समाचार प्रभाव : उकेराको रिपोर्टिङ र विज्ञापन बोर्डको पत्रपछि समाचार स्टुडियोमै छिरेको अवैध जुवाको विज्ञापन हट्यो

समाचार प्रभाव : उकेराको रिपोर्टिङ र विज्ञापन बोर्डको पत्रपछि समाचार स्टुडियोमै छिरेको अवैध जुवाको विज्ञापन हट्यो

काठमाडौं : कानुन विपरीत अनलाइन जुवाको प्रचार गरिरहेका नेपाली राष्ट्रिय समाचार च्यानलहरूले जुवा विज्ञापन रोकेका छन्। उकेराको रिपोर्टिङ र विज्ञापन बोर्डको पत्रपछि अवैध रूपमा अनलाइन जुवाको सरोगेट कम्पनीको प्रचार गरिरहेका उनीहरूले त्यसको विज्ञापन प्रसारण रोकेका हुन्।

प्राइम टाइम्स, न्यूज २४ र एभिन्यूज टेलिभिजनले दुई साताअघिदेखि मुख्य समाचारमै अनलाइन जुवा खेलाउने ‘मेलबेट’को सरोगेट कम्पनी ‘मेलब्याटडटलाइभ’को प्रचार गरिरहेका थिए। यसअघि खेलकुद क्षेत्रमा मात्र सीमित रहेको अनलाइन जुवा कम्पनी टेलिभिजनका स्टुडियोसम्मै पुगेपछि उकेराले यसबारेमा रिपोर्टिङ गरेको थियो।

टेलिभिजनमा कानुन विपरीत अनलाइन जुवाको सरोगेट कम्पनीका विज्ञापन प्रसारण भइरहेको सन्दर्भमा उकेराको रिपोर्टिङकै क्रममा प्राइम टाइम्स टेलिभिजनले विज्ञापन प्रसारण रोकेको थियो।

उकेराले प्राइम टाइम्सकी निर्देशक एलिजा गौतमसँग असार १४ गते दिउँसो गैरकानुनी रूपमा प्रसारण भइरहेको विज्ञापनबारे जिज्ञासा राखेपछि उनले आफूलाई यसबारेमा जानकारी नभएको बताएकी थिइन्।

सोही दिन दिउँसोसम्म ‘मेलब्याटडटलाइभ’को विज्ञापन समाचार वाचकको अगाडि ल्यापटपमा राखिएको थियो। तर, उकेराले रिपोर्टिङ गरिरहेको भन्ने जानकारी पाउने बित्तिकै साँझ सात बजेको समाचारमा भने उक्त विज्ञापन हटाइएको देखियो। शनिबार साँझपछि प्राइम टाइम्समा उक्त विज्ञापन देखिएन।

उकेराको रिपोर्टिङपछि विज्ञापन बोर्डले यसबारेमा सम्बन्धित टेलिभिजन च्यानलहरूलाई असार १६ गते पत्र काटेको थियो। बोर्डले तीन टेलिभिजनलाई सात दिने स्पष्टीकरण समेत सोधेको थियो। बोर्डको पत्रपछि बाँकी दुई टेलिभिजनले पनि अनलाइन जुवाको सरोगेट कम्पनीको विज्ञापन रोकेका हुन्।

१६ गते पत्र गएकोमा न्यूज २४ टेलिभिजनले भने १८ गते बेलुकी ८ बजेको समाचारमा अनलाइन जुवाको सरोगेट कम्पनीको विज्ञापन देखिएन। एभिन्यूज टेलिभिजनले भने १९ गते दिउँसोसम्म पनि अवैध प्रचार गरिरहेको थियो तर साँझ सात बजेको मुख्य समाचारमा उक्त विज्ञापन हटायो।

पछिल्लो समय न्यूज२४, एभिन्यूज र प्राइम टाइम्स टेलिभिजनले अनलाइन जुवा खेलाउने कम्पनी ‘मेलबेट’ले आफ्नो सरोगेट अनलाइन प्लेटफर्म ‘मेलब्याटडटलाइभ’मार्फत गैरकानुनी रूपमा समाचारको प्रायोजन गरिरहेका थिए।

सञ्चारमाध्यमबाट जुवाको प्रचार गर्नु गैरकानुनी भए पनि निजी टेलिभिजन च्यानलहरूले नियामक निकायलाई पेलेरै निर्लज्ज जुवाको प्रचार गरेका थिए।

कान्तिपुर म्याक्सले भित्र्याएको थियो टेलिभिजनमा जुवाको विज्ञापन
कान्तिपुर म्याक्स टेलिभिजनले अनलाइन बेटिङ सम्बन्धी साइटको सरोगेट विज्ञापन टेलिभिजनमा भित्र्याएको थियो। इन्डियन प्रिमियर लिग (आईपीएल)सम्बन्धी प्रिम्याच कार्यक्रममा जुवाको सरोगेट कम्पनीको विज्ञापन देखाएको थियो।

यसरी खेलकुद कार्यक्रम हुँदै अहिले समाचारमूलक टेलिभिजनहरू न्युज२४, एभिन्यूज र प्राइम टाइम्सको समाचार बुलेटिनमै अनलाइन जुवाको सरोगेट कम्पनीको विज्ञापन प्रसारण भइरहेका थिए। समाचार च्यानलहरूले समाचार वाचक अगाडि राख्ने ल्यापटपमा जुवा खेलाउने कम्पनीको सरोगेट विज्ञापन राखेर सार्वजनिक रूपमा कानुन उल्लङ्घन गरिरहेका थिए।

‘मेलब्याटडटलाइभ’ अनलाइन जुवा कम्पनी ‘मेलबेट’को सरोगेट कम्पनी हो। नेपालजस्ता अनलाइन जुवाको प्रचारप्रसारमा प्रतिबन्ध रहेका देशमा यस्ता जुवा कम्पनीहरूले विज्ञापनमा प्रतिबन्ध छल्नका लागि आफ्नो सरोगेट कम्पनीको रूपमा उस्तै लोगोमा केही अक्षरको मात्र फरक गरेर प्रचारको शैली अपनाउने गर्छन्।

के छ कानुन?
जुवाबारे नेपालको कानुन स्पष्ट छ; यो पूर्णतः प्रतिबन्धित छ। तर, नियमन निकायहरूको कमजोरी वा मिलेमतोले यस्ता कम्पनीहरूले सहजै नेपालमा आफ्नो प्रभाव बढाइरहेका छन्। खेलकुद संस्था र केही टेलिभिजन च्यानलहरू केही रकममा लोभिँदा उनीहरूलाई नेपालको टोल-टोलसम्म फैलन सघाइरहेका छन्।

नेपालको कानुनले कुनै प्रकारको जुवा खेल्न, खेलाउन वा त्यसका लागि कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न अनुमति दिँदैन। यसमा शून्य सहनशीलता अपनाइएको छ।

तर, नेपालमा आयोजना हुने क्रिकेट र फुटबलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमार्फत मात्र नभई अब राष्ट्रिय न्युज च्यानलबाट समेत अनलाइन जुवा खेलाउने कम्पनीहरू सहजै नेपालीमाझ घुस्दै गएका थिए।

जुवा ऐन, २०२० को दफा ३ ले जुवा खेल्न, खेलाउन वा त्यसका लागि कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न समेत प्रतिबन्ध लगाएको छ। यस्तो कार्यमा संलग्न हुनेलाई दण्ड सजायको व्यवस्था छ।

त्यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ (१) को (ख) मा ‘जुवा खेल्न वा खेलाउन प्रोत्साहन गर्ने’ विषयमा विज्ञापन गर्न नहुने स्पष्ट व्यवस्था छ। यसरी कानुनले स्पष्ट रूपमा वर्जित गरेको क्रियाकलापलाई प्रवर्द्धन गरेर टेलिभिजन च्यानलहरूले कानुनको ठाडो उल्लङ्घन गरिरहेका थिए।

सोही ऐनको दफा २५ को उपदफा २ मा त्यस्तो कसुर गरेबापत प्रचलित कानुनले कुनै सजाय हुने रहेछ भने सोही बमोजिम सजाय गर्नुपर्ने र त्यस्तो नभएमा एक वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

‘विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९’को दफा २० मा विज्ञापन प्रकाशन तथा प्रसारणसम्बन्धी आचरणबारे उल्लेख छ। जसको उपदफा (ङ)को बुँदा नम्बर ७ मा विज्ञापन बोर्डबाट परीक्षण अनुमति प्राप्त नगरी विज्ञापन प्रसारण गर्न वा गराउन नहुने प्रावधान छ।

विज्ञापन सामग्री परीक्षण समितिले प्रसारणको स्वीकृति दिएपछि त्यसको अभिलेखीकरण गरेर मात्र सञ्चारमाध्यमबाट प्रसारण गर्न पाइने व्यवस्था छ।

यसरी स्वीकृति नै नभएका विज्ञापन प्रसारण गरेमा विज्ञापनदाता, विज्ञापन एजेन्सी र विज्ञापन प्रसारण गर्ने संस्थालाई पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। तर, नेपाली टेलिभिजनहरूले विज्ञापन बोर्डबाट स्वीकृति लिन जाँदा अनुमति नपाइने निश्चित भएपछि आफूखुसी डिल गरेर अनलाइन बेटिङको प्रचार गरिरहेको पाइएको थियो।

यो पनि:

असार २६, २०८२ बिहीबार १०:४०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।