एनपिएल छानबिन कार्यदलले बदमासी देखाएपछि राखेप सदस्य सचिव सक्रिय, तेस्रो पत्रपछि उठाए लेटरहेडको मुद्दा

काठमाडौं : नेपाल प्रिमियर लिगमा भएको अनियमितता छानबिन गर्न बनेको ‘नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता छानबिन कार्यदल’ ले तेस्रो पटक नेपाल क्रिकेट संघलाई पत्र पठाएपछि राष्ट्रिय खेलकुद परिषद्ले लेटर प्याड दुरुपयोग भएको भन्दै छानबिन कार्यदललाई परिषद्को लेटरप्याड प्रयोग नगर्न भनेको छ।
कार्यदल गठन भएदेखि नै उसले संघलाई परिषद्को लेटर प्याडमा पत्राचार गरिरहेको छ। परिषद्ले गठन गरेको कार्यदलको संयोजक परिषद् सदस्य छिन्। एनपिएलको बदमासीमा प्रारम्भदेखि नै परिषद् नेतृत्व मौन थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न निर्देशन दिएपछि खेलकुद मन्त्रालयको निर्देशन अनुसार छानबिन गर्न कार्यदल गठन गरेको थियो।
कार्यदलले एनपिएल आयोजना सम्बन्धी सम्झौता, निर्णय लगायतका प्रमाण मागे पनि संघ पदाधिकारीले नदिएपछि तेस्रो पटक पत्र पठाएको थियो।
तेस्रो पत्रमा संघले एनपिएल आयोजना गर्दा गरेको चार बदमासी प्रष्ट उल्लेख गर्दै यसबारे जवाफ मागेपछि परिषद् लेटरप्याडको बहानामा कार्यदललाई हतोत्साही बनाउन लागेको देखिन्छ।
यस अगाडि दुई पटक गरेको पत्राचारमा मौन बसेको परिषद् नेतृत्व तेस्रो पत्रमा भने आक्रामक देखिएको छ। तेस्रो पत्रमा कार्यदलले छानबिन नटुंगिएसम्म एनपिएलको दोस्रो सिजन सम्बन्धी कुनै काम नगर्न भनेपछि संघ पदाधिकारीले परिषद्को लेटरप्याडमा यस्तो निर्देशन आएको भन्दै परिषद्का सदस्य सचिव टंकलाल घिसिङले कार्यदललाई परिषद्को लेटरप्याड प्रयोग नगर्न निर्देशन दिन लगाएका हुन्। सोही निर्देशन अनुसार परिषद्को प्रशासन विभाग प्रमुख भोजानन्द राईले कार्यदललाई पत्र पठाएको छ।
कार्यदलले जेठ १४ गते राखेपको लेटरहेड प्रयोग गरेर संघलाई पहिलो पत्र पठाएको थियो। कार्यदलले १० वटा प्रश्न सहित पठाएको पत्रमा संघले भावनात्मक र कुतर्क गर्दै जवाफ पठाएको थियो।
त्यसमा विना प्रतिस्पर्धा विदेशी कम्पनी रहेको टिसिएमलाई कसरी चयन गरेको, ठेक्काको प्रक्रियामा किन नगएको, नेपालको सार्वजनिक खरिद सम्बन्धी कानुन किन पालना नगरेको, नेपालमै कम्पनी दर्ता हुँदाहुँदै टिसिएम दुबइको नाममा भुक्तानी गरेर विदेशी मुद्दा अपचलन गरेकोबारे बिषयमा सक्कल कागजात सहित जवाफ पठाउन भनेको थियो। तर क्यानले २१ गते पठाएको जवाफमा भावनात्मक र कुतर्क गर्दै छानबिन समितिलाई जवाफ पठायो।
तर संघको जवाफ चित्त नबुझेको भन्दै छानबिन समितिले पुनः दोस्रो पत्र जेठ २६ गते १४ वटा प्रश्न सोध्दै पत्र पठाएको थियो। संघले दोस्रो पत्रको जवाफ नदिएपछि असार २२ गते आइतबार पुनः तेस्रो पत्र पठाएको थियो।
यी तीनवटा पत्र पठाउँदा परिषद्को लेटरहेड नै प्रयोग गरेको थियो। तर राखेपले छानबिन कार्यदललाई राखेपको लेटरहेड प्रयोग नगर्न चेतावनी दियो।
यस बिषयमा उकेराले राखेप सदस्य सचिव टंकलाल घिसिङ्गलाई तीनवटा पत्रमा राखेकै लेटरहेड प्रयोग गर्दा किन नदेखेको ? भन्दा उनले आफुलाई राखेपको लेटरहेड प्रयोग गरेको थाहा नभएको जवाफ दिए।
उनले भने, ‘हामीलाई जानकारी आउँनु पर्यो नि त।’ उकेराले तीनवटा पत्र जादाँ पनि जानकारी आएको थिएन? भन्ने प्रश्नमा उनी भन्छन्, ‘तपाईकै घरमा कुनै सामान हराइरहेको छ भने एक बर्ष अगाडिदेखी पनि हराइरहेको हुन सक्छ तर थाहा हुँदैन त्यो कुरा। जुन दिन थाहा भयो त्यही दिनदेखी थाहा भएको मान्नु पर्यो के। हामीले गरेको निर्णय उहाँहरूलाई मात्रै होइन कि सबै कार्यदललाई सूचित गर्ने गरी निर्णय गरेको हो'’ उनले भने।
तर उकेराले छानबिनमा संलग्न राखेपका एक कर्मचारीसँग बुझ्दा एनपिएलमा संघको पदाधिकारी दण्डित हुने देखिएपछि कर्मचारी फसाउने काम भएको बताए।
‘तीनवटा पत्र जाँदा केही नभन्ने,/अहिले आएर यस्तो कुरा गर्नुको पछाडि अरु केही नभएर राखेप नेतृत्वको पारससँग घाटी जोडिएर हो,' उनले दाबी गरे 'पहिलो सिजनको हिसाब किताब देखाउ र काम गर भन्दा यस्तो नचाहिने कुरा आएको छ।’
टंक र पारसको शंकास्पद सम्बन्ध, क्यानको टिकटमा अमेरिका घुमघाम
क्यानको नियमनकारी निकाय राखेपका सदस्य सचिव घिसिङ र क्यानका सचिव पारस खड्काबीचको सम्बन्ध अपारदर्शी र शंकास्पद देखिन्छ।
एनपिएलको पहिलो सिजन शुरु भएदेखि नै उकेराले आयोजक समितीबाट भएका बदमासीबारे निरन्तर प्रमाणसहित समाचार प्रकाशित गर्दै आएको छ। प्रारम्भदेखि नै उकेराकर्मीले नियमनकारी निकाय राखेपको भुमिकाको अनुगमन र प्रतिक्रिया लिइरहेको छ। खेलको आडमा जुवाको प्रचार होस् या अपारदर्शी र शंकास्पद कारोवार होस् घिसिङ प्राय मौन नै बसे। प्रतिक्रिया जनाउनु पर्ने अवस्था आए पत्र पठाउने तर फलोअप नगर्ने प्रवृत्ति देखिएको।
यसको कारण खोज्दै जाँदा क्यान र घिसिङबीच शंकास्पद आर्थिक सम्बन्ध देखियो। राखेप संघहरुको नियमनकारी निकाय हो। यसका पदाधिकारी संस्थागत रूपमा कतै भ्रमणमा जानू परे परिषद्ले खर्च ब्यहोर्छ। ब्यक्तिगत भ्रमणमा ब्यक्तीले तर सदस्य सचिव घिसिङ अमेरिका जाँदा उनको भ्रमण खर्च क्यानले ब्यहोरेको थियो।
उकेराले प्राप्त गरेको प्रमाणमा क्यानले घिसिङको नाममा २०२४ अक्टोवर २९ मा अमेरिका जान र आउन बिजनेस क्लासको ११ लाख ५२ हजारको टिकट काटेको थियो।
एनबिएम होलिडेज्बाट काटिएको टिकटमा प्रस्ट बिल क्यानको नाममा छ भने यात्रुको नाममा घिसिङको नाम छ।
संघले अझै पठाएन जवाफ
छानबिन कार्यदलले २४ घन्टा समय दिएर पठाएको पत्रको हालसम्म जवाफ आएको छैन। पत्र पठाएको ‘आधा घण्टामा संघ अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का आइतबार नै परिषद् आएर सदस्यसचिव घिसिङसँग बसेर छलफल गरेका थिए। त्यही भेटमा कार्यदलले एनपिएलको दोस्रो सिजनको काम नगर्न भनेको र परिषद्को लेटर हेडमा पत्र पठाएको भन्दै गुनासो गरेका थिए। त्यसपछि नै घिसिङ सक्रिय भएका हुन्।
यता परिषद्को सूचना अधिकारी खुशराज दाहाललाई कार्यदलले लेटरहेड दुरुपयोग गरेको हो त ? भन्ने प्रश्नमा उनले दुरुपयोग गरेकै भन्न नमिल्ने जवाफ दिए।
उनले उकेरासँग भने, ‘दुरुपयोग पनि कसरी भन्ने तर त्यो नगर्नु पर्ने। उहाँहरूले आफ्नो लेटरहेड बनाएर गर्नु पर्थ्यो। दुरुपयोग गर्यो भनेर हामी त्यसो भन्दैनाैं तर कार्यदलले आफ्नै लेटरहेड प्रयोग गर्नु पर्थ्यो' उनले भने।
एनपिएलमा अनिमितता भएको भन्दै २०८१ फागुन १२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ वटा उजुरी परेको थियो। सोही उजुरीको आधारमा २०८१ चैत्र २० गते राखेपले अन्जन धमलाको संयोजकत्वमा छानबिन कार्यदल बनाएको थियो। पछि जेठ ११ गते रञ्जना प्रधानको संयोजनमा ३ सदस्यीय छानबिन कार्यदल बनाएको थियो।
रञ्जना प्रधान नेतृत्वको छानबिन कार्यदलले राखेपको लेटरहेड प्रयोग गरेर क्यानलाई पत्र पठाएपछि विवाद सुरु भएको थियो।
तेस्रो पत्रमा संघलाई छानबिन समितिले पुनः प्रश्न गर्दै सार्वजनिक खरिद ऐनको उल्लङ्घन गरेर प्रशारण अधिकार दिएको, स्पष्ट मिति नखुलाएर गोलमटोल बोलपत्र निकालेको, राष्ट्रिय खेलकुद विकास ऐनको प्रावधान विपरीत स्वीकृति नै नलिई विदेशी परामर्शदाता नियुक्त गरेको र स्वदेशी प्रशारण संस्थाले प्रतिस्पर्धा नै गर्न नसक्ने सर्त राखेर सिन्डिकेट गरेको भन्दै ५ वटा प्रश्न राखेर पठाएको थियो।
दोस्रो सिजन तयारी रोकेपछि विवाद
कार्यदलले तेस्रो प्रश्नमा अख्तियारको निर्देशनमा भइरहेको पहिलो सिजनको छानबिन नटुंगिएसम्म एनपिएल सम्बन्धी कुनै गतिविधी नगर्न निर्देशन दियो। यसले संघ पदाधिकारी झस्किए।
संघले पहिलो सिजनको आर्थिक गतिविधी सार्वजनिक गरेको छैन। सचिव खड्का अपारदर्शी कारोबारका कारण विवादमा छन्। विदेशी मुद्रा अपचलनम्ममा उनी जोडिएका छन्।
उता पहिलो सिजनमा १० करोडसम्म लगानी गरेका आठ फ्रेन्चाइजका मालिकहरू पनि दोस्रो सिजन अन्योलमा देखिएपछि सक्रिय भए। १० वर्षको कन्ट्रयाक्टको आधारमा लगानी गरेको तर दोस्रो सिजनै हुने/नहुनेबारे अन्योल भएको भन्दै उनीहरूले दबाब बढाएपछि संघको नेतृत्व अझ विशेष गरि सचिव पारस खड्का दबाबमा आए। उनले सदस्य सचिव घिसिङमार्फत छानबिन कार्यदलका सदस्यलाई दबाब बढाए।
आयोग र मन्त्रालयको निर्देशनमा बनेको समितिको छानबिन रोक्न नसकेपछि सदस्य सचिव घिसिङले लेटरहेडको विषयलाई विवादमा ल्याए।
तेस्रो पत्रमा कार्यदलले सोधेको प्रश्न
क) नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषदमा विधान बमोजिम स्थापित संस्थाले सेवा तथा वस्तु खरिदमा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को प्रतिकुल कार्य गरी एनपिएल को प्रशारण सम्बन्धी कार्य गर्न तपाईलाई कुन ऐनले अधिकार दियो?
ख) त्यस संघबाट आयोजित एनपिएल प्रतियोगिता आयोजना गर्ने भन्ने निर्णय लामो समय अगाडि नै भइ सकेता पनि त्यस संघबाट निकालिएको बोलपत्रमा स्पष्ट समय नखुलाइ गोलमटोल ढंगबाट सार्वजनिक सूचना प्रकाशित गरी स्वस्थ प्रतिस्पर्धा नहुने अवस्था किन सृजना गर्नु भएको हो?
ग) त्यस संघबाट आयोजित एनपिएल प्रतियोगिता आयोजना गर्ने क्रममा विदेशी परामर्शदाताको रुपमा श्री मनिश सुदर्शन पाण्डे जो भारतीय नागरिक हुन उनले परामर्शदाता सम्बन्धी कार्य गराउदा राष्ट्रिय खेलकुद विकास एेन २०७७ को दफा ४४ (२) विपरित कार्य गर्न मिल्छ?
घ) त्यस संघबाट आयोजित एनपिएल प्रतियोगिता आयोजना गर्ने क्रममा स्वदेशी प्रसारण कर्ता कम्पनीहरुलाई प्रतिस्पर्धामा आउन नस्कने गरी किन त्यस खालको संकुचित क्राइटएरिया बनाई सिन्डीकेट कायम गर्न मिल्छ?
ङ) यसै पत्रका साथ संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता नम्बर c-०३०२२ मिति २०८१/०८/०७ र उजुरी दर्ता नम्बर c-०४९८७६ मिति २०८१/११/१२ मा दर्ता भएको उजुरी समेत राखी पठाइएको छ। उक्त उजुरीमा उल्लेखित विषयवस्तुका सम्बन्धमा स्पष्ट पार्नु पर्ने दायित्व नेपाल क्रिकेट संघको हो? होइन? अत: उक्त दुइवटै उजुरीमा उल्लेखित एनपिएल प्रतियोगिताका सम्बन्धमा उठेका विषय वस्तु स्पष्ट पारी छानविन कार्यदल निष्कर्षमा पुग्न सहयोग गरिदिनुहुन जानकारी गराइन्छ। अन्यथा कानुन बमोजिम भई जाने व्यहोरा जानकारी गराइन्छ।’
असार २५, २०८२ बुधबार २१:३०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।