त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित

त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ६३ औँ वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीको ग्रेसलिष्ट पारित गरेको छ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेसलिष्ट अनुमोदन गरेको हो।

बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट र कार्यक्रम पनि प्रस्तुत गरिएको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले त्रिविलाई २१ औँ शताब्दीको आवश्यकता र प्रतिस्पर्धालाई सम्बोधन गर्न सक्ने सक्षम र आधुनिक विश्वविद्यालयका रूपमा विकास गर्नुपर्ने बताए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुजी पन्तले 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय लक्ष्य हासिल गर्न विश्वविद्यालयको भूमिका निर्णायक हुने भन्दै शिक्षा क्षेत्रले त्यसैअनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले त्रिविमा विदेशी विद्यार्थीको सहभागिता कम्तीमा एक प्रतिशत पुर्याउने लक्ष्य राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

असार २६, २०८२ बिहीबार १४:४१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।