६९ लागे आलोक नाथ : मातेको सुरमा पाइलटलाई थप्पड हाने, बलात्कारको आरोपपछि करियर नै बर्बाद

६९ लागे आलोक नाथ : मातेको सुरमा पाइलटलाई थप्पड हाने, बलात्कारको आरोपपछि करियर नै बर्बाद

एजेन्सी : बलिउड र टेलिभिजन उद्योगमा एउटा यस्तो अनुहार छ, जसलाई उनको वास्तविक नाम भन्दा बढी उनले निभाएका पात्रहरूले चिनाउँछन्। विशेषगरी ‘संस्कारी बाबुजी’ को छवि बनाएका अभिनेता आलोक नाथको आज जन्मदिन हो।

उनको ७० को दशकदेखि सुरू भएको यात्रामा ठूला सफलताका साथै गम्भीर विवादहरू पनि जोडिएका छन्। आज उनको विशेष दिनमा, उनको उतारचढावपूर्ण जीवनलाई नजिकबाट नियालौँ।

प्रारम्भिक जीवन र अभिनयको मोह
आलोक नाथको जन्म सन् १९५६ जुलाई १० मा भएको थियो। उनका बुबा डाक्टर थिए र छोरा पनि सोही पेशामा लागोस् भन्ने चाहन्थे। तर, आलोकको मन कला र थिएटरतिर खिचियो। उनले विज्ञान विषय छोडेर कलेजमा कला पढे र अभिनयलाई आफ्नो बाटो बनाए। उनका आमाबाबुले पनि उनको निर्णयलाई समर्थन गरे।

दिल्ली विश्वविद्यालयमा पढ्दै गर्दा आलोक थिएटरमा सक्रिय भए। पछि उनले अभिनयमा निखार ल्याउन दिल्लीको प्रतिष्ठित नेशनल स्कूल अफ ड्रामा (एनएसडी) मा प्रशिक्षण लिए। पढाइका साथै उनी लगातार थिएटर र टेलिभिजनमा काम गरिरहे।

पहिलो फिल्म र करियरको सुरुवात
आलोक नाथले सन् १९८० मा एनएसडीमा अध्ययन गरिरहेकै बेला रिचर्ड एटनबरो निर्देशित अन्तर्राष्ट्रिय फिल्म ‘गान्धी’ मा सानो भूमिका पाए। यो नै उनको फिल्मी करियरको पहिलो कदम थियो। उनले यस फिल्ममा तैयब मोहम्मदको भूमिका निभाएका थिए।

उनले ‘गान्धी’ मा काम गरेबापत पाएको २० हजार रुपैयाँ पारिश्रमिक देखेर निकै अचम्ममा परेका थिए, किनकि त्यसबेला थिएटरमा काम गरेर मुस्किलले १० दिनको रिहर्सलको ६० रुपैयाँ मात्र कमाइ हुन्थ्यो।

‘गान्धी’ पछि उनी मुम्बई आए, तर सुरुवाती दिनमा उनले निकै संघर्ष गर्नुपर्यो। उनले ‘मशाल’ र ‘सारांश’ जस्ता फिल्ममा साना भूमिकाहरू पाए।

राजश्री प्रोडक्सनको फिल्म ‘सारांश’का लागि अडिसन दिँदा निर्माता राजकुमार बडजात्या २५ वर्षका आलोकले नाटकमा निभाएको वृद्धको भूमिकाबाट प्रभावित भए पनि ‘बी प्रधान’ को मुख्य भूमिका अनुपम खेरले पाए।

आलोकलाई सानो पण्डितको भूमिका दिइयो। तर, यही सम्बन्धले गर्दा उनले पछि राजश्री प्रोडक्सनका धेरै सफल फिल्महरूमा काम गर्ने अवसर पाए।

‘बाबुजी’ को पहिचान
आलोक नाथको करियरको टर्निङ प्वाइन्ट सन् १९८९ मा आयो, जब उनले सूरज बडजात्याको सुपरहिट फिल्म ‘मैने प्यार किया’ मा अभिनेत्री भाग्यश्रीको बुबाको भूमिका निभाए।

यो भूमिका यति लोकप्रिय भयो कि उनी ‘बाबुजी’ को नामले चिनिन थाले। त्यसपछि ‘हम आपके हैं कौन..!’, ‘हम साथ साथ हैं’, ‘विवाह’ जस्ता फिल्ममा पारिवारिक र आदर्श पिताको भूमिकाले उनको यो छविलाई अझ बलियो बनायो।

टेलिभिजनमा भने उनले सन् १९८० मा ‘रिश्ते-नाते’बाट करियर सुरू गरे पनि सन् १९८६ को सिरियल ‘बुनियाद’ बाट उनले घर-घरमा पहिचान बनाए। यो शो त्यतिबेला अत्यन्तै लोकप्रिय थियो।

उनले ‘तारा’, ‘सपना बाबुल का...बिदाई’, ‘ये रिश्ता क्या कहलाता है’ जस्ता दर्जनौं सफल सिरियलमा काम गरेका छन्। रोचक त के भने, सन् १९९० मा मात्र ३४ वर्षका आलोक नाथले ४८ वर्षका अमिताभ बच्चनको फिल्म ‘अग्निपथ’मा बुबाको भूमिका निभाएका थिए।

व्यक्तिगत जीवन र सामाजिक सञ्जालमा चर्चा
न्यूज १८ को रिपोर्ट अनुसार, आलोक नाथको अभिनेत्री नीना गुप्तासँग लामो समय सम्बन्ध रहेको थियो, तर पारिवारिक कारणले उनीहरूको विवाह हुन सकेन। सन् १९८७ मा उनले आशु सिंह नाथसँग विवाह गरे।

सन् २०१३ को अन्त्य र २०१४ को सुरुवातमा आलोक नाथमाथि बनेका रमाइला चुट्किला तथा मीम्स सामाजिक सञ्जालमा निकै भाइरल भए। उनको ‘संस्कारी’ छविलाई लिएर बनेका यी मीम्स उनले आफैँले पनि मन पराएको बताएका थिए।

विवादै विवाद
आलोक नाथको सार्वजनिक ‘संस्कारी’ छविका बाबजुद उनी केही गम्भीर विवादमा मुछिए। एक पटक आलोक नाथ दुबईमा एक कार्यक्रमको लागि गएका थिए। फर्कने क्रममा उनले विमानस्थल जानुअघि धेरै रक्सी पिएका थिए।

प्राविधिक कारणले उडान ढिलो भएपछि, आलोकको नशा चढ्यो। अचानक उनी आफ्नो सिटबाट उठे र पाइलटलाई बेस्सरी थप्पड हाने। सबै यात्रु र चालक दल छक्क परे। प्रहरी बोलाइयो र आलोकलाई उडानबाट निकालियो।

तर, सबैभन्दा ठूलो र गम्भीर विवाद सन् २०१८ को अक्टोबरमा भारतमा चलेको ‘मी टू’ आन्दोलनका क्रममा देखा पर्यो। टिभी लेखिका तथा निर्मात्री विन्ता नन्दाले फेसबुक पोस्टमार्फत आलोक नाथले विगतमा आफूलाई पटक-पटक बलात्कार गरेको आरोप लगाइन्। उनले आलोकले एक पार्टीपछि घर पुर्याइदिने बहानामा रक्सी खुवाएर दुर्व्यवहार गरेको बताएकी थिइन्।

विन्ता नन्दाको यो आरोपपछि अभिनेत्री सन्ध्या मृदुल, दीपिका अमीन र हिमानी शिवपुरी लगायत अन्य धेरै महिलाहरूले पनि आलोक नाथको दुर्व्यवहार गर्ने र विशेषगरी रक्सी पिएपछि उनको व्यवहार निकै खराब हुने बताएका थिए।

सन्ध्या मृदुलले आलोकले छायांकनको क्रममा आफूमाथि दुर्व्यवहार गर्न खोजेको र रातभर आफ्नो कोठाको ढोका ढकढक्याएर हैरान पारेको अनुभव सुनाएकी थिइन्। दीपिका अमीन र हिमानी शिवपुरीले पनि रक्सी पिएपछि उनको व्यवहार ‘जेकिल र हाइड’ जस्तै हुने र महिलामाथि दुर्व्यवहार गर्ने गरेको भन्ने उद्योगमा सबैलाई थाहा भएको कुरा बताएका थिए।

यी आरोपहरू सार्वजनिक भएपछि सिने एण्ड टिभी आर्टिस्ट एसोसिएसन (सिन्टा) ले आलोक नाथलाई संस्थाबाट निष्कासन गर्यो। मुम्बई एकेडेमी अफ मुभिङ इमेज (मामी) ले पनि आफ्नो फिल्म महोत्सवबाट उनका फिल्महरू हटायो।

विन्ता नन्दाको मुद्दामा आलोक नाथले सन् २०१९ जनवरीमा ५ लाख रुपैयाँ धरौटीमा अग्रिम जमानत पाएका थिए। जमानतपछि उनले अदालत र वकिलको सल्लाह अनुसार आफू चुपचाप रहेको बताएका थिए।

असार २६, २०८२ बिहीबार ०९:३२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।