लाल सागरमा हुथी विद्रोहीको आक्रमण: एक कार्गो जहाज डुब्यो, १९ जना बेपत्ता

एजेन्सी : यमनका हुथी विद्रोहीहरूले लाल सागरमा एउटा कार्गो जहाजमा आक्रमण गरी डुबाएका छन्।
यस घटनामा जहाजका चालक दलका सदस्यमध्ये कम्तीमा १९ जना बेपत्ता भएका छन् भने ६ जनालाई उद्धार गरिएको युरोपेली संघको नौसेना मिसनले जनाएको छ।
युके मेरिटाइम ट्रेड अपरेशन्स (युकेएमएमटीओ) एजेन्सीले जनाएअनुसार लाइबेरियाली झण्डा भएको एमभी ट्युटर नामक उक्त जहाजमा २५ जना चालक दलका सदस्य सवार थिए।
सोमबार एउटा सानो डुङ्गाबाट प्रहार गरिएको रकेट-प्रोपेल्ड ग्रेनेडआक्रमणमा जहाज गम्भीर रूपमा क्षतिग्रस्त भई शक्तिहीन भएको थियो। जहाजमा पानी पसेपछि यो अन्ततः डुबेको हो।
इरान समर्थित हुथी विद्रोहीहरूले एमभी ट्युटर इजरायलतर्फ गइरहेकाले आक्रमण गरेको बताएका छन्। उनीहरूले धेरै चालक दलका सदस्यलाई बन्धक बनाएको दाबी गरेका छन्।
यमनस्थित अमेरिकी दूतावासले पनि हुथीहरूले ‘धेरै चालक दलका सदस्यहरूलाई अपहरण गरेको’ भन्दै उनीहरूको तत्काल रिहाइको माग गरेको छ।
बुधबार, लाल सागरमा तैनाथ युरोपेली संघको नौसेना मिसन ‘अपरेशन एस्पाइड्स’ ले जहाजबाट पहिले बेपत्ता रहेका छ जना चालक दलका सदस्यहरूलाई उद्धार गरिएको पुष्टि गरेको छ।
एस्पाइड्सका एक अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार उद्धार गरिएकामध्ये पाँच जना फिलिपिन्सका नागरिक र एक जना भारतीय थिए। २५ जना चालक दलमध्ये बाँकी १९ जना अझै बेपत्ता रहेका छन्।
लाल सागरमा हुथी विद्रोहीहरूको आक्रमणबाट डुबेको यो दोस्रो जहाज हो। यसअघि पनि उनीहरूले कार्गो जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्।
असार २६, २०८२ बिहीबार ०८:२५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।