कलाक्षेत्रको साइबर अपराध रोक्न गृहमन्त्रीको निर्देशन : साइबर ब्यूरोमा फोकल पर्सन तोकिने

कलाक्षेत्रको साइबर अपराध रोक्न गृहमन्त्रीको निर्देशन : साइबर ब्यूरोमा फोकल पर्सन तोकिने

काठमाडौं : गृहमन्त्री रमेश लेखकले गीत-संगीत र समग्र कलाक्षेत्रमा सामाजिक सञ्जालमार्फत भइरहेका साइबर अपराध रोक्न प्रहरीको साइबर ब्यूरोमा विशेष जिम्मेवारीसहित ‘फोकल पर्सन’ तोक्न निर्देशन दिएका छन्।

सोमबार गृह मन्त्रालयमा आयोजित भेटमा गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्यूरोका प्रमुख नबीन्द अर्याललाई यस्तो निर्देशन दिएका हुन्।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका प्रतिनिधिहरूले लोकसंगीत क्षेत्रमा बढ्दो विकृति र अनलाइन दुरुपयोगबारे ध्यानाकर्षण गराउन गृहमन्त्रीसँग भेट गरेका थिए।

भेटमा बोल्दै गृहमन्त्री लेखकले सामाजिक सञ्जालको प्रयोग कलाको संवर्द्धनका लागि हुनुपर्नेमा विकृति फैलाउने माध्यम बन्दै गएको भन्दै त्यसविरुद्ध निष्कर्षसहित अघि बढिने बताए।

प्रतिष्ठानकी अध्यक्ष ऋता थापा मगरले पछिल्लो समय दोहोरी क्षेत्रमाथि भइरहेका अनलाइन आक्रमण, चरित्र हत्या र नियोजित गालीगलौज प्रतिष्ठानले मात्र रोक्न नसक्ने भन्दै राज्यबाटै कडाइ गर्न आग्रह गरिन्।

त्यस्तै, प्रतिष्ठानका पूर्वअध्यक्ष तथा लोकप्रिय गायक बद्री पंगेनीले पहिले पनि मन्त्रीहरूको आश्वासन पाएको स्मरण गर्दै गृहमन्त्री लेखककै पालामा समाधानको आशा व्यक्त गरे। ‘गृहमन्त्रीज्यूले तुरुन्तै साइबर ब्यूरोमा फोकल पर्सन तोक्ने तदारुकता देखाउनु भएको छ,’ उनले भने, ‘यस्तै दृढता रहे विकृति रोक्न सकिन्छ।’

साइबर ब्यूरोका प्रमुख नबीन्द अर्यालले कलाकारहरूमाथि हुने साइबर अपराधबारे उजुरी प्राप्त भए लगत्तै कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए।

असार २६, २०८२ बिहीबार १८:२०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।