उपल्लो मुस्ताङ बाढीले सातवटा पुलमा पूर्ण क्षति, रिङरोडसहित शाखा सडकको आवागमन अवरुद्ध

उपल्लो मुस्ताङ बाढीले सातवटा पुलमा पूर्ण क्षति, रिङरोडसहित शाखा सडकको आवागमन अवरुद्ध

मुस्ताङ : उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा आएको अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक अनुगमन सुरू भएको छ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले बुधबार बाढी प्रभावित क्षेत्रको अनुगमन गरी क्षतिको यकिन गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीका अनुसार, बाढीले लोमान्थाङ-४ चुम्जुङस्थित छुआमा खोलामा रहेका गाउँपालिकाको शाखा सडकका तीन पक्की, एक फलामे र तीन काठे गरी कुल सातवटा पुलमा पूर्ण क्षति पुर्याएको छ।

यसबाट रु डेढ करोडभन्दा बढीको नोक्सान भएको अनुमान गरिएको छ। बाढीले पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशुचौपायामा भने कुनै क्षति नपुगेको जनाइएको छ।

बाढी आएको समयमा त्यस क्षेत्रमा वर्षा नभएको र मुहान क्षेत्रको लेकमा हिमतालहरू रहेकोले यो बाढी हिमताल फुटेर आएको हुनसक्ने स्थानीय प्रशासन र स्थानीयको आशङ्का छ।

उच्च लेकमा रहेका हिमताल जलवायु परिवर्तनका कारण जोखिममा रहेको विज्ञहरू बताउँछन्। पुलमा क्षति पुगेपछि रिङरोड लगायत शाखा सडकको आवागमन अवरुद्ध भएको छ।

असार २६, २०८२ बिहीबार ०७:२०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।