उकेरा प्रभाव : स्वास्थ्य सचिव डा. देवकोटाले मिलेमतोमा निकालेको १० करोडको टेण्डर डा. बाराकोटीले रद्द गरे

उकेरा प्रभाव : स्वास्थ्य सचिव डा. देवकोटाले मिलेमतोमा निकालेको १० करोडको टेण्डर डा. बाराकोटीले रद्द गरे

काठमाडौं : स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब दश करोड ८६ लाखका तीन वटा टेण्डर रद्द गरेको छ। मिलेमतोको खुलासापछि महाशाखाले ‘मोबाइल सी-आर्म’, ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ र ‘फ्राक्शनल फ्लो रिभर्स (एफएफआर) मेजरमेन्ट सिस्टम’को टेण्डर रद्द गरेको हो।

महाशाखाले २०८२ असार २३ (२०२५ जुलाई ७) मा सूचना प्रकाशित गर्दै यी तीन वटा टेण्डर रद्द गरेको जनाएको छ।

 महाशाखाले तीनमध्ये करिब दुई करोड ८६ लाखमा सात वटा ‘मोबाइल सी-आर्म’ किन्ने गरी अगाडि बढाएको टेण्डर रद्द गरेको हो। रद्द गरिएको ‘मोबाइल सी-आर्म’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस-जी-एनसीबी-३७.१-एमडी-२०८१-८२’ हो। महाशाखाले असार १८ (जुलाई २) मा यो टेण्डर रद्दको निर्णय भएको जनाएको छ।

महाशाखाले करिब सात करोड २० लाखको ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिदका लागि अघि बढाएको टेन्डर पनि रद्द गरेको छ। रद्द गरिएको ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस-जी-एनसीबी-३८-एमडी-२०८१-८२’ हो।  महाशाखाले असार २० (जुलाई ४) मा यो टेण्डर रद्दको निर्णय गरेको जनाएको छ।

त्यसैगरी महाशाखाले करिब ८० लाखमा खरिद गर्ने गरी टेण्डर गरेको ‘फ्राक्शनल फ्लो रिभर्स (एफएफआर) मेजरमेन्ट सिस्टम’को टेण्डर पनि रद्द गरेको छ। टेण्डर रद्द गरिएको ‘फ्राक्शनल फ्लो रिभर्स (एफएफआर) मेजरमेन्ट सिस्टम’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस-जी-एनसीबी-३७.टुए-एमडी-२०८१-८२’ हो। महाशाखाले जेठ २५ (जुन ८) मा यो टेण्डर रद्दको निर्णय गरेको जनाएको छ।


यस्तो थियो, दोब्बर मूल्यमा ‘सी–आर्म’ किन्ने मिलेमतो 

विभाग अन्तर्गतको महाशाखाले दुई करोड ८६ लाखमा सात वटा ‘सी-आर्म’ मेसिन किन्ने प्रक्रियामा बदनियत देखिएकोबारे उकेराले डेढ महिना अघि जेठ ११ मा सप्रमाण समाचार सम्प्रेषण गरेको थियो। एकल कम्पनीको प्रस्तावलाई अगाडि बढाउँदै मिलेमतोमा विभागले महंगोमा दोब्बर मूल्यमा मेसिन किन्ने तयारी गरेको थियो। 

व्यवस्थापन महाशाखाले २०८१ माघ ४ (२०२५, जनवरी १७)  मा सात वटा ‘मोबाइल सी-आर्म’ मेसिन खरिद गर्ने गरी टेन्डर आह्वान गर्दै खरिद प्रक्रिया अगाडि बढाएका थियो। 

महाशाखाले २०८२ वैशाख २२ (२०२५, मे ५) मा सात वटा ‘सी–आर्म’ मेसिनको प्राविधिक प्रस्ताव स्वीकृत भएको आशयको सूचना समेत प्रकाशित गरिसकेको थियो। महाशाखाको सूचनामा ‘सी-आर्म’ मेसिनको टेन्डरको प्राविधिक मूल्याङ्कनमा एकल कम्पनी ‘नेश्नल इलेक्ट्रोटेक प्रालि’ मात्र छनोट भएको थियो।

‘नेश्नल इलेक्ट्रोटेक प्रालि’ भारतीय मेसिन उत्पादक कम्पनी एलेन्जर्सको नेपाली सप्लायर्स कम्पनी हो। प्राविधिक मूल्याङ्कनको चरणमा छनोट गर्दै महाशाखाले प्रकाशित गरेको सूचनामा आर्थिक प्रस्ताव वैशाख ३० मा खुल्ने समेत उल्लेख गरेको थियो।

सो टेन्डरको आर्थिक प्रस्ताव स्वीकृत हुन बाँकी रहँदै उकेराले मिलेमतोबारे खुलासा गरेको थियो। प्राविधिक मूल्याङ्कनमा एकल प्रस्ताव मात्र स्वीकृत भएकाले सो टेन्डर प्रक्रिया स्वीकृत भएको खण्डमा ‘नेश्नल इलेक्ट्रोटेक प्रालि’ले नै पाउने निश्चित थियो।

महाशाखाको खरिद प्रक्रियामा रहेको सो ‘सी-आर्म’ मेसिनको टेन्डरमा अन्य प्रस्ताव समेत नपरेको हैन। तर, प्रारम्भमै खरिद मापदण्डमा मिलेमतो गरेकाले एकल प्रस्ताव मात्र पास गरिएको थियो। 

पूर्व योजना अनुसार नै मिलेमतोमा अगाडि बढेको खरिद प्रक्रियामा लागत अनुमानमै चलखेल गरेर करिब दोब्बर मूल्य कायम गरेको र खरिद मापदण्डका प्राविधिक प्रावधानहरू एलेन्जर्सको उत्पादक मेसिनसँग मात्र मिल्ने गरी निर्माण गरिएको देखिएको थियो। सोही अनुसार ‘नेश्नल इलेक्ट्रोटेक प्रालि’को मात्र प्रस्ताव प्राविधिक मूल्याङ्कनको चरणमा पास गरेर खरिद प्रक्रिया अगाडि बढेको थियो।

व्यवस्थापन महाशाखाले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय प्रणालीमा सार्वजनिक गरेको टेन्डर कागजातमा करिब दुई करोड ८६ लाखमा सात वटा ‘सी-आर्म’ मेसिन खरिद गर्नेगरी टेन्डर प्रक्रिया अगाडि बढाउनु अस्वाभाविक देखिएको थियो। 

महाशाखाले एउटा ‘सी-आर्म’ मेसिन ४० लाख ८५ हजार भन्दा बढी मूल्यमा खरिद गर्ने गरी टेन्डर प्रक्रिया अन्तिम चरणमा पुर्याएको  थियो। 

तर, उकेराको खोजका क्रममा महाशाखाले खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको भारतीय उत्पादक कम्पनी ‘एलेन्जर्स’को सो ‘सी-आर्म’ मेसिनको मूल्य करिब सात लाख भारतीय रुपैयाँ पर्ने देखिएको थियो। सबै खर्च कटाएर नेपाल आइपुग्दा यो मेसिन नेपाली १७ लाख हाराहारी पर्ने देखिएको थियो।

तर, यसका जानकारले यो मेसिन नेपालमा करिब २० देखि अधिकतम २५ लाखमा आउने बताएका थिए। यसरी हेर्दा प्रतिगोटा २० लाख हाराहारी पर्ने ‘सी-आर्म’ मेसिन विभागको महाशाखाले ४० लाख ८५ हजार भन्दा बढी मूल्यमा खरिद गर्नेगरी प्रक्रिया अगाडि बढाएकोबारे उकेराले खुलासा गरेको थियो। त्यसपछि विभाग नेतृत्वले ‘सी-आर्म’ मेसिनको टेण्डर रद्द गरेको हो।

सिटीजीको टेण्डर रद्द

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले हाल टेण्डर रद्द गरेको ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’मा भएको मिलेमतोबारे पनि उकेराले निरन्तर सप्रमाण समाचार सम्प्रेषण गरेको थियो।

 महाशाखाले २०८१ मंसिर २३ मा सात करोड २० लाखमा खरिद गर्नेगरी ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ आह्वान गरेको थियो। मिलेमतो अनुसार नै ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’को प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर निश्चित सप्लायर्स कम्पनीलाई टेण्डर दिनेगरी प्रक्रिया अगाडि बढाएकोबारे खुलासा गर्दै उकेराले निरन्तर समाचार सम्प्रेषण गरेको थियो। 

महाशाखाले मिलेमतो अनुसार एउटै टेन्डर कागजातमा दुई वटा मेसिनको छुट्टाछुट्टै प्राविधिक स्पेशिफिकेशन बनाएर ‘मनिटर’, ‘कार्डियोटोकोग्राफ (सिटीजी)’ र ‘इलेक्ट्रोसर्जिकल युनिट (डाइथर्मी मेसिन) ४०० वाट’को टेन्डर आह्वान गरिएको थियो। जसमध्ये ‘मनिटर’, ‘कार्डियोटोकोग्राफ (सिटीजी) २५ सेट’ र ‘इलेक्ट्रोसर्जिकल युनिट’ ५० सेट खरिदका लागि टेन्डर आह्वान भएको थियो। 

टेन्डरको स्पेशिफिकेशनको अध्ययन गर्दा इटालियन उत्पादक कम्पनी ‘लिड’को ‘सुरट्रोन ४०० एचपी’ मोडलको नेपाली सप्लायर्ससँग ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिद गर्ने रणनीतिमा टेन्डर प्रक्रिया अगाडि बढाएकोबारे उकेराले खुलासा गरेको थियो। 

एलईडि डट एसपिए नामक इटालियन उत्पादक कम्पनीको मोडल नम्बर ‘सुर्टन ४००एचपि’को ईलेक्ट्रो सर्जिकल युनिट मेसिन खरिद गर्नेगरि स्पेशिफिकेशन लक्ड गरिएको देखिएको थियो। जसले गर्दा मिलेमतो अनुसारकै सिटिजि र ईलेक्ट्रो सर्जिकल युनिट दुवैको टेन्डर एउटैलाई पर्ने निश्चित नै थियो।

 यसरी उत्पादक कम्पनीको क्याटलग नै कपिपेष्ट गरेर स्पेशिफिकेशन तथा प्राविधिक स्पेशिफिकेशनका विभिन्न बुँदाहरू लक्ड गर्दै चाहेकै सप्लायर्स कम्पनीलाई टेण्डर दिने रणनीति अनुसार नै विभाग नेतृत्वले ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’को टेण्डर प्रक्रिया अगाडि बढाएको थियो। तर, हालको विभाग नेतृत्वले भने यो टेण्डर नै रद्द गरिदिएको छ।

यस्तो छ मिलेमतोको जालो

विभाग अन्तर्गतको महाशाखाले ‘मोबाइल सी-आर्म’, ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ र ‘फ्राक्शनल फ्लो रिभर्स (एफएफआर) मेजरमेन्ट सिस्टम’को टेण्डर आह्वान गर्दा स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. विकास देवकोटा थिए। स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल नै थिए।

स्वास्थ्यमन्त्री पौडेलले डा. संगीता कौशल मिश्रालाई हटाउँदै डा. देवकोटालाई गत असोज पहिलो साता विभागको महानिर्देशकको जिम्मेवारीमा पठाएका थिए। फागुन तेस्रो साता डा. देवकोटा स्वास्थ्य सचिव भएपछि मन्त्री पौडेलले डा. टंकप्रसाद बाराकोटीलाई विभागको महानिर्देशक बनाएका छन्।

यसरी हेर्दा डा. देवकोटा विभागको महानिर्देशक हुँदा नै महाशाखाले स्पेशिफिकेशन नै लक्ड गरेर यी तीन टेन्डरको प्रक्रिया अगाडि बढाएको देखियो।

अनि डा. देवकोटा महानिर्देशक हुँदा सेटिङ अनुसार नै अगाडि बढाइएका यी तीन टेण्डर डा. बाराकोटी महानिर्देशक हुँदा रद्द भएका छन्।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. पवनजंग रायमाझी छन्। महाशाखाको खरिद प्रमुखमा डा. सुरेन्द्र चौरासियापछि दया पन्त छन्। खरिदको निर्णयमा विभागको महानिर्देशक डा. बाराकोटी, व्यवस्थापन महाशाखाको निर्देशक डा. रायामाझी र खरिद प्रमुख पन्तको प्रत्यक्ष भूमिका हुन्छ। सेटिङ अनुसारको खरिदमा पनि उनीहरूकै भूमिका हुन्छ।

त्यसैगरी महाशाखामा नै सेटिङ अनुसारको खरिदको कागजात बनाउने दीपक अधिकारी अनि प्राविधिक स्पेशिफिकेशन लक्ड गरिदिने बायोमेडिकल इन्जिनियर आशिष चौहान छँदैछन्। त्यसैगरी लेखा र प्रशासन प्रमुखको पनि खरिद सेटिङमा भूमिका हुन्छ। खरिद सेटिङमा स्वास्थ्यमन्त्री पौडेलको मौन सहमति छँदैछ।

यस अघि पनि भएको थियो रद्द

उकेराले अध्ययन गरेकामध्ये केही टेण्डर यसअघि पनि विभाग अन्तर्गतको महाशाखाले रद्द गरेको थियो। महाशाखाले यस अघि पनि एउटा सूचना जारी गर्दै तीन वटा टेन्डर रद्द गरेको थियो। महाशाखाले जेठ ८ (मे २२) मा एउटा सूचना जारी गर्दै फोके थ्रिडी ल्याप्रोस्कोपिक सिस्टम, पौष्टिक आहार र फर्मुला मिल्कको गरी तीन टेन्डर रद्द गरेको थियो। तर, अन्य मिलेमतोमा अगाडि बढेका मेसिन तथा उपकरण खरिद प्रक्रियालाई भने विभागले निरन्तरता दिएको छ।

करिब चार करोडमा दुई वटा ‘फोरके- थ्रीडी ल्याप्रोस्कोपीक स्टिम’ खरिद गर्नेगरी प्रक्रिया अगाडि बढाएको टेण्डरको निश्चित मेसिन उत्पादक कम्पनीसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेसिफिकेसन बनाएकोबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेपछि अन्तिम चरणमा महाशाखाले सो टेन्डर पनि रद्द गरेको  थियो।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले ‘फोरके- थ्रीडील्याप्रोस्कोपीक स्टिम’लगायतका तीन वटा टेन्डर रद्द गरे पनि अन्य सेटिङअनुसारकै टेन्डर भने अगाडि बढाएको छ। 

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले मिलेमतो अनुसारकै ‘ऐनस्थेसिया मेसिन’ सात करोड ३१ लाखमा खरिद गर्ने गरी ‘पर्सा साइन्स इम्पोरियम’लाई टेन्डर स्वीकृत गरिदिएको थियो।

यो पनि :

असार २५, २०८२ बुधबार २१:५८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।