ट्रम्पद्वारा ब्राजिलमाथि ५० प्रतिशत करको घोषणा, बोल्सोनारो विरुद्ध चलिरहेको मुद्दाको कडा निन्दा

एजेन्सी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ब्राजिलबाट आयात हुने सामानमा भारी कर लगाउने घोषणा गरेका छन्। ट्रुथ सोसलमा एक पत्र साझा गर्दै उनले ब्राजिलका पूर्व राष्ट्रपति तथा आफ्ना साथी जैर बोल्सोनारो विरुद्ध चलिरहेको मुद्दाको कडा निन्दा गरे।
ट्रम्पले बोल्सोनारोमाथि भइरहेको कारबाही ब्राजिलको लागि ‘अन्तर्राष्ट्रिय लज्जा’ र ‘विच हन्ट’ भएको बताए। बोल्सोनारोमाथि ८ जनवरी २०२३ मा राजधानी ब्रासिलियामा भएको दंगाका क्रममा कथित रूपमा 'कू' को प्रयास गरेको आरोप छ।
ट्रम्पले बोल्सोनारो एक सम्मानित नेता भएको र उनीमाथि गरिएको व्यवहार तत्काल रोकिनुपर्ने बताए। उनले बोल्सोनारो विरुद्धको मुद्दा तुरुन्तै समाप्त हुनुपर्ने माग गरे। ट्रम्पले ब्राजिलमा स्वतन्त्र चुनावमाथि आक्रमण भइरहेको र अमेरिकी जनताको अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण भइरहेको आरोप लगाए।
यही कारण देखाउँदै, उनले अगस्ट १, २०२५ देखि ब्राजिलबाट अमेरिका आउने सबै उत्पादनहरूमा ५० प्रतिशत कर लगाइने घोषणा गरे। उनले ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोलाई आगामी चुनाव लड्न रोक लगाएको आदेश र ट्रम्पको सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल तथा रम्बलमा दिइएको सेन्सरसीप आदेशको पनि उल्लेख गरे।
अन्य ७ देशमा पनि कर घोषणा
ब्राजिलमाथिको कर घोषणासँगै ट्रम्पले बुधबार थप ७ देशहरूमा पनि आयात शुल्क लगाउने घोषणा गरे। यी देशहरूमा फिलिपिन्स, ब्रुनाई, अल्जेरिया, मोल्डोभा, इराक, लिबिया र श्रीलंका समावेश छन्।
उनले यी देशका नेताहरूलाई पठाएको आधिकारिक पत्रमा करको विवरण साझा गरे। अल्जेरिया, इराक, लिबिया र श्रीलंकामा ३० प्रतिशत कर लगाइएको छ। ब्रुनाई र मोल्डोभामा २५-२५ प्रतिशत र फिलिपिन्समा २० प्रतिशत कर निर्धारण गरिएको छ।
पहिला नै १४ देशमा कर लगाउने घोषणा
ट्रम्पको यो घोषणा बुधबार गरिएको घोषणाको एक दिनपछि आएको हो। यसअघि, सोमबार ट्रम्पले बंगलादेश र जापानसहित १४ देशमाथि कर बढाउने घोषणा गरेका थिए।
यस निर्णय अन्तर्गत, केही देशहरूमा २५ प्रतिशत कर लगाइएको थियो भने केहीमा ३० प्रतिशत देखि ४० प्रतिशत सम्मको शुल्क लगाइएको थियो। जापान र दक्षिण कोरियामा २५ प्रतिशत शुल्क लाग्ने पत्र पठाइएको थियो।
ट्रम्पले अमेरिका र यी देशहरू बीचको व्यापार असन्तुलनलाई सच्याउन यस्ता करहरू आवश्यक भएको बताएका छन्। ब्राजिलमाथिको ५० प्रतिशत कर अगस्ट १, २०२५ देखि लागू हुनेछ। यसअघि ट्रम्पले जुलाई ९ मा यसको घोषणा गर्ने तयारी गरिरहेका थिए।
ट्रम्पले भने- मेरो पहिलो कार्यकालमा मुद्रास्फीति थिएन
हिजो, ट्रम्पले अघिल्ला सरकारहरूलाई खिल्ली उडाउँदै तिनीहरूका कारण अमेरिकाले दुःख भोग्नुपरेको दाबी गरे।
ट्रम्पले भने, ‘मेरो पहिलो कार्यकालमा सयौं अर्ब डलरको कर लगाइएको थियो। त्यतिबेला मुद्रास्फीति थिएन, त्यो देशको लागि सबैभन्दा सफल आर्थिक समय थियो। मलाई लाग्छ यसपटक यो राम्रो हुनेछ। हामीले अहिलेसम्म सुरू पनि गरेका छैनौं र हामीले पहिले नै १०० अर्ब डलरभन्दा बढीको भन्सार शुल्क जम्मा गरिसकेका छौँ।’
असार २६, २०८२ बिहीबार ०८:०४:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।