एनपिएल बदमासी छानबिनमा प्रधानमन्त्री ओलीको प्रवेश, खेलकुद मन्त्रीलाई धम्क्याए

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रिमियर लिगको पहिलो सिजनको छानबिन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद मन्त्री तेजुलाल चौधरीलाई धम्क्याए।
अख्तियारमा परेको उजुरीको आधारमा आएको निर्देशन अनुसार राष्ट्रिय खेलकुद परिषद्ले कार्यदल बनाएर छानबिन गरिरहेको छ।
पटक-पटक कागजात माग्दा नेपाल क्रिकेट संघले कागजात उपलब्ध नगराएपछि कार्यदलले तेस्रो पटक पत्र पठाउँदै छानबिन नटुंगिएसम्म एनपिएलको कुनै गतिविधि नगर्न भनेको थियो।
त्यसबारे एनपिएलको आठ फ्रेन्चाइज टोलीमध्येको काठमाडौं गुर्खाजको भागिनी कम्पनी कान्तिपुरले बिहीबार एनपिएलको बदमासीका विवरण र छानबिन कार्यदलले उठाएका प्रसंग छाडेर खेलकुद मन्त्रीले एनपिएल रोक्न लागेको भन्दै पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको थियो।
बिहीबार ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स ल्याब’ उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले उहीँ शैलीमा एनपिएल राष्ट्रिय गौरवको प्रतियोगिता भएको भन्दै यो नरोकिने र राजनीति नगर्न भन्दै चौधरीलाई धम्क्याए।
‘एनपीएल हाम्रो राष्ट्रिय गौरव हो। क्रिकेटप्रतिको आकर्षण झन् बढेको छ। यसलाई राष्ट्रिय स्तरमै अगाडि बढाउनुपर्छ, एनपीएल रोकिँदैन’ उनले भने।
सरकारमा आएपछि जुन क्षेत्रको काम छ, त्यसको विकास गर्ने हो भन्दै उनले खेलको विकास गर्नुपर्छ, खेललाई अगाडि लैजानुपर्छ भन्दै चेतावनी दिए ‘त्यहाँ पोलिटिक्स गर्ने होइन। पोलिटिक्सका लागि देयर इज नो स्पेस,’ उनले भने।
एनपिएलको पहिलो सिजनमा कानुन मिचेर भएका गतिविधि, हालसम्म आम्दानी र खर्च सार्वजनिक नगरेको, विदेशी मुद्राको अपचलन लगायतका बदमासीबारे उनले केही बोलेनन्।
खेल मैदानमा अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट विज्ञापन, विदेशी कम्पनी र खेलाडी कानुन विपरीत भुक्तानी, अपारदर्शी कारोबार, सेटिङमा ठेक्का लगायतबारे अख्तियारले छानबिन गर्न निर्देशन दिएपछि खेलकुद मन्त्रालयको निर्देशनमा राखेपले गठन गरेको कार्यदलले छानबिन गरिरहेको छ।
असार २६, २०८२ बिहीबार १७:४६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।