर्च दिने निर्णय गरेको हो।

मन्त्री पौडेलले स्वास्थ्य बिमालाई थप परिष्कृत गरी आम नागरिकको पहुँच अभिवृद्धि गर्ने प्रयासमा रहेको समेत बताएका छन्। ‘स्वास्थ्य बिमालाई थप परिष्कृत गरी आम नागरिकको पहुँच अभिवृद्धि गर्ने हाम्रो निरन्तर प्रयास छ। तपाईंहरूको रचनात्मक सल्लाह र सुझावको स्वागत गर्दछौँ,’ उनले लेखेका छन्। 

असार २६, २०८२ बिहीबार १८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।