चीनबाट बाढी आयो, खबर आएन

चीनबाट बाढी आयो, खबर आएन

काठमाडौं : यही वर्षको असार ८ गते चिनियाँ टोली निर्माणाधीन सुख्खा बन्दरगाहमा आयो। चीनले नै निर्माण गरिरहेको बन्दरगाहमा आफ्ना पक्षलाई भविष्यमा हुने ‘मनसुन’ जानकारी पनि दियो। चीनले मौसम फेरबदल हुन सक्ने भन्दै सतर्क रहन सुझाएको थियो। यसबारे  जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले तिब्बत तर्फका आफ्ना समकक्षीसँग मनसुनबारे औपचारिक र अनौपचारिक कुरा गरे।

चीन तर्फबाट मौसमबारे कुनै जानकारी आएन। सूचना आएन तर बाढी आयो। सोमबार आएको विनाशकारी बाढीले रसुवागढीमा रहेको चीन नेपाल जोड्ने मितेरी पुल नै बगायो। बाढीमा अहिलेसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १९ जना अझै बेपत्ता छन्। एक जना घाइते भए। त्यस्तै २४ वटा मालवाहक कन्टेनर, ३५ वटा विद्युतीय सवारीसाधन, ६ वटा सिनो ट्रक बगायो। त्यस्तै चीन तर्फ भौतिक क्षतिको विवरण नआएपनि ११ जना व्यक्ति हराएका छन्। 
 
तिब्बती क्षेत्रमा धेरै हिमताल तथा हिमनदीहरू छन्। पृथ्वीमा तापक्रम बढेका कारण हिमतालहरू जुनसुकै बेला फुट्न सक्छन्। नेपाल भन्दा माथि तिब्बत पर्ने हुँदा चिनियाँ पक्षले त्यहाँका हिमताल तथा हिमनदीहरूबारे गरेको अध्ययन अनुसन्धान अनुसार हुन सक्ने क्षति बारे नेपाल पक्षलाई जानकारी दिनु पर्ने हो तर दिएको देखिंदैन। यो पटक मात्रै होइन सिन्धुपाल्चोकमा मेलम्ची बजार नै बगाउने गरी आएको बाढीमा समेत चिनियाँ पक्षले नेपाल पक्षलाई जानकारी नदिएको भनेर आलोचना भएको थियो। 

ठूलो जनधनको क्षति हुने कुरामा चिनियाँ पक्षले जानकारी दिँदैन या नेपाल सरकारले नै चासो राख्दैन ? उकेराले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख दिनेश भट्टसँग जिज्ञासा राखेको थियो। भट्टले केन्द्रीय सरकारलाई नआउने तर सिमाना जोडिएका जिल्लालाई सूचना आदान प्रदान हुने गरेको बताए। ‘सूचना नआउने त हैन। केन्द्र सरकारमा त आउँदैन तर त्यही सिमाना जोडिएका जिल्लालाई भने सूचना आउने गरेको छ,’ भट्टले भने।

भट्टले सिमाना जोडिएका जिल्लालाई सूचना दिने गरेको दाबी गरे पनि रसुवा जिल्लाले सूचना पाएको देखिएन। ‘हामीले अनौपचारिक तथा औपचारिक रूपमा चीन तर्फ मनसुन बारे जानकारी मागेका थियौँ त्यस्तो केही सूचना आएन,’ रसुवाका सहायक प्रमुख द्रुव प्रसाद अधिकारीले भने, ‘शायद उनीहरूलाई पनि यस्तो बाढी जान्छ भन्ने बारे थाहा थिएन होला।’ उनका अनुसार रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले आफ्ना समकक्षीलाई मनसुनबारे जानकारी मागेका थिए। 

प्राधिकरणका प्रमुख भट्टका अनुसार हालसम्म चिनबाट हिमताल फुटेर आउने बाढीबारे सूचना लिने कुनै संयन्त्र बनिसकेको छैन। ‘चिनबाट हिमताल फुटेर आउने बाढीबारे सूचना लिने संयन्त्र बनिसकेको छैन,’उनले भने, ‘अब पनि सूचना लिनलाई हाम्रा संयन्त्र बलियो बनाएनौँ भने नदीसँग जोडिएका हाम्रा बस्तीहरू रहन्छन् भन्न सकिन्न।’

किन गयो बाढी ?

जल तथा मौसम विभागले प्रारम्भिक अध्ययन अनुसार हिमताल फुटेर बाढी भएको हुन सक्ने बताएको छ। विभागले असार २१ गते र असार २४ गते लिएको तस्बिरको तुलना गरेको छ। असार २१ गतेको तस्बिर अनुसार हिमनदीको बीचको भूभागमा विकास रहेको सुप्रा ग्लासियर लेक (हिमताल) छ। जुन करिब ०.७५, वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ। तर २४ गते लिएको तस्बिरमा भने हिमतालको क्षेत्रफल  ०.१५ ले घटेर करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ।

बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिको तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ। हिमतालको सतही स्वरूपमा उल्लेख्य परिवर्तन भएको देखिएको छ। यसैगरी तालबाट तलको क्षेत्रमा समेत परिवर्तन देखिएको छ। ताल उल्लेख्य रूपमा घटेकाले हिमतालबाट पानी निकासी भएर बाढी गएको हुन सक्ने बताएको छ।

  के हो ‘सुप्रा ग्लासियर लेक ’ भनेको ?

इन्टरनेश्नल सेन्टर फर इन्ट्रिग्रेटेड माउन्टेन डभलपमेन्ट (आइसीमोड)का अनुसार सुप्रा ग्लासियर लेक भनेको हिमनदीको सतहमाथि बन्ने ताल हो। विशेषगरी ढुंगामाटोले ढाकिएको भागहरूमा यस्ता तालहरू बढी देखिन्छन्। यी तालहरू धेरै नै परिवर्तनशील र छोटो समयमै हराउने हुन्छन्। यी प्रायः सानो पग्लिएको पानीका पोखरीबाट सुरु भएर विस्तारै हुँदै ठूला तालमा परिणत हुन्छन्। यस्ता तालहरू पहिचान गर्न प्रायः उपग्रहबाट लिइने तस्बिरमा भर पर्छ। डेटामा सीमित स्पष्टता भएका कारण साना वा छोटो समयमै हराउने जलाशयहरू छुट्न सक्छन्।

आइसीमोडका अनुसार  तापक्रमको वृद्धिले हिम उत्पत्ति भएका बाढीहरूमा दुई प्रमुख कारण हुन सक्छन्। पहिलो कारण तापक्रम वृद्धिका कारण हिमतालहरूको निर्माण र विस्तार हुन्छन्। दोस्रो कारण भनेको अल्पकालीन तापक्रम वृद्धि हो।   कुनै विशेष दिनमा तापक्रमको अचानक वृद्धि हुनुले अचानक हुने घटनाहरू जस्तै बरफको पहिरो, बरफ टुक्रनु, वा स्लोप फेल्योर हुन सक्छ । 

 हिमताल फुटेर आउने बाढी अन्य बाढी भन्दा फरक हुन्छ। माटो, ढुंगा र अन्य मलिलो पदार्थ सहितको बाढी आउने हुँदा शुद्ध पानी मात्र भएका बाढीभन्दा धेरै बढी विनाशकारी हुन्छन्। जसले गर्दा तलतिरको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। रसुवामा भएको क्षतिमा यही कारण हुन सक्ने विभागको अनुमान छ। 

जोगिने कसरी ?

 प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले नेपाल र चीनबीच औपचारिक सूचना आदान प्रदान भएन भने नदी किनाराका बस्ती केही वर्षमै रहन्छन् भन्न सकिने अवस्थामा नरहेको बताए। ‘सरकारले पहिलो काम चिनियाँ पक्षसँग हिमताल र हिमनदीबारे औपचारिक सूचना आदान प्रदान गर्न ढिला गर्न हुँदैन,’ उनले भने, ‘यस्तै अवस्था रह्यो भने नदी छेउछाउका बस्ती हिमाली क्षेत्रका बस्ती के हुन्छन् भन्न सकिँदैन।’

बिबिसी वल्ड सर्भिसका वरिष्ठ  वातावरण पत्रकार नविन सिंह खड्काले यस विषयमा चिनियाँ पक्षले सूचना दिनु पर्ने र नेपाल सरकारले पनि त्यसका लागि पहल गर्नु पर्ने बताउँछन्। ‘प्रारम्भिक प्रतिवेदन हेर्दा तिब्बतमा रहेका हिमताल फुटेर बाढी आएको देखिन्छ। तर यो बारे चीन सरकारले नेपाललाई जानकारी दिनुपर्ने हो।,’ उनले भने, ‘नेपाल सरकारले चीन सरकारलाई उसको भूमिमा भएको जोखिम अबस्थाबारे जानकारी दिएर जनधनको क्षति जोगाइदिन आग्रह गर्नु पर्छ।’

खड्का अनुसार जलवायु परिवर्तनले गर्दा पृथ्वीको तापक्रम बढ्दै गएको छ। पानी नै नपर्ने स्थानमा पानी परेको छ। जसले गर्दा हिमतालहरू फुट्ने र हिमताल मुनी रहेका मानव वस्तीमा ठूलो क्षति भइरहेको छ। यसबारे समयमै सतर्कता अपनाउन सकिएन भने ठूलो क्षति हुन्छ। ‘जलवायु परिवर्तनको उच्च जोखिममा नेपाल छ,’ उनले भने, ‘छलफल र बहस सँगै कुन स्थानमा के हुन सक्छ अध्ययन अनुसन्धान गरेर जनधनको क्षति जोगाउन लाग्नुको विकल्प छैन।’

असार २६, २०८२ बिहीबार १८:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।