तिलोत्तमाको माछा पोखरीमा डुबेर एक बालकको मृत्यु

तिलोत्तमाको माछा पोखरीमा डुबेर एक बालकको मृत्यु

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ भलबारीमा माछा पाल्न खनिएको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय १५ वर्षीय प्रज्ञान गौतम रहेको प्रहरीले जनाएको छ।

घर नजिकै रहेको स्थानीय व्यवसायी नारायण बञ्जाडेको माछा पोखरीमा तीन-चार जना साथीहरूसँग पौडी खेल्न गएका बेला गौतम डुबेका थिए।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक ईन्द्र रानाका अनुसार, प्रज्ञान साझ ६ बजेतिर पोखरीमा डुबेका थिए।

बालक डुबेको भन्दै साँझ ७ बजेतिर खबर आएपछि उद्धारका लागि पुगेको प्रहरीले राती १० बजे मात्रै पोखरीबाट उनको शव निकालेको थियो।

पोखरीको चारैतर्फ पर्खाल लगाइएको भए पनि गेट राखिएको थिएन र सोही खुला स्थानबाट उनीहरू पोखरीमा पौडी खेल्न पसेको बुझिएको प्रहरीले जनाएको छ।

असार २६, २०८२ बिहीबार १३:५६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।