सुर्खेतमा पाँच किलोभन्दा बढी अफिमसहित एक जना पक्राउ

सुर्खेत : सुर्खेत प्रहरीले पाँच किलोभन्दा बढी अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका-१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्राप्त गोप्य सूचनाको आधारमा निगरानी गरेपछि बुधबार साँझ करिब साढे ६ बजे भेरीगंगा नगरपालिका-१० स्थित तालबारीमा अफिम कारोबार भइरहेको पत्ता लागेको थियो। त्यसपछि खटिएको प्रहरी टोलीले बस्नेतलाई चेकजाँच गर्दा झोलाभित्र लुकाइ राखिएको अफिमजस्तो देखिने ५ किलो ५४० ग्राम गिलो पदार्थ फेला पारेको प्रहरी उपरीक्षक सुधीर राज शाहीले जानकारी दिए।
बस्नेतको साथबाट एक थान डिजिटल तराजु, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका ५ थान चेक धितो, र नगद ४ हजार ७३० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनीमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३, दफा १४, उपदफा ६(घ) अनुसार मुद्दा दर्ता गरिएको छ।
प्रहरीका अनुसार १०० ग्रामभन्दा बढी अफिमको कारोबार गर्ने व्यक्तिलाई १५ वर्षदेखि जन्मकैदसम्म कैद र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।
प्रारम्भिक अनुसन्धानबाट बस्नेतले जाजरकोटलगायतका पहाडी क्षेत्रबाट संकलन गरेको अफिम आर्थिक लाभका लागि सिमातर्फ ओसारपसार गर्न लागेको खुलेको छ। बरामद अफिमको बजार मूल्य करिब ८ लाख ८६ हजार ४ सय रुपैयाँ र प्रतिकिलो मूल्य १ लाख ६० हजार रहेको अनुमान गरिएको छ।
असार २६, २०८२ बिहीबार १५:१५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।