टी२० विश्वकप छनोटमा कुबेत र जापानसँगै समूह ‘बी’ मा पर्यो नेपाल

एजेन्सी : आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसीसी पुरुष टी२० विश्वकप एशिया र पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ।
नौ टोली सहभागी प्रतियोगितामा नेपालसहित ओमान र पपुवा न्यू गिनी सिधै प्रवेश गरेका छन् भने बाँकी छ टोलीले उप-क्षेत्रीय छनोट पार गरेर खेल्न आएका हुन्। ओमानमा हुने यो छनोटबाट सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी२० विश्वकपका लागि ३ स्थानमा टोलीहरू छनोट हुनेछन्।
सहभागी नौ टोलीमा नेपाल, ओमान (आयोजक), पपुवा न्यू गिनी, कुवेत, मलेसिया, यूएई, कतार, जापान र सामोआ रहेका छन्। यीमध्ये ओमान, नेपाल, पपुवा न्यू गिनी र यूएईले यसअघि पुरुष टी२० विश्वकप खेलिसकेका छन्।
प्रतियोगिता करिब १० दिनसम्म चल्नेछ। समूह चरणका खेलहरू अक्टोबर ८ देखि १० सम्म हुनेछन्। नौ टोलीलाई ३-३ वटाको ३ समूहमा विभाजन गरिएको छ।
प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्, जुन अक्टोबर १२ देखि १७ सम्म खेलिनेछ। सुपर सिक्सको अन्त्यमा शीर्ष ३ स्थानमा रहने टोलीहरूले सन् २०२६ को टी२० विश्वकपमा स्थान बनाउनेछन्।
समूह विभाजन अनुसार, नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा कुवेत र पूर्वी एसिया-प्रशान्त क्षेत्रको उदाउँदो शक्ति मानिएको जापान रहेका छन्। समूह ‘ए’ मा यूएई, मलेसिया र कतार छन् भने आयोजक ओमान, पपुवा न्यू गिनी र सामोआ समूह ‘सी’ मा रहेका छन्।
यसैबीच, महिला टी२० विश्वकप २०२६ को लागि पूर्वी एसिया-प्रशान्त क्षेत्रको छनोट प्रतियोगिताको पनि घोषणा भएको छ। यो प्रतियोगिता सेप्टेम्बर ९ देखि १५ सम्म फिजीको सुभामा आयोजना हुनेछ।
आयोजक फिजीसहित भानुअतु, पपुवा न्यू गिनी, इन्डोनेसिया, जापान, सामोआ, कुक आइल्याण्ड्स र फिलिपिन्स सहभागी हुनेछन्। ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ र फाइनलको विजेता टोलीले विश्व टी२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ।
नेपालका लागि सन् २०२६ को टी२० विश्वकपमा पुग्ने यो अर्को महत्वपूर्ण अवसर हो, जसका लागि टोलीले समूह चरणमा कुवेत र जापानको सामना गर्नेछ।
असार २६, २०८२ बिहीबार १३:२९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।