मौसम विभागले भन्यो- ३६ किलोमिटर माथिको हिमताल विस्फोटले भोटेकोशीमा बाढी आयो

मौसम विभागले भन्यो- ३६ किलोमिटर माथिको हिमताल विस्फोटले भोटेकोशीमा बाढी आयो

काठमाडौं : असार २४ गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमताल विस्फोटकै कारण आएको प्रारम्भिक निष्कर्षमा जल तथा मौसम विज्ञान विभाग पुगेको छ।

विभागले बिहीबार बिहान विज्ञप्ति निकालेर बाढीको सम्भावित कारण पत्ता लगाउन गरिएको अध्ययनका क्रममा स्याटेलाइट तस्बिरहरुको विश्लेषण गरिएको उल्लेख गरेको छ।

विभागका अनुसार, रसुवागढीस्थित नेपाल-चीन सीमाबाट करिब ३६ किलोमिटर माथि चीनतर्फ लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्ने एक हिमतालको अध्ययन गर्दा महत्वपूर्ण तथ्य फेला परेको छ।

असार २१ गते (बाढी आउनुअघि) लिइएको स्याटेलाइट तस्बिरमा उक्त हिमताल करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्थ्यो। तर, असार २४ गते (बाढी आएको दिन) बिहान लिइएको तस्बिरमा तालको क्षेत्रफल घटेर करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ।

विभागले यी दुई तस्बिरको तुलनात्मक अध्ययन गर्दा हिमतालबाट ठूलो मात्रामा पानी निकास भएको र त्यसले गर्दा तालको क्षेत्रफल घटेको स्पष्ट देखिएको जनाएको छ। तालको सतही स्वरुपमा पनि उल्लेख्य परिवर्तन आएको र त्यसको असर तालभन्दा तलको क्षेत्रमा परेको अध्ययनले देखाएको छ।

स्याटेलाइट तस्बिरहरूको विश्लेषणबाट प्राप्त यी प्रमाणहरूका आधारमा भोटेकोशीमा आएको बाढी हिमताल विस्फोटबाटै सिर्जना भएको विभागको प्रारम्भिक निष्कर्ष छ।

यद्यपि, यो प्रारम्भिक निष्कर्ष मात्र भएकाले यसलाई थप पुष्टि गर्न चीनबाट स्थलगत प्रतिवेदन र आगामी दिनमा प्राप्त हुने अन्य स्याटेलाइट तस्बिरहरूबाट पनि थप प्रमाण मिल्ने विश्वास समेत विभागले लिएको छ।

जल तथा मौसम विज्ञान विभागले यस विषयमा निरन्तर अध्ययन जारी राख्ने र आधिकारिक जानकारी समय-समयमा अपडेट गर्दै जाने व्येहोरा अवगत गराएको छ।

असार २६, २०८२ बिहीबार ११:४२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।